उत्तर कोरियाले दिसा पिसाब भरिएका बेलुन दक्षिण कोरियामा झारेको हो ?
- नेचर खबर
सियोल - उत्तर कोरियाले शौचलयमा प्रयोग हुने पेपर (ट्वइलेट पेपर) र जनावरको मलजस्तो देखिने फोहोरले भरिएका बेलुनहरू दक्षिण कोरियामा पठाएको स्थानीय सञ्चारमाध्यमहरूले बुधबार जनाएका छन् । सियोलको सेनाले प्योङयाङको यस तुच्छ कार्यको निन्दा गरेको छ ।
उत्तर कोरियाले यस सप्ताहन्तमा सियोलसँग बदला लिन सीमावर्ती क्षेत्रहरूमा फोहोरको वर्षा गर्ने चेतावनी दिएपछि फोहोरले भरिएको र संदिग्ध मलमूत्रले भरिएका सेतो बेलुनको व्यापक तस्बिरहरू दक्षिण कोरियाली सञ्चारमाध्यमले सार्वजनिक गरेका थिए । “उत्तर कोरियाली प्रचारका लागि पठाइएका हुनसक्ने पर्चा र अज्ञात वस्तुहरू ग्योन्गी–गाङवोन सीमा क्षेत्रमा पहिचान गरिएको छ र सेनाले अनुसन्धान गरिरहेको छ,” सियोलका सेना प्रमुखले भने ।
“नागरिकहरू बाहिरी गतिविधिहरूबाट टाढा रहन, कुनै पनि अज्ञात वस्तुहरूको सम्पर्कमा नआउन र यस्ता घटनाबारे नजिकको सैन्य आधार वा प्रहरी कार्यालयलाई जानकारी दिन भनिएको दक्षिण कोरियाली अधिकारीबाट एएफपीले प्राप्त गरेको विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा भनिएको छ, “उत्तर कोरियाको यसप्रकारका कार्यहरूले स्पष्ट रूपमा अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन गर्दछ र हाम्रा जनताको सुरक्षालाई गम्भीर खतरा पु¥याउँछ, केही बेलुनहरूमा फोहोरजस्तो देखिने वस्तु रहेको र सेनाले जाँच गरिरहेको छ । हामी उत्तर कोरियालाई आफ्नो अमानवीय र निम्न–वर्गका कार्यहरू तुरुन्तै रोक्न कडा चेतावनी दिन्छौं ।”
कहिलेकाहीँ दक्षिण कोरियालीहरूले पनि किम जोङ–उन शासन विरोधी प्रचारका लागि पर्चा र उत्तरी सिमानामा बस्ने मानिसहरूका लागि पैसा राखिएका बेलुनहरू उत्तरतर्फ छोड्ने गरेका थिए । प्योङयाङ सम्भवतः कडा रूपमा नियन्त्रित समाजमा बाहिरी जानकारीको आगमनले किम शासनका लागि खतरा निम्त्याउन सक्छ भन्ने चिन्ताको कारण लामो समयदेखि दक्षिणको यस्तो प्रचार अभियानहरूबाट क्रोधित भएको र केही समय पहिल बदला लिने चेतावनीे दिएको थियो ।
रक्षा उपमन्त्री किम काङ् इलले आइतबार एक विज्ञप्तिमा भने, “सीमा क्षेत्रहरू नजिकै आरओकेद्वारा बारम्बार पर्चाहरू र अन्य फोहोर छरेको बदलामा यस्तै कारबाही गरिनेछ । फोहोर चाँडै सीमा क्षेत्र र दक्षिण कोरियाको भित्री भागमा छरिनेछ र तिनीहरूलाई हटाउन कति मेहेनत आवश्यक छ भन्ने प्रत्यक्ष अनुभव हुनेछ ।” सन् १९५०–५३ को कोरियाली युद्ध अन्त्यका लागि गरिएको युद्धविराम समाप्त भएदेखि दुवै राष्ट्रहरू प्राविधिक रूपमा युद्धमा छन् । रासस
प्रतिक्रिया दिनुहोस