‘जलवायुमैत्री विकास आजको आवश्यकता’

काठमाडौं - सरोकारवालाले जलवायुमैत्री विकास आजको आवश्यकता रहेकामा जोड दिएका छन्। आज राजधानीमा व्यावसायिक विकास तथा अनुसन्धान केन्द्र, मार्टिन चौतारी, नेपाल बौद्ध अम्बेडकर महासभाको संयुक्त आयोजनामा आयोजित कार्यक्रममा बोल्दै सरोकारवालाले जलवायुमैत्री विकासमा जोड दिएका हुन् ।

सहभागितामूलक विकास विशेषज्ञ चेतनाथ कंडेलले पछिल्लो समय विकासका नाममा विनाश बढ्दै गएकाले अब जलवायुमैत्री विकासमा ध्यान दिनुपर्ने बताए। “विगत एक दशकदेखि नेपालमा डोजरे विकास भयो, विकास गर्दा वातावरणमैत्री विकासमा जोड दिन सकेनौँ”, उनले भने, “अब विकासका गतिविधि अगाडि बढाउँदा जलावायुका पक्षलाई ख्याल गर्न सकिएन भने विकासका नाममा विनास निम्तिने छ र प्राकृतिक विपत्तिका कारण विकासमा गरिएको लगानी खेर जान सक्छ ।”

नेपालमा हुने हरेक विकासका गतिविधि असमान रहेकाले समान विकासका लागि पहल अगाडि बढाउन आवश्यक रहेको उनले बताए । जनसहभागितामूलक विकास गर्नुपर्ने कंडेलको जोड रहेको छ । सबै जिल्लामा सडक सञ्जाल जोडिएपछि सर्वसाधारणले विकासको अनुभूति गरेको भन्दै आगामी १० वर्षमा ती सडक कालोपत्र हुने उनको भनाइ छ ।

“धेरै स्थानीय तहमा कच्ची सडक विस्तार भइसकेको छ, अब कालोपत्रको युग सुरु हुन्छ, र सडक सुविधाबाट सर्वसाधारण लाभान्वित हुनेछन्”, उनले भने, “भौतिक विकास मात्रै विकास नभइ मानवीय विकास पनि विकास हो भनेर हामीले बुझ्नु जरुरी छ ।”

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics