दक्षिण कोरियाले नेपाली कामदारको कोटा बढायो, करिब १८,००० जना जान पाउने

काठमाडौं – दक्षिण कोरियाले यो वर्ष उत्पादनमूलक क्षेत्रमा नेपालबाट लैजाने कामदारको कोटा वृद्धि गरेको छ । कोरियाले यो वर्ष थप १३.२ प्रतिशत कामदार लैजाने जानकारी दिएको वैदेशिक रोजगार विभागका महानिर्देशक डण्डुराज घिमिरेले बताए । यसअघि उत्पादनमूलक क्षेत्रमा १५,९०० कामदार लैजाने प्रतिबद्धता जनाएको थियो । यो सँगै अब नेपालबाट करिब १८,००० कामदार जान पाउने भएका छन् ।

दक्षिण कोरियाले सामान्य लेखपढ जानेका युवाहरूलाई पनि उत्पादनमूलक क्षेत्रमा लैजाने गरेको छ । नेपालबाट उत्पादनमूलक क्षेत्रमा दक्षिण कोरिया जानका लागि गत डिसेम्बरमा खुलाइएको भाषा परीक्षाको आवेदनमा १ लाख ६३ हजार जनाले आवेदन दिएका थिए ।

आवेदन दिएका सबैको भाषा परीक्षा लिइसक्न आगामी डिसेम्बरसम्म लाग्ने ईपीएस कोरिया शाखाले जनाएको छ । दक्षिण कोरियाले कुनै पनि क्षेत्रमा आफूले माग गर्ने कामदारहरूका लागि माग सङ्ख्याको तेबरभन्दा धेरै आवेदन नलिन नेपाललाई ताकेता गरिरहेको ग्वार्कोस्थित ईपीएस कोरिया शाखाकी प्रमुख मैया कडेलले बताइन् ।

गत पुसमा कोरियाली भाषा परीक्षाका लागि आवेदन दिन नपाएको भन्दै प्रदर्शनमा उत्रिएका युवाहरूको प्रहरीसँग झडप हुँदा दुई जना युवाले ज्यान गुमाएका थिए । दक्षिण कोरियाले भाषा परीक्षा उत्तीर्ण गरेका करिब ९,००० जना नेपाली युवाहरूलाई लैजान बाँकी रहेको कडेलले जानकारी दिइन् ।

शाखाका अनुसार मार्च १ देखि २४ भित्रमा कोरियाले भाषा परीक्षा उत्तीर्ण गरेर बसेका जम्मा ३२८ जना युवाहरूलाई आफ्नो देश लैजाने प्रक्रिया अघि बढाएको थियो । जसमा भाषा परीक्षा उत्तीर्ण गरेर पालो पर्खिरहेका र यसअघि कोरिया पुगेर फर्किएकाहरू रहेको शाखाले जनाएको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics