‘जलवायु परिवर्तनले हिमताल फुट्ने खतरा उच्च’

काठमाडौं – नेपालमा जलवायु परिवर्तनको असर बढ्दै गएकाले हिमताल फुट्ने खतरा पनि बढेको सरोकारवालाले बताएका छन् । उनीहरूले हिमाल र हिमाली क्षेत्रमा तीव्र रूपमा यसको असर पर्दै गएको भन्दै समयमै राज्यको ध्यान नपुगे जनजीवन र मुलुकको अर्थतन्त्रमै प्रभाव पर्ने दाबी गरे ।

राष्ट्रिय सभाअन्तर्गतको संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिले शुक्रबार राखेको बैठकमा सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका उपाध्यक्ष टासी ल्हामु शेर्पा र पर्वतारोहण पथ प्रदर्शक दावा याङ्जुङ शेर्पाले जलवायु परिवर्तनले नेपालका हिमालहरू कालो ढिस्का बन्ने जोखिम बढेको र सगरमाथा क्षेत्रमा फोहोर र प्रदूषण बढ्दै गएको बताए ।

पानीका मुहान सुक्न थालेको, बालीनाली र चौरीपालनमा असर पुगेको तथा हिमताल फुट्ने खतरा बढ्दा जीवनशैली, जीविका र पर्यटनमा प्रभाव परेको उनीहरूको अनुभव छ ।

सगरमाथा चढ्नुअघि अरु आठ हजार उचाइका हिमाल चढेको हुनुपर्ने नियम बनाउन पनि उनीहरूले सुझाव दिए । समिति सभापति सोनाम गेल्जेन शेर्पा तथा सदस्यहरू मोहम्मद खालिद र इन्दिरादेवी गौतमले हिमाल जोगाउन नसके पर्यावरण र जीवनयापनमा धेरै नोक्सानी हुनेतर्फ राज्यको ध्यान जानुपर्नेमा जोड दिए ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics