सुनौं- बाँदर पीडितका बिलौना
- सुजाता कार्की
चैत १७, २०७३ । अपरान्हको चार बजेको थियो । काठमाडौं जितपुरकी गायत्री आफ्नो बारीमा काम गरेर घर फर्किदै थिइन् । थाहै नपाइ अचानक वरिपरीबाट बाँदरले घेर्यो । दायाँ बाँया हेर्दै एकछिन उभिइन् तर झनधेरै बाँदर उनीनजिक हामफाल्न थाले । करिव ५० वटा बाँदरले उनलाई घेर्यो । भीडको सबैभन्दा ठूलो बाँदरले आक्रमण गर्न थाल्यो । सुन्दा कथा जस्तो लाग्ने यो घटना जितपुर काठमाडौंका बासिन्दाको नियमित अनुभव हो ।
बाँदरको टोकाई पनि सामान्य छैन । पिडुलाको नसा निकालिदियो । जसको कारण उनी ३ दिन काठमाडौं ट्रमा अस्पतालमा बस्नु पर्यो । १५ दिनदेखि उनी घरमा आराम गरिरहेकी छन् । घाउ निको भएको छैन । बांदरको आक्रमणबाट घाइते भएकी गायत्रीको उपचारका लागि ८० हजार खर्च भइसक्यो । क्षतीपूर्ती वा उपचार खर्च कतैबाट पाएकी छैनन् । महिला र स्कुल जाने केटाकेटी बाँदर निसानामा बढी पर्छ बांदर पीडित स्थानीय बासिन्दाको संख्या दिनहुँ बढिरहेको छ । परिणाम, जिपतुरफेदीमा आजभोलि स्थानीयहरु एक्लै हिड्न डराउँछन् ।
उनीहरुका अनुसार, सो क्षेत्रमा मात्रै बाँदरले वार्षिक रुपमा १५ जनालाई आक्रमणबाट घाइते बनाउने गरेको छ । बाँदरले टोकेपछि घाइतेहरु सामान्तया १० दिन अस्पतालमा बस्नुपर्छ । बाँदरले स्थानीय बासिन्दालाई आक्रमण गर्ने मात्रै होइन । अन्नबाली तथा अन्य उत्पादनसमेत नष्ट गरिदिन्छ । धान ,मकै , गँहु ,कोदो ,लगाएको खाधन्न वाली तथा आलु केराउ , वकुल्ला काउली , बन्दाको बोटै नास गरिदिन्छ । बाँदरको संख्या बढेपछि स्थानीय बासिन्दाको दैनिकी नै बदलिएको छ । बाँदरबाट बच्न र वालीनाली बचाउनु उनीहरुका लागि अहिले सबैभन्दा ठूलो चुनौती हो ।
स्थानीय इन्दिरा ढकालका अनुसार, उनको पांचदिन अघि मात्रै १० मिनेटको समयमा बाँदरको हुलले तीन मुरी गहुँ नष्ट गरिदिएको छ । इन्दिराले भनिन् ,“काटेको गहुँ घरमै आएर खाइदिन्छ । वलीनाली केही देख्नै हुन्न ” बाँदर मानिसको द्धन्द्ध बढेपछि स्थानीय बासिन्दाले बाँदरलाई अन्यत्र सारिदिन आग्रह गरेका छन् । जीतफूर फेदीका रामशरण गजुरेल बाँदरले दुख दिएको कारण २ वर्ष देखी खेती लाउन छोडेको बताउछन् । ‘बाँदर आउछ घरमा राखेको अन्य लइदिन्छ लखेट्न गयो मान्छेलाई टोकिदिन्छ ’ बाँदरका कारण बसोबास नै अन्यत्र सार्नुपर्ने अवस्था आइरहेको उनीहरुको गुनासो छ । कतिपय अवस्थामा एकैपटक तीनसयको हुलमा आएका बाँदरले अन्नवाली नष्ट गरिदिन्छन् । मानिसले धपाउन खोज्दा उल्टै आक्रमण गर्छन् ।
विज्ञहरुका अनुसार, यस ठाउँमा दुई प्रकारका बाँदर भेटिन्छन् । २०२८ सालमा राजधानीका विभिन्न स्थानबाट ल्याएर छोडिएका बाँदर र केही वर्षअघि भक्तपुरमा पालिएका बाँदरसमेत छोडिएको स्थानीय बासिन्दाको भनाई छ । केही वर्षअघि भक्तपुरमा पालिएका बाँदर सोही क्षेत्रमा लगेर छोडेको थियो । स्थानीय बासिन्दाले सो क्षेत्रमा हजारौंको संख्यामा बाँदर भएको अनुमान गरेका छन् । स्थानीय बासिन्दा सुवास अर्यालले आफ्नो पसलमा बेच्न राखेको सामाग्रीसमेत बाँदरको आक्रमणबाट चाउन नसकिएको बताए । जितपूर फेदीका स्थानीय बासिन्दा हरीकृष्ण अर्यालका अनुसार किसानको जग्गामा लगाएको खेती बाँदरले खाइदिदा समस्या बढिरहेको छ । स्थानीय बासिन्दाले सरकारसंग बाँदर अन्यत्र सारेर आफ्नो जीवन सुरक्षित गरिदिन आग्रह गरेका छन् ।
प्रतिक्रिया दिनुहोस