गुल्मीमा आगलागीबाट २८ घर-गोठ जले, विद्युत्‌को सबस्टेसन पनि नष्ट

गुल्मी - गुल्मीमा आगलागीबाट २८ घरगोठ जलेका छन् । शुक्रबार र शनिबार रातिसम्म लागेको आगोले जिल्लाको इस्मा गाउँपालिका-१, २ र ४ तथा गुल्मीदरबार गाउँपालिकामा क्षति भएको छ ।

इस्मा गाउँपालिका–१ की वसुन्धरा कुँवरको घरगोठ पूर्ण रूपमा जलेको छ । स्थानीय रमेश थापाको घरगोठ, होमबहादुर मल्लको गोठ, लीलाबहादुर थापाको घरगोठ, टीकाबहादुर रायमाझीको घरगोठ एवं रामबहादुर थापाको घरगोठ जलेका हुन् ।

त्यसैगरी चन्द्रबहादुर कुँवरको घरसहित कुटानी–पिसानी मिल, किराना पसल र गोठ, गोपालबहादुर थापाको किराना पसल, धर्मराज थापाको घरगोठ र मिल तथा इन्द्रबहादुर थापाको किराना पसल र तीनवटा गोठ नष्ट भएका जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता शङ्करप्रसाद पोख्रेलले जानकारी दिए ।

शनिबार दिउँसोदेखि इस्मा गाउँपालिका–२ स्थित सिन्दुखाको रानी सामुदायिक वनमा लागेको आगो बस्तीमा फैलिएको थियो । त्यसबाट हस्तीचौरका १५ जनाको घरगोठ जल्नुका साथै दर्जनौँ पशुचौपायको मरेका प्रहरीले जनाएको छ । इस्मा गाउँपालिका–४ को हुल र कोटकोटेरीमा लागेको आगोले टोकली बस्नेतको गोठ, सूर्यबहादुर र गुञ्जबहादुरको गोठ जलेको प्रहरी प्रवक्ता पोख्रेलले बताए ।

इस्मा गाउँपालिका– १ मा लागेको आगोका कारण ट्रयाक्टरचालक १९ वर्षीय हिमाल राना र मुसिकोट नगरपालिका–७ पल्टारका २१ वर्षीय प्रेम राना घाइते भएका छन् । उनीहरूको हातखुट्टा र अनुहार जलेको छ । घाइतेको गुल्मी अस्पताल तम्घासमा उपचार भइरहेको छ । डढेलोका कारण लु ४ त ६५३५ नम्बरको ट्रयाक्टर जलेको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics