जलवायु परिवर्तनसँग लड्न ‘शाकाहारी खानेकुरा’

काठमाडौं - संयुक्त राष्ट्रसङ्घका विज्ञहरूले शाकाहारी खानेकुराले जलवायु परिवर्तनका नकारात्मक प्रभावससँग जुध्न मद्दत गर्ने बताएका छन्।

भूमि प्रयोग र जलवायु परिवर्तनसम्बन्धी एउटा प्रमुख प्रतिवेदनले पश्चिमा मुलुकहरूमा हुने मासु र दुग्ध उत्पादनको ठूलो खपतले विश्वको तापमान बढाइरहेको बताएको छ।

तर वैज्ञानिक र अधिकारीहरूले सबैलाई शाकाहारी बन्न अनुरोध भने गरेका छैनन्। उनीहरूले मानिसहरूले मासु कम खाएमा थोरै जमिनको प्रयोग गरेर हुने कृषि उत्पादनले धेरै मानिसहरूलाई खुवाउन सकिने बताएका छन्।

संसारका १०७ वैज्ञानिकहरूले राष्ट्रसङ्घको इन्टरगर्भर्मेन्टल प्यानल अन क्लाइमेट चेन्ज,आईपीसीसी, का लागि तयार पारेको प्रतिवेदनले भूमिलाई प्रभावकारी उपयोग गरे यसले मानवले उत्सर्जन गर्नेभन्दा धेरै कार्बन सोस्न सक्ने बताइएको छ। यो प्रतिवेदन स्वीट्जरल्याण्डको जिनीभामा भएको एक छलफलपछि अन्तिम रूपमा आएको हो।

"हामी मानिसहरूलाई मासु नखानु भनिरहेका छैनौँ। केही स्थानमा अरू विकल्प नै छैन। तर पश्चिममा हामी धेरै नै मासु खाइरहेका छौँ," वातावरण वैज्ञानिक प्राध्यापक पिट स्मिथले बताए। सो प्रतिवेदनले जलवायु परिवर्तनका कारक भूक्षय र मरुभूमिकरण रोक्न जोडदार कार्य गर्न अनुरोध गरेको छ।

जलवायु परिवर्तन हाम्रो आहारा आपूर्तिको सुरक्षाका लागि खतरा हो। बढ्दो तापक्रम, बढ्दो वर्षा र मौसमसम्बन्धी प्रतिकूल अवस्थाहरूका कारण बाली र वस्तुभाउलाई असर परिरहेको छ।

तर खानेकुरा उत्पादनले पनि विश्व तापमानलाई असर गरिरहेको छ। कृषि र वनकार्यबाट एक तिहाइ हरित ग्यास उत्सर्जन हुन्छ। वस्तुभाउले पनि मिथेन ग्यास उत्सर्जन गर्छन् जसले विश्वको तापमान बढाउँछ।

मासु उत्पादनको वातावरणीय असर धेरै शाकाहारीहरूका लागि महत्त्वपूर्ण छ। ब्रिटेनमा नोबिफ भन्ने एक समूह क्याटरिङ सेवाहरूलाई मासुका परिकार हटाउन अनुरोध गर्छ।

अमेरिकामा शाकाहारी बर्गरहरू मासुजस्तै स्वाद आउने वनस्पती उत्पादनबाट बनाइन्छ। 'कम्प्यासन इन वर्ल्ड फार्मिङ' का पिटर स्टेभेन्सन भन्छन्: "जलवायुका सम्बन्धमा हाम्रो लक्ष्य प्राप्त गर्ने हो भने मासुको खपत कम गर्नै पर्छ।" तर चीनसहित केही स्थानहरूमा मासुको खपत बढिरहेको छ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics