नेपालमा जलवायु परिवर्तनको असरका विषयमा सभामुखले गराए ध्यानाकर्षण

काठमाडौँ । सभामुख देवराज घिमिरेले विश्वव्यापी उष्णता बढाउन बढी योगदान गर्ने मुलुकले यसको प्रभाव बढी भोग्ने मुलुकप्रति गरेका प्रतिबद्धता कार्यान्वयन गर्न ध्यानाकर्षण गराएका छन्।

स्विजरल्यान्डको जेनेभामा आयोजित अन्तर व्यवस्थापिका संघ (आईपीयू) को १४८औँ महासभालाई सम्बोधन गर्दै उनले जलवायु परिवर्तनको गम्भीर खतराबाट प्रभावित सबै राष्ट्रहरूले अन्तर्राष्ट्रिय मञ्चहरूमा एउटै स्वर उठाउन आह्वानसमेत गरे।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले अक्टोबर २०२३ को नेपाल भ्रमणका क्रममा नेपालको संसदबाटै जलवायु परिवर्तनले निम्त्याएका समस्याप्रति निकै जोडका साथ विश्व समुदायको ध्यानाकर्षण गराएको सभामुख घिमिरेले जानकारी गराएको उनको सचिवालयले जनाएको छ।

उनले आफ्नो राष्ट्रले गरेका वाचा इमान्दारीका साथ पूरा गर्न सरकारलाई झक्झक्याउनु सबै सांसदहरूको कर्तव्य भएको बताए।

उनले उक्त महासभामार्फत नेपाल सदैव शान्ति र सहअस्तित्वको पक्षधर रहँदै आएको सन्देश दिए। ‘ठूला र शक्तिशाली राष्ट्रले साना र कमजोर राष्ट्रको अस्तित्वलाई स्वीकार र सहन गर्न नचाहँदाका दुष्परिणाम हामीले इतिहासका अनेक कालखण्डमा भोगिसकेका छौँ। असंलग्न आन्दोलनको संस्थापक सदस्य रहेको नेपाल सबै राष्ट्रले एकअर्काको अस्तित्वको सम्मान गर्नुपर्छ भन्नेमा सधैँ अडिग छ,’ उनले भने।

सम्बोधनमा क्रममा सभामुख घिमिरेले कूटनीतिक कार्यको पुरातन र परम्परागत अवधारणामा परिवर्तन आइसकेको बताए। उनले यसको दायरा फराकिलो भइसकेको जनाउँदै वैकल्पिक कूटनीतिका औजारमध्ये संसदीय कूटनीति निकै महत्त्वपूर्ण औजारका रूपमा विकसित भएको बताए।

उनले संसारका विभिन्न भागमा राष्ट्रहरूबीच तनाव र द्वन्द्वको स्थिति सृजना भएको भन्दै राज्यको नेतृत्वले संसद् र आम नागरिकको भावना नबुझी आफूखुसी चालेका कदमबाट धेरैजसो तनावको उत्पत्ति भएको बताए।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics