जेठ दोस्रो साता पर्वत र जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय संवाद

काठमाडौं – आगामी जेठ दोस्रो साता पर्वत र जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय संवाद हुने भएको छ ।

जेठ ९ र १० ( मे २२ र २३) मा काठमाडौंमा आयोजना हुने ‘इन्टरनेसनल डायलग अन माउन्टेन, पिपुल एन्ड क्लाइमेट’ नाम दिइएको यो संवादमा नेपाललगायत विश्वका पर्वतीय मुलुकका प्रतिनिधि, विषयविज्ञ र साझेदार संस्थाका प्रतिनिधि सहभागी हुनेछन् ।

संवादको उद्देश्य पर्वतीय क्षेत्रका मुद्दामा सबै पर्वतीय राष्ट्रको समान धारणा बनाउने र यो विषयमा गरिने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पहललाई थप प्रभावकारी बनाउने रहेको वन तथा वातावरण मन्त्रालयले जनाएको छ ।

सम्मेलनमा पर्वतीय क्षेत्रमा हुने जलवायु परिवर्तनको असर भोगिरहेका बंगलादेश जस्ता तल्लो तटीय राष्ट्रलाई समेत आमन्त्रण गर्ने तयारी छ । जलवायु परिवर्तनले पर्वतीय क्षेत्रमा पारेको प्रभावका विषयमा अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा आवाज उठाउने र प्रभावकारी पैरवी गर्ने चाहना नेपालको छ ।

जलवायु परिवर्तनको असरले पर्वतीय क्षेत्रको पारिस्थितिकीय प्रणाली, जनजीवन र जैविक विविधतामा परिरहेको नकारात्मक प्रभावबारेमा नेपालले सन् २००९ देखि जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलनलगायत अन्य अन्तर्राष्ट्रिय मञ्चमा आवाज उठाउँदै आएको छ ।

गत वर्ष दुवईमा सम्पन्न संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप– २८) ले पहिलोपटक पर्वतीय क्षेत्रमा जलवायु परिवर्तनले पारेको प्रभावलाई सम्बोधन गर्ने विषयमा निर्णय लिएको थियो ।

सम्मेलनले जलवायु परिवर्तनसम्न्धी सयुक्त राष्ट्रसंघीय संरचना महासन्धि (युएनएफसिसिसी) लाई वैज्ञानिक तथा प्राविधिक परामर्श दिने सहायक निकाय (एसबिएसटिए) को ६०औं बैठकमा पर्वत र जलवायु परिवर्तन विषयमा विज्ञ छलफल गर्न निर्देशन दिएको थियो । निर्देशनअनुसार आगामी जुनमा जर्मनीको बोनमा हुन लागेको बैठकअघि नेपालले यो मुद्दामा अन्तर्राष्ट्रिय संवाद गर्न लागेको हो ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics