माथिल्लो तमोरमा निजी क्षेत्रको ३८.६० अर्ब लगानी, ०८५ मा परियोजना तयार गर्ने लक्ष

काठमाडौं – ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका र फुङलिङ नगरपालिकामा बन्ने दुई सय ८५ मेगावाटको माथिल्लो तमोर अर्धजलाशययुक्त जलविद्युत् परियोजनामा लगानी जुटेको छ ।


यसमा एभरेष्ट बैंकको नेतृत्वमा ३८ अर्ब ६० करोड ऋण लगानी हुन लागेको हो । परियोजनाको प्रवद्र्धक कम्पनी तमोर इनर्जी प्रालिका अध्यक्ष पुष्पज्योति ढुंगाना र एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुदेश खालिङले काठमाडौंमा विहीबार आयोजित एक कार्यक्रममा हस्ताक्षर गरेसँगै लगानी निस्चित भएको छ ।


एभरेष्ट बैंकको नेतृत्वमा गरिने ऋण लगानीमा जलविद्युत् लगानी तथा विकास कम्पनी लिमिटेड (एचआइडिसिएल) र कृषि विकास बैंकले को–लिड गरेका छन् । यसैगरी, राष्ट्रिय वाणिज्य बैंक, प्रभु बैंक, लक्ष्मी सन्राइज बैंक, नेपाल एसबिआई बैंक र गरिमा विकास बैंकले पनि सदस्यका रूपमा ऋण लगानी गर्नेछन् ।

परियोजनाको कुल लागत अनुमान ५५ अर्ब १५ करोड रहेको छ । त्यसको ७० प्रतिशत लगानी ऋणमार्फत जुटाइएको हो । बाँकी ३० प्रतिशत भने कम्पनीले स्वपुँजीका रूपमा लगानी गर्नेछ । त्यसमा स्थानीय र सर्वसाधारणलाई पनि सेयर दिने कम्पनीको योजना छ ।


नेपालमा निजी क्षेत्रबाट लगानी जुटाउन सफल भएको यो हालसम्मकै ठूलो परियोजना रहेको कम्पनीका अध्यक्ष पुष्पज्योति ढुंगानाले बताए । परियोजना निर्माणमा वित्तीय व्यवस्थापन महत्वपूर्ण उपलब्धि भएको उनी बताउँछन् ।


एभरेष्ट बैंकका सिइओ सुदेश खालिङले स्वदेशी बैंकहरू पनि ठूला जलविद्युत् परियोजनामा लगानी गर्न सक्षम भएको प्रतिक्रिया दिए ।


सभामुख देवराज घिमिरेले पनि निजी क्षेत्रबाट यतिको ठूलो परियोजना बनाउन लाग्नु ठूलो उपलब्धि भएको बताए । यो परियोजना समयमा बनाउन आफ्नो ठाउँबाट सहयोग गर्ने पनि उनले प्रतिबद्धता व्यक्त गरे । यसले जिल्लाको विकासका साथै देशको अर्थतन्त्रमा पनि ठूलो सहयोग पुग्ने उनको भनाई छ ।


उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले निजी क्षेत्रबाट यतिका ठूला परियोजना बन्न लाग्नु ठूलो उपलब्धि भएको बताए । ऊर्जा क्षेत्रमा भएका समस्या तथा चुनौती समाधान गर्न सरकार अघि बढिसकेको उनले बताए ।


उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले पनि नेपालको समृद्धिका लागि ऊर्जा क्षेत्रलाई महत्वपूर्ण क्षेत्रका रूपमा लिइएको बताए ।


ताप्लेजुङका सांसद योगेश भट्टराईले ठूला परियोजना बनाउन नेपाली निजी क्षेत्रको क्षमता बढेको बताए । यो परियोजनाले ताप्लेजुङ जिल्लाको विकासमा सहयोग पुग्ने उनको भनाई छ । ताप्लेजुङमा निर्माणाधीन आयोजनासहित पाँच वर्षमा एक हजार मेगावाट विद्युत् उतपादन हुने उनले बताए । त्यसले सिंगो मुलुकको अर्थतन्त्र विकासमा सहयोग पुग्ने उनको भनाइ छ ।


स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीले नेपाली निजी क्षेत्रले ठूला परियोजना बनाउन सक्छन् भन्ने पुष्टि भएको बताए ।

परियोजनाले हिउँदमा पनि ६ घण्टा पूर्ण क्षमतामा विद्युत् उत्पादन गर्न सक्छ । त्यसले हिउँदको पिक आवरमा भइरहेको लोडसेडिङलाई कटौती गर्न सहयोग पुग्ने अध्यक्ष ढुंगानाले बताए ।


कम्पनीले २७ जेठ ०७५ मा विद्युत् विकास विभागबाट विद्युत् उत्पादनको लाइसेन्स पाएको थियो । ८ असार ०७८ मा लगानी बोर्डबाट परियोजनाको लगानी स्वीकृत भएको थियो । कम्पनीले ०७९ मंसिरमा नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद–बिक्री सम्झौता गरिसकेको छ ।


सम्झौताअनुसार कम्पनीले बर्खामा प्रतियुनिट ४.८० रुपैयाँमा प्राधिकरणलाई विद्युत् बिक्री गर्नेछ । सुक्खायाममा पिकिङ आवरमा प्रतियुनिट १०.५५ रुपैयाँ विद्युत् बिक्री गरिनेछ । सुक्खायामको अन्य समयमा भने प्रतियुनिट ८.४० रुपैयाँमा विद्युत् बिक्री गरिनेछ । पिपिए दर आठ वर्षसम्म वार्षिक ३ प्रतिशतका दरले वृद्धि गरिनेछ ।


परियोजनामा ९१ मिटर लामो र २२ मिटर अग्लो बाँध हुनेछ । ड्यामबाट विद्युत्गृहसम्म पानी पु¥याउन आठ हजार तीन सय ७० मिटर लामो सुरुङ निर्माण र ६ सय १३ मिटर लामो पेनस्टक पाइप जडान गरिनेछ । परियोजनामा निर्माण हुने भूमिगत विद्युत्गृह एक सय चार मिटर लामो र २० मिटर चौडाइको हुनेछ । पावरहाउसमा ५७ मेगावाट क्षमताका पाँचवटा टर्बाइन हुनेछन् । परियोजनाको विद्युत् दुई सय २० केभी १५ किमि लामो प्रसारणलाइनमार्फत ढुंगेसाँगु सबस्टेसनमा जोडिनेछ ।


आयोजनाबाट वार्षिक एक अर्ब ४७ करोड ९८ लाख युनिट विद्युत् उत्पादन हुनेछ । बर्खामा एक अर्ब तीन करोड ३६ लाख युनिट र सुक्खायाममा ४४ करोड ६२ लाख १६ हजार युनिट बिजुली उत्पादन हुनेछ ।


परियोजनाको प्रारिम्भक निर्माण यसअघि नै सुरु भइसकेको छ । यो परियोजनाको निर्माण ०८५ जेठमा सम्पन्न गर्ने लक्ष्य लिइएको छ । आयोजना सञ्चालनमा आएको पहिलो वर्षमा १० अर्ब १२ करोड रुपैयाँ आम्दानी हुनेछ । पिपिए दरमा हुने वृद्धिले गर्दा नौ वर्षपछि वार्षिक १२ अर्ब ५५ करोड आम्दानी हुनेछ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics