हिउँ र बरफ पग्लेर समुद्रको सतह बढ्यो, ढुवानीमा देखिन थाल्यो समस्या

काठमाडाैं - हिउँ तथा बरफ पग्लेर समुद्रको सतह बढ्दा कच्चा पेट्रोलियम पदार्थको ढुवानीमा समस्या बढ्दै गएको अध्ययनले देखाएको छ ।

अनुसन्धानकर्ताले आज सार्वजनिक गरेको प्रतिवेदनले ढुवानीमा आएको समस्याका कारण चीन, दक्षिण कोरिया, जापानलगायत आयात निर्भर देशहरूमा ऊर्जा असुरक्षा बढ्ने जोखिम रहेको देखाएको इकोनोमिक्स टाइम्सले जनाएको छ ।

चाइना वाटर रिस्क थिङ्क ट्याङ्कले सार्वजनिक गरेको प्रतिवेदनमा पृथ्वीमा बढ्दो तापक्रमले हिउँ पग्लिने क्रम बढेको र यसले कतिपय समुद्रमा एक मिटरभन्दा धेरै सतह बढ्नसक्ने जोखिम रहेको उल्लेख छ ।

यसअघि संयुक्त राष्ट्र सङ्घको जलवायु परिवर्तनसम्बन्धी प्रतिवेदन २०२१ ले यही शताब्दीको अन्त्यसम्ममा औसत समुद्री सतह एक मिटरभन्दा धेरै बढ्न सक्ने र कतिपय ठाउँमा दुई मिटरसम्म बढ्ने अनुमान गरेको थियो ।

समुद्रको सतह बढ्दा तेल बन्दरगाह डुबाउने, तटीय क्षेत्रका प्रशोधनस्थल दलदलमा पर्न सक्ने जोखिम रहेको आज सार्वजनिक प्रतिवेदनमा चेतावनी दिइएको छ ।

समुद्रको सतह एक मिटर मात्रै बढ्दा पनि कच्चा तेल आयात–निर्यात गर्ने ठूला १५ वटा बन्दरगाहमध्ये १२ वटामा प्रत्यक्ष असर पर्ने देखिएको छ ।

तीमध्ये पाँच वटा एशियामा छन् । समुद्रको सतह बढेर तेल ढुवानीमा समस्या हुँदा सबैभन्दा बढी एशियाका देश प्रभावित हुने भन्दै प्रतिवेदनले बन्दरगाह सुधारमा ढिलाइ नगर्न सुझाव दिएको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics