काठमाडौं उपत्यकासहितका केही स्थानमा वर्षा, प्रदूषण कम हुँदै

काठमाडौं – काठमाडौं उपत्यकासहित केही जिल्लामा बिहीबार चट्याङसहित वर्षा भएको छ । उक्त वर्षाले पछिल्ला केही दिन देखि बढेको प्रदूषण केही घटेको मौसमविद् बताउँछन् ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद गोविन्द झाका अनुसार बिहीबार बागमती, गण्डकी र कोशी प्रदेशका पहाडी भूभागमा चट्याङ सहित पानी परेको हो । उनले काठमाडौं उपत्यकामा हल्का पानी परेकाले प्रदूषण कम हुन थालिसकेको बताए ।

वर्षाका कारण वायुमण्डलमा थुप्रिएको हावाका कणहरूलाई पानीले तल झारेको छ । त्यसले गर्दा काठमाडौं नजिकका पहाडहरू शुक्रबारबाट केही खुल्नेछन् ।

केही दिनयता पानी पनि नपर्दा र हावा पनि नचल्दा काठमाडौं विश्वमै सबैभन्दा प्रदूषित बनेको थियो । बिहीबार बिहान पनि काठमाडौंको वायुको गुणस्तर मापन इन्डेक्स (एक्यूआई) २०० भन्दा माथि रहेको थियो ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो काठमाडौं उपत्यकामा सबैभन्दा धेरै सुन्दरीजलमा ९ मिलिमिटर वर्षा भएको छ । यसैगरी कीर्तिपुरमा ७.२ मिलिमिटर वर्षा मापन भएको छ ।

अहिले प्रिमनसुनको समय भएकाले साँझपख हावाहुरी, चट्याङ र पानी पर्ने क्रम भोलि र पर्सितिर पनि हुन सक्ने मौसमविदले पूर्वानुमान गरेका छन् ।

रविन भट्टराई

प्रतिक्रिया दिनुहोस

web
analytics