किसानलाई अनुदान दिएर विषादीरहित उत्पादन गराउँदै इलाम

इलाम – सूर्योदय नगरपालिका–१ सीमधापका दिलकुमार लिम्बूले नगरपालिकाबाट अनुदानमा ‘टनेल’ पाएपछि विषादीरहित मल (रासायनिक पदार्थ प्रयोग नभएको) हालेर व्यावसायिक गोलभेँडा खेती गर्ने सोचमा छन् ।

‘अब अलि धेरै गोलभेँडाको दल राखेर खेतीलाई व्यावसायिक बनाउने विचारमा छु, आवेदन दिएको थिएँ पालिकाले दियो । अब यसलाई सदुपयोग गरेर खेती विस्तारतिर लाग्छु’, लिम्बूले भने ।

सोमबार सूर्योदय नगरपालिकाले १०६ जना किसानलाई ‘मल्चिङ’ प्रविधिका लागि प्लास्टिक र एक सय २९ किसानलाई ‘प्लास्टिक टनेल’ वितरण गरेको छ ।

नगरपालिकाको वार्षिक स्वीकृत कार्यक्रम ‘एक घर एक करेसाबारी’ नीतिअन्तर्गत ‘किसानसँग समृद्धि अभियान’ नाराका साथ ५० प्रतिशत अनुदानको कार्यक्रम भइरहेको नगरपालिकाका आर्थिक विकास समिति संयोजक देवेन्द्र आचार्यले बताए । किसानलाई प्राङ्गारिक खेतीतर्फ आकर्षित गराउन प्रविधि हस्तान्तरण गरिएको उनको भनाइ छ ।

तरकारीमा मोटो रकम बाहिर गइरहेको अवस्थालाई परिवर्तन गरेर यहीँ तरकारी उत्पादनमा किसानलाई प्रोत्साहन गर्न र आर्थिक विकास गर्ने उद्देश्य राखेर किसानलाई प्रविधिमा अनुदानका कार्यक्रम ल्याइएको आर्थिक विकास समितिका संयोजक आचार्यले बताए ।

नगरपालिकाले यहाँका व्यावसायिक किसानलाई ‘मिनीटिलर, काउम्याट, च्यापकटर’लगायत प्रविधि वितरण गरिरहेको छ । तीन सय थान चिया काट्ने हाते मेसिन धमाधम वितरण भइरहेको छ ।

सूर्योदयको चिया उत्पादनलाई गुणस्तरीय बनाउन पेट्रोल, डिजेलको साटो ब्याट्री र बिजुलीबाट सञ्चालन हुने ‘मेसिन’ किसानलाई वितरण गरिएको उनले बताए ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics