जलवायु परिवर्तनको असर : अतिरिक्त २६ दिन चरम गर्मी

पेरिस- विश्वले पछिल्लो १२ महिनामा औसत २६ दिन थप अत्यधिक गर्मीको अनुभव गरेको छ । यो जलवायु परिवर्तनबिना सम्भवतः नहुने एक प्रतिवेदनमा उल्लेख छ।गर्मी जलवायुसम्बन्धी मृत्युको प्रमुख कारण हो । प्रतिवेदनले विश्वभरि चरम मौसमको आवृत्ति र तीव्रता बढाउनमा विश्वव्यापी तापक्रमको भूमिकालाई औँल्याउँछ।

उक्त अध्ययनका लागि वैज्ञानिकहरूले सन् १९९१ देखि सन् २०२० को वर्षहरू प्रयोग गरी त्यो अवधिमा प्रत्येक देशका लागि शीर्ष १० प्रतिशतभित्र कुन तापक्रम गनिन्छ भनेर निर्धारण गरेका छन्। त्यसपछि उनीहरूले कति दिन तापक्रम यसअघिको सीमाभित्र वा त्योभन्दा धेरै रह्यो भन्ने पत्ता लगाउन सकियोस् भनेर सन् २०२४ मे १५ सम्मको १२ महिनालाई हेरेका थिए।

पुनः सहकर्मी–समीक्षा विधिहरू प्रयोग गरेर वैज्ञानिकहरूले यी प्रत्येक अत्यधिक तातो दिनहरूमा जलवायु परिवर्तनको प्रभावको जाँच गरेका छन्। 'मानवजनित जलवायु परिवर्तनले संसारका सबै ठाउँमा चरम गर्मीको २६ दिन थप बढाइदियो', वैज्ञानिकहरूले निष्कर्ष निकालेका छन् ।

उक्त प्रतिवेदन रेडक्रस रेड क्रिसेन्ट क्लाइमेट सेन्टर, वर्ल्ड वेदर एट्रिब्युसन साइन्टिफिक नेटवर्क र गैरनाफामुखी अनुसन्धान संस्था क्लाइमेट सेन्ट्रलले प्रकाशित गरेका हुन्। युरोपेली सङ्घ (इयु) को जलवायु अनुगमन, कोपर्निकसका अनुसार सन् २०२३ रेकर्डमा सबैभन्दा तातो वर्ष थियो । यस वर्ष पहिले नै चरम गर्मीको लहरले मेक्सिकोदेखि पाकिस्तानसम्म विश्वको धेरै भागलाई प्रभावित पारेको छ ।

पछिल्लो १२ महिनामा करिब छ अर्ब ३० करोड मानिस (विश्व जनसङ्ख्याको झन्डै ८० प्रतिशत) ले कम्तिमा ३१ दिन चरम गर्मीको अनुभव गरेको प्रतिवेदनले बताएको छ। समग्रमा अन्टार्कटिका बाहेक हरेक महादेशका ९० विभिन्न देशमा ७६ वटा चरम गर्मीको लहर दर्ता भएका थिए । सबैभन्दा बढी प्रभावित पाँच राष्ट्र ल्याटिन अमेरिकामा थिए।

'अत्यन्त गर्मीले पछिल्लो १२ महिनामा दशौँ हजार मानिसको ज्यान लिएको छ तर वास्तविक सङ्ख्या सयौँ हजार वा लाखौँमा हुनसक्छ,' रेड क्रसले विज्ञप्तिमा भनेको छ। रेडक्रसको अन्तर्राष्ट्रिय महासङ्घका महासचिव जगन चापागाईंले भने, 'बाढी र आँधी हेडलाइनहरू बन्न सक्छन् तर अत्यधिक गर्मीको प्रभाव उत्तिकै घातक छ।'

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics