रेडपाण्डाका साथी राजेन्द्र

जसले मोबाइलबाटै खिचे रेडपाण्डाका दुर्लभ तस्बिर

राजेन्द्र महत -
पाथीभरा भन्नसाथ मनै शान्त हुन्छ । त्यसैले पनि होला यहाँ आएपछि मानिसले मात्रै होइन वन्यजन्तुले आनन्दको स्वास लिइरहेका हुन्छन् जस्तो लाग्छ । प्रकृतिसँग जोडिएर सबैभन्दा बढी रमाउन सक्ने ठाउँको रूपमा म पाथीभरा मन्दिर र यो क्षेत्रलाई लिन्छु ।

यहाँ आएपछि सिर्सिर् चल्ने हावाको स्पर्स । विभिन्न प्रजातीका रूख र यसका फूलसँगै लुट्पुटिएर पानीका थोपासँगै उड्ने कुहिरो शरिरमा ठोकिँदाको मज्जा अरू कहाँ पाइन्छ र ? विभिन्न प्रजातीका लालिगुराँसका बोटहरूमा बसेर चिरबिराउने चराको आवाज र फुत्रुक, फुत्रुक उफ्रँदै लजाएर दौडने रेडपाण्डा आँखै अघि देख्दा ‘यो सपना त होइन ?’ भन्ने प्रश्न स्वभाविक आउँछ । नपत्याएर आएर त हेर्नुहोस् पाथीभरा क्षेत्र । रेडपाण्डा आफ्नै क्यामरा र मोबाइलमा कैद गर्न सक्नुहुन्छ तपाईँले । अनि, नेपालमा मात्रै पाइने काँडेभ्याकुर र अन्य प्रजातीका चरा नियाल्न पाउनुहुन्छ । यो मैले भोगिरहेको जीवनकै मिठो अनुभव सुनाउँदैछु तपाईँहरूलाई ।


ताप्लेजुङको पाथीभरा क्षेत्रमा केही दिन अघि खिचेको रेडपाण्डाको तस्बिर ।

धेरैपटक भेटेँ रेडपाण्डा, तर राम्रो तस्बिर खिचेँ यसपटक
म पाथीभरा क्षेत्र विकास समितिको कर्मचारी भएकाले प्राय पाथीभरा क्षेत्रमा नै हुन्छु । कहिले मौसम धुम्म हुन्छ । कहिले अकाश खुलेर हिमाल पनि अंगालो नजिक आइपुग्छ । कहिले हिउँले ढपक्क ढाकेर पाथीभराको शिर अझै उच्च बनाइदिन्छ । यस्ता हरेक मौसमसँग जुधेर तिर्थयात्रीको सेवामा खटिन पाउँदा खुसी छु । अनि अझै खुसी छु आफ्नै मोबाइलले हाब्रे (रेडपाण्डा) को तस्बिर र भिडियो बारम्बार कैद गर्न पाउँदा ।


पहिले पनि दाउरा खोज्न पाथीभरा क्षेत्रको जंगल पस्दा होस् या पानीको मुहान खोज्दै जाँदा वा पनी लिन जाँदा मैले यो क्षेत्रमा धेरैपटक रेडपाण्डा भेटेको छु । मसँग मोबाइल वा क्यामरा थिएन त्यो समय । भएको मोबाइलले पनि राम्रो फोटो आउँदैन थियो । त्यो समय पनि सोच्थे राम्रो मोबाइल वा क्यामरा भएको भए कति राम्रो फोटो कैद गर्न सक्थेँ होला विश्वमै दुर्लभ रेडपाण्डाको ।


विश्वमा नै लोप हुन लागेको रेडपाण्डाको फोटो देखाएर पनि कति मुलुकमा चर्चा हुन्छ, बहस हुन्छ । नेपालकै विभिन्न स्थानमा पनि रेडपाण्डाको फोटो हेरेर चित्त बुझाउने धेरै हुनुहुन्छ होला । तर, मैले यो क्षेत्रमा धेरै वर्ष अघिबाट रेडपाण्डा देख्दै आएको थिएँ । कहिले बच्चा त कहिले वयस्क र माउ पनि भेटेको छु । विश्वका मानिसको यो हेर्ने सपना सपनामा सिमित रहँदा मैले प्रत्यक्ष देख्न र खिच्न पाउँदा अहोभाग्य सम्झन्छु । पाथीभरा क्षेत्रमा बसेर तिर्थयात्रीको सेवा गर्दै यसरी प्रकृति र सुन्दर वन्यजन्तुसँग रमाउन पाउँदा जीवनकै सुख महसुस गर्छु ।


मैले अघिल्लो वर्ष पनि रेडपाण्डाको फोटो र भिडियो खिचेको थिएँ । यसपटक भने नयाँ मोबाइल किने ‘एस २३ अल्ट्रा’ र यसैबाट कैद गरेँ रेडपाण्डाको भिडियो र तस्बिर । म पानी लिन गएको समयमा जंगलमा रमाउँदै गरेको रेडपाण्डा देखेपछि मोबाइल निकालेर फोटो र भिडियो खिचेको हुँ । यसपटक गुणस्तरिय भिडियो र फोटो खिचेर पाथीभरा क्षेत्रमा भेटिएको रेडपाण्डा विश्वका दर्शकलाई देखाउन पाउँदा अत्यन्तै खुसी भएँ । मेरो उदेश्य पनि थियो राम्रो फोटो र भिडियो कुनै समय कैद गर्ने । यसपटक सफल भएँ । त्यसैले त भनिन्छ, ‘पाथीभरामा आएर सोचे वा मागे त्यो पुरा हुन्छ ।’


ताप्लेजुङको पाथीभरा क्षेत्रमा केही दिन अघि खिचेको रेडपाण्डाको तस्बिर ।

सोझो रेडपाण्डासँग जम्काभेट हुँदा...
पाथीभराको कर्मचारी भएकाले मलाई ढुकेर र पर्खेर यसरी फोटो वा भिडियो कैद गर्ने फुर्सद त हुँदैन । म हिँड्दै गर्दा र संयोगले भेटिँदा मात्रै यसरी रेडपाण्डाको फोटो र भिडियो कैद गर्छु । मैले संयोगले त यसरी रेडपाण्डा भेटिरहेको छु । पर्खिएर खिच्छु वा खोजेर खिच्छु भन्यो भने यो क्षेत्रमा धेरै रेडपाण्डा पाइन्छ भन्ने लाग्छ मलाई ।


मेरो अनुभवमा यो रेडपाण्डा धेरै सोझो र लजालु जंगली जनावर हो । यो मान्छे देख्नसाथ अन्य जनावर जस्तो भाग्दैन । उसलाई हानी नपुर्याई, हल्ला नगरी फोटो भिडियो कैद गर्छु भन्दा मजाले सकिने रहेछ । मलाई धेरै फोटो भिडियोको औपचारीक ज्ञान नभए पनि जाने जति मिहेनत गरेर भेटेको समयमा संयमित भएर खिचेको छु । आज सम्म मैले फोटो र भिडियो खिच्दा रेडपाण्डा डराएको वा तर्छिएको देखेको छैन । र, त्यो हुन पनि दिँदिन ।


अघिल्लो वर्ष ताप्लेजुङको पाथीभरा क्षेत्रमा खिचेको रेडपाण्डाको तस्बिर ।

धेरैको सकरात्मक सुझाव पाएँ
मैले जति यस क्षेत्रको फोटो र भिडियो खिचेको छु जिल्लाका सञ्चारकर्मीलाई दिनेदेखि मेरो आफ्नै फेसबुकमा पोस्ट् गर्दै आएको छु । मैले जाने र सकेको प्रचार निस्वार्थ यसरी नै गरिरहेको छु ।


यो क्षेत्रमा रेडपाण्डा पाउँदा विभिन्न विज्ञ, रेडपाण्डालाई माया गर्ने र अध्ययन, अनुसन्धान गर्नेहरूले मलाई फोन गर्नुभएको छ । हौसला दिनुभएको छ । विभिन्न सकरात्मक जिज्ञासा राख्नुभएको छ । यो मेरो लागी पनि खुसीको कुरा हो । सबैले सोधेको कुरा जाने जाति भनेको छु ।


यो क्षेत्र धार्मीक, संस्कृतिक र जैविक विविधताले भरिपूर्ण क्षेत्र हो । यो विश्वको नजरमा परेको क्षेत्र पनि हो । यसको संरक्षण र विकासमा सबैको ध्यान पुग्न आवश्यक छ । ताप्लेजुङको यो गहना हो, महत्त्व बुझ्नुपर्छ ।


(यो सामग्री पाथीभरा क्षेत्र विकास समिति ताप्लेजुङका कर्मचारी समेत रहेका राजेन्द्र महतसँग नेचर खबरले कुराकानी गरेर तयार पारेको हो । महतले यो क्षेत्रमा रेडपाण्डाको धेरै तस्बीर र भिडियो खिचेका छन् ।)

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics