हात्ती हत्या प्रकरण : तस्करले ३ राउण्ड गोली हानेर मारेको पुष्टि

‘कानमा हानेको गोली हड्डिभित्र पस्यो’

काठमाडौं – झापाको मेचीनगरमा मंगलबार दुवै दाह्रा काटिएको अवस्थामा मृत भेटिएको हात्तीलाई गोली हानी मारेको पोष्टमार्टमबाट पुष्टि भएको छ ।

मेचीनगर नगरपालिका–११ स्थित कालिका सामुदायिक वनभित्र मंगलबार दिउँसो एक वयस्क हात्ती मृत फेला परेको थियो । अन्दाजी ४० वर्ष उमेरको वयस्क हात्तीको बुधबार दिउँसो पोस्टमार्टम गर्दा तीन राउन्ड गोली हानेर मारेको कुरा पुष्टि भएको डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईले बताए ।

‘हात्तीको कानको छेउमा गोली प्रहार गरेर मारेको रहेछ,’ डिभिजन प्रमुख राईले भने, ‘हात्तीको अन्य भागमा गोली छिर्दैन, यो वन्यजन्तु शिकारी गर्ने समूहकै काम हुनुपर्छ, यस बारेमा डिभिजन कार्यालयले अनुसन्धान थालिसकेको छ ।’

गोली अझै फेला परेको छैन । पोस्टमार्टम गर्दा तीन वटा गोली कानको छेउबाट दुलो बनाएर शरीरभित्र छिरेको देखिएको छ । गोली हड्डीभित्र छिरेकोले निकाल्न नसकेको प्रमुख राई बताउँछन् । ‘हात्तीको हड्डी निकै कडा हुन्छ, त्यसैले गोली निकाल्न समस्या भयो,’ उनले भने, ‘गोली निकाल्न सकिएको भए शिकारीले कुन बन्दुकले मारेको भन्ने पुष्टि हुन्थ्यो ।’

हात्तीलाई मारेर दुवै दाह्रा आराले काटेर केही भाग लगेको देखिएको छ । ‘अरू भाग पोस्टमार्टम गरी निकालेका छौँ । पुच्छरको रौँ पनि तानेर लगेको छ’ उनले भने ।

स्थानीयका अनुसार बैशाख २ गते मध्यरातपछि जंगलमा हात्ती कराउन छाडेको थियो । यो घटना त्यही दिनको हुन सक्ने अनुमान गरिएको उनले बताए । हात्तीको पोस्टमार्टम गरी बुधबार नै खाल्डो खनेर त्यही जंगलभित्र पुरिदिएको उनले बताए ।

‘जिल्लामा यस्तो घटना अहिलेसम्म भएको थिएन, यो पहिलो घटना पनि हो,’ उनले भने । हात्तीलाई गोली हानेर मारेपछि मेची चरा तथा वन्यजन्तु संरक्षण समाजले घटनाको भत्र्सना गरेको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics