तरकारी ‘कटिङ बोर्ड’को टुक्रा प्रत्येक गाँसबाट पुग्दैछ शरीरमा

काठमाडौं – हामीलाई हरेक कुरा सजिलो चाहिएको छ । बोक्नमा सहज होस भनेर हलुको सामान खोज्छौं । नभिजोस् वा चाँडै सुकोस् भनेर प्लास्टिकको सामान रोज्छौं । तर, थाहा छ ? यसरी सहज खोज्दा खोज्दै हामी रोगी बन्दैछौं । प्रत्येक खानाको गाँस र पानीको घुट्की सँगै प्लास्टिक निल्दैछौं । यसको एक उदाहरण हो किचनमा तरकारी र अन्य सामान काट्न प्रयोग गरिने प्लास्टिकको चपिङ् बोर्ड ।


पछिल्लो समय तरकारी काट्न प्रयोग गरिने यो प्लास्टिकको चपिङ् बोर्ड प्रत्येकको किचनमा पुगेको छ । सहरमा मात्रै होइन, गाउँ गाउँका किचनको काँटीमा झुण्डिएको छ । पुरानो प्रविधी चुलेँसीलाई चक्कुसँग मिलेर यसले विस्थापित नै गरिरहेको छ । तर, हामीलाई थाहा छैन कि यसले हाम्रो आयु पनि घटाइरहेको छ भनेर ।


यो समाचार तपाईँले पढ्दैगर्दा घरमा हुनुहुन्छ भने किचनमा गएर वा बाहिर हुनुहुन्छ भने भरे घरको वा कोठाको किचनमा पुगेर हेर्नुस् त, चपिङ्बोर्ड कति खिइएको छ ? त्यो खिएको स–साना प्लास्टिकको टुक्रा कहाँ पुग्यो होला ? अनि सोच्नुस् त, हामी दैनिक कति माक्रोप्लास्टिक तरकारी वा अन्य खानासँगै खाइरहेका छौं ?

माटोले त सैयौं वर्ष सडाउन नसक्ने प्लास्टिक हाम्रो शरिरले पचाउने कुरै भएन । त्यस्ता स–साना प्लास्टिकका टुक्रा हाम्रो रगत सम्म पुग्ने गरेको चिकित्सक बताउँछन् । ती प्लास्टिकका कण शरिरको जहाँ अडियो त्यहाँ क्यान्सर हुने उनीहरूको तर्क छ । त्यसैले हामीले सहजताका लागि भन्दा पनि स्वास्थ्यलाई हेरेर सामान खरिद गर्नुपर्ने चिकित्सकको सुझाव छ ।


एक नयाँ अनुसन्धानले पनि हाम्रो दैनिक खाना वा खाजाको माध्यमबाट चपिङ् बोर्डको प्लास्टिकका टुक्र शरिरमा प्रवेश गर्ने गरेको देखाएको छ । अमेरिकी केमिकल सोसाइटीसँगको सहकार्यमा प्रकाशित साउथ डकोटा स्टेट युनिभर्सिटीको भर्खरैको अध्ययनले उक्त तथ्य सार्वजनिक गरेको हो ।


अध्ययनका अनुसार १ वर्षको अवधिमा प्लास्टिकको यस्तो कटिङ् वा चपिङ् बोर्डले १० रातो सोलो कपको तौल जत्तिकै माइक्रोप्लास्टिक गुमाउँछ । जुन हाम्रो शरिरमा पुगेको हुन्छ । अनुसन्धानकर्ताहरूले पोलीथिलीन र पोलीप्रोपाइलीन बोर्डहरूमा गाँजर काटेर अनुसन्धानको सुरुवात गरेका थिए । त्यसपछि तिनीहरूले तरकारीहरू धोए र खानामा कति प्लास्टिक कणहरू अड्किएका छन् भनेर निर्धारण गर्न माइक्रोफिल्टर प्रयोग गरेका थिए ।


अन्वेषकहरूका अनुसार स्वस्थ तरकारीहरूमा एक र एक दर्जन माइक्रोप्लास्टिक कणहरू हुन्छन् जुन प्रत्येक पटक काट्दा तिनीहरूमा टाँसिन्छ ।

काठको बोर्ड प्रयोग गर्न सुझाव
विज्ञ, चिकित्सक र अनुसन्धानकर्ताहरूले प्लास्टिकको बोर्डको साटो काठको बोर्डको प्रयोग गर्न सुझाव दिएका छन् । काठको बोर्डको प्रयोग गरे काठका स–साना टुक्रा परे पनि शरिरले त्यसलाई पचाउने उनीहरू बताउँछन् ।

रविन भट्टराई

प्रतिक्रिया दिनुहोस

web
analytics