छिचोलियो नागढुंगा सुरुङ मार्ग

काठमाडौं - नागढुंगा-नौबिसे सुरुङ मार्गको मुख्य सुरुङ सोमबार छिचोलिएको छ। जापानी संस्कृति र नेपाली पक्षले हिन्दु परम्पराअनुसार सोमबार विशेष पूजा गरेर मुख्य सुरुङको ब्रेक थ्रु गरिएको हो।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विद्युतीय स्विच थिचेर ब्लास्टिङ गरी सुरुङ ब्रेक थ्रु गरिएको हो। २ हजार ६ सय ८८ लम्बाइको सुरुङमध्ये दुई मिटर खन्न बाँकी थियो। सोमबार दुई मिटर सुरुङ खनेर ब्रेक थ्रु गरिएको छ।

गत वर्ष फागुनमै सुरुङ खनिसक्ने योजना थियो। तर स्थानीय बासिन्दाले विभिन्न माग राखेर अवरोध गरेपछि केही समय धकेलिएको थियो।

यो सुरुङले काठमाडौँतर्फ बलम्बु र धादिङ सिस्नेखोलास्थित पृथ्वी राजमार्गलाई जोड्छ। सिस्नेखोलादेखि काठमाडौँ बलुम्बुसम्म अहिले सडकको दूरी ८ किमी छ।

सुरूङमार्ग बनेपछि सिस्नेखोला-बलम्बु दूरी ५ किमी हुन्छ। सिस्नेखोला-बलम्बु जोड्ने सुरुङ तयार गरेर २.८ किमी दूरी घटाउन लागिएको हो।

दूरीका हिसाबले सुरुङ मार्ग र अहिलेकै सडकबीच त्यति धेरै फरक नदेखिए पनि सुरुङ मार्गको प्रयोगबाट समयसँगै पेट्रोलियम पदार्थको पनि बचत हुने अपेक्षा छ।

यसै बिच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वाधार विकासमा नागढुङ्गा सुरुङमार्ग नेपाली माटो सुहाउँदो नयाँ दस्तावेज हुने बताएका छन् ।

नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाको मुख्य सुरूङ ‘ब्रेक–थ्रु’ भएको अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नेपालको भौगोलिक बनौटका आधारमा सुरुङमार्ग निर्माणलाई प्राथमिकता दिनुपर्ने बताए ।

राष्ट्रिय गौरवका आयोजना र राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाहरूको निर्माण कार्य समयमै सम्पन्न गर्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्री प्रचण्डले भने, ‘मैले प्रत्यक्ष रूपमा आयोजनाको समस्या समाधान र सहजिकरणका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट आयोजनाहरूको ‘भर्चुअल मनिटरिङ्ग’ गर्दै आएको छु ।’ उनले सुनकोशी मरिन डाइभर्सन सिँचाइ आयोजनाको सुरुङ छिटै ‘ब्रेक–थ्रु’ हुने उल्लेख गरे ।

नेपालले पूर्वाधार विकाससँगै औद्योगिक विकासको क्षेत्रमा सँगसँगै अगाडि बढाउनुपर्ने जिम्मेवारी रहेको उल्लेख गर्दै उनले वस्तुको आपूर्ति तथा वितरणमा हुने लागत, इन्धन, समय आदिको लाग्ने खर्च घटाउँदै प्रतिस्पर्धी क्षमता बढाउनुपर्नेमा जोड दिए ।

“काठमाडौँबाट नारायणगढ, भैरहवा, वीरगञ्ज, पोखरा विराटनगरलगायतका ठाउँसम्म कम समय र थोरै लागतमा ढुवानी हुनसक्ने द्रूतमार्गहरू बनाउनुपर्ने उनले बताए । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटबाट निजी क्षेत्रलाई उत्साहित बनाउने र नेपालमा ठूला पूर्वाधार विकासमा लगानी आकर्षित गरिने बताए ।

विश्वव्यापिकरणको उच्चतम् लाभ लिँदै नेपालले आधुनिक पूर्वाधार विकासका लागि चाहिने आवश्यक पुँजी र प्रविधिलाई विशेष जोड दिनुपर्ने बताउँदै उनले त्यस कार्यका लागि नीतिगत सुधार र विश्व बजारसँग वित्तीय उपकरणलाई जोड्न पहल गर्नुपर्ने बताए ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics