ढोरपाटनमा सिकार पर्यटन याम, दर्जन सिकारीलाई अनुमति

फाइल तस्बिर ।

बागलुङ - नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनमा अहिले विदेशी सिकारी सिकार खेल्न व्यस्त छन् । दोस्रो सिकार याममा ढोरपाटन आरक्ष क्षेत्रमा धमाधम सिकार भइरहेको छ । यस याममा ११ नाउर, सात झारल र चार बँदेलको सिकार हुँदैछ । यस वर्षको दोस्रो सिकार याम सुरु भएसँगै केही विदेशी सिकारी सिकार खेलेर फर्केका छन् । केही सिकारी आरक्षभित्र सिकार खेल्न व्यस्त छन् भने केही सिकारी आउने क्रममा छन् ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले वैशाखका लागि ११ नाउर र सात झारलको सिकार गर्न अनुमति दिएको थियो । ढोरपाटन सिकार आरक्ष कार्यालयका प्रमुख संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडलेले यस वर्षको दोस्रो सिकार याममा ११ नाउर र सात झारलको सिकार अनुमति दिएकामा केही सिकार भइसकेको बताए ।

आरक्षले दोस्रो याममा चार बँदेलको सिकारका लागिसमेत अनुमति दिएको छ । कँडेलका अनुसार अनुमति पाएका सिकारीले नाउर, झारल र बँदेल गत १८ फागुनदेखि वैशाखको दोस्रो सातासम्म सिकार गर्न आरक्ष खुल्ला गरिएको हो । सिकारका लागि नेपाली सहयोगीका साथ विदेशी व्यावसायिक सिकारी ढोरपाटन आरक्षमा आउनेजाने क्रम चलिरहेको छ ।

त्यसमध्ये केही विदेशी सिकारी सिकार खेलेर फर्केका छन् भने केही सिकारी आरक्षतर्फ आएका छन् । अन्य सिकारी आउने तयारीमा रहेको कँडेलले बताए । ‘यस वर्ष आरक्षमा सूचीकृत कम्पनीमध्ये पाँच कम्पनीमार्फत अमेरिका, रसिया, स्पेन, उज्बेकिस्तान, मेक्सिको र बुल्गेरियाका सिकारीले सिकार खेल्न अनुमति पाएका थिए,’ कँडेलले भने ।

यस वर्ष प्रतिस्प्रर्धामा स्पेनका तीन, अमेरिकाका दुई, बुल्गेरियाका दुई, रसियाका दुई, मेक्सिकोका एक र उज्बेकिस्तानका एक सिकारी सिकारका लागि छनोट भएका थिए । उनीहरूले बन्दोबस्तीका सामग्री १८ फागुनपछि सिकार आरक्षमा वैधानिकरूपमा आफूले प्राप्त गरेको कोटाका आधारमा सिकार खेल्न सक्नेछन् । सिकार खेल्न नेपाली सहयोगीसहित आरक्षका कर्मचारीसमेत विदेशी सिकारीको साथमा खटिने गर्दछन् । सिकारीका लागि आवश्यक बन्दोबस्ती र मार्गनिर्देशनका लागि ढोरपाटन सिकार आरक्ष कार्यालय आफ्ना कर्मचारी तथा सिकारीका भरिया सम्बन्धित ब्लकमा पठाइएको छ ।

विभागले हरेक वर्ष नाउर र झारलका लागि कोटा निर्धारण गर्ने गरेको हुन्छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले यस वर्षको पहिलो सिकार याम असोज–मंसिरका लागि आठ नाउर, चार झारल र आठ बँदेलको सिकार खेल्न अनुमति दिएको थियो । विभागले बोलपत्रमार्फत विश्वका धनाढ्य सिकारीबीच प्रतिस्पर्धा गराएर सिकार खेल्न अनुमति दिने गरेको छ ।

बोलपत्रमार्फत एउटै नाउर सिकार खेल्न सिकारीले आठ लाखदेखि १८–२० लाखरुपैयाँसम्म तिर्ने गरेकोसमेत तथ्यांक छ । सिकारका लागि आरक्षको क्षेत्रलाई सेङ्‍ग, बार्से, दोगाडी, घुस्तुङ, सुर्तिवाङ, सुनदह र फागुने सात ब्लकमा विभाजन गरिएको छ । ढोरपाटन क्षेत्रमा बर्सेनि (असोज–मङ्सिर) पहिलो याम र (फागुन–वैशाख)मा दोस्रो याम गरी दुई चरणमा सिकार हुँदै आएको छ ।

खर्चिला र साहसी सिकारीले विकटमा रहेका ‘ब्लक’मा सिकार खेल्न रुचि राख्ने गरेको सिकार आरक्ष कार्यालयले जनाएको छ । यसपटकको सबैभन्दा बढी सिकार घुस्तुङ, दोगाडी र सेङ्‍ग ब्लकमा हुनेछन् । विदेशी सिकारीसहितको समूहले १५ दिनभित्र सिकार खेलिसक्नुपर्ने हुन्छ । जङ्‍गलमै बास बिताउने सिकारीले आरक्ष प्रवेश गरेको १५ दिनभित्र सिकार खेल्न नसके रित्तो हात फर्कनुपर्ने नियम छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले हरेक सिकार याममा विद्युतीय बोलपत्र आह्वान गरेर सिकारको कोटा र राजस्व दर निर्धारण गर्छ । साहसिक यात्रा र रोमाञ्चक सिकार अनुभवका लागि ढोरपाटन विदेशीको आकर्षक गन्तव्य बनेको छ । नाउर, झारलको मूल्य, ब्लक रिजर्भ, लाइसेन्स, हेलिकप्टर सबै बन्दोबस्तीको सामग्री तयार गर्दा एक सिकारीले करिब २० देखि ३० लाखरुपैयाँसम्म खर्च गर्ने गरेको ढोरपाटन सिकार आरक्ष कार्यालयले जनाएको छ ।

२०४४ सालमा स्थापना भएको सिकार आरक्ष पूर्वीरुकुम, बागलुङ र म्याग्दी जिल्लामा फैलिएको भए पनि आरक्षको मुख्य कार्यालय भने बागलुङको ढोरपाटन उपत्यकामा पर्छ । सिकार आरक्षको सुरक्षाका लागि २०७३ सालदेखि नेपाली सेनाको गुल्म बस्दै आएको छ । सेनाले आरक्षको सुरक्षा दिन थालेपछि चोरी सिकारीमा कमी आएको छ ।

आरक्षमा यसपटक नेपाल वाइल्डलाइफ एडेभेन्चर, हिमालय सफारिज, ग्लोबल सफारिज, नेपाल ट्राभल एक्पेडिसन र ओपन नेपाल वाइल्डलाइफ सफारिजमार्फत सिकारीले सिकार खेल्न अनुमति पाएका हुन् ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics