मोरङ र झापाका नदीमा भेटियो ‘रैथाने प्रजाति सखाप पार्ने’ अमेजन नदीको माछा

पारिस्थितिक प्रणाली असन्तुलित हुने चिन्ता

विराटनगर – ‘टेरिगोप्लिक्थिस डिसजन्किटिभस’ वैज्ञानिक नाम रहेको ‘क्याटफिस’ वर्गको माछा हेर्दा लजालु हुन्छ र स्थिर बसिराख्छ । तर, पत्याउनु हुन्छ ? यसले मौका छोपेर अन्य जातका माछालाई आक्रमण गर्छ र फुलका साथै भुरा नै खाइदिन्छ । विज्ञ भन्छन् – ‘यसले विध्वंस नै मच्चाउँदै प्राकृतिक पारिस्थितिक प्रणालीलाई असन्तुलित पार्छ ।’ हो, यहीँ प्रजातिको माछा मोरङ र झापाका नदीमा फेला परेपछि अहिले संरक्षणकर्मी चिन्तित छन् ।

दक्षिण अमेरिकाको अमेजन नदीमा पाइने उक्त प्रजातिको माछा मोरङको बेलबारी र धनपालथानका साथै झापाको दमक क्षेत्रका नदीमा भेटिएपछि नेपाली रैथाने माछा नै लोप होला कि भन्ने चिन्ता सुरु भएको छ ।

केही वर्ष यता यो प्रजातिको माछा पूर्वी र दक्षिण एशियाली देशहरूमा देखिएको विज्ञ बताउँछन् । नेपालमा भने पहिलोपटक मोरङ जिल्लाको बेलबारीमा ४ वर्षअघि देखा परेको एक अध्ययनले पुष्टि गरेको छ ।

...अनि सुरु भयो अनुसन्धान
झापा र मोरङका नदीमा नयाँ प्रजातिको माछा भेटिएको शंका लागेर विगत ४ वर्षदेखि नै स्थानीय अनुसन्धानकर्ताहरू यसको खोजीमा जुटेका थिए । यसको अनुसन्धानमा जुट्ने स्थानीय अनुसन्धानकर्ता हुन् जसहाङ लिम्बू, दीपक राजवंशी, अस्मित सुब्बा र लक्ष्मण खनाल ।

उनीहरू माछाको नमुना संकलनमा जुटिरहेको समयमा पछि दुई चाइनिज अनुसन्धानकर्ताहरू जीन क्वान याङ र चेन होङ लि पनि यसमा जोडिए । चाइनिज अनुन्धानकर्ताहरूको सहयोगमा भएका विभिन्न अनुसन्धानले यो ‘मिचाहा’ प्रजातीको माछा नेपालमा नयाँ भएको र यसको स्वभावले वातावरणमा चुनौती थपिएको पुष्टि भयो ।

यो माछाको वासस्थान, शारीरिक र आनुवांशिक बनोट तथा आनीबानीको अध्ययन गरेपछि यो नेपालमा पहिलो पटक भेटिएको भन्ने कुरा पुष्टि भयो । त्यसपछि तिनै अनुुसन्धानकर्ताहरूले एउटा अध्ययन लेख ‘बायोइन्भेजन्स् रेकर्डस्’ भन्ने विज्ञान पत्रिकाको सन् २०२४ अंकमा छापे ।

स्तरीय मानिएको (क्यू टु) उक्त विज्ञान पत्रिकामा उल्लेख भएअनुसार लोहन्द्रा नदीबाट यस माछाका ४३ वटा नमुना संकलन गरिएको थियो । पूर्वी नेपालका तमोरलगायत स्थायी नदीहरूको ५० स्थानमा खोजअनुसन्धान गरिएकोमा लोहन्द्राका दुई स्थानमा यो प्रजाति फेला परेको हो । हेर्दा आकर्षक लाग्ने, २०० देखि ३०० ग्रामसम्म तौलका र १३९ देखि २०५ मिलिमिटर सम्म लम्बाइका नमुनाहरू संकलित भएका थिए ।

यही जातको अर्को प्रजाति भने दमकतिरका नदीहरूमा भेटिएको छ । त्यसको भने विस्तृत विवरण तयार भई प्रमाणित हुन बाँकी रहेको अनुसन्धानकर्ता जसहाङ लिम्बूले जानकारी दिए ।

अमेरिका पाइने माछा नेपालमा कसरी भेटियो ?
यो अनुसन्धान पछि अमेरिकाको माछा नेपालमा कसरी भेटियो भन्ने जिज्ञासा अनुसन्धानकर्तामा पनि जागेको थियो । तर, यसको उत्तर पनि उनीहरूले खोजेका छन् ।

अनुसन्धानकर्तामध्येका एक जसहाङ लिम्बू भन्छन् ‘यसमा हामीले दुई वटा बाटो अनुमान गरेका छौँ । कि यो कसैको एक्वारियमबाट फुत्केर प्राकृतिक नदी प्रणालीमा गएको हुनुपर्छ त, कि भारतबाट नदीमा खेल्दै यता आएको हुनुपर्छ ।’

जताबाट आए पनि यो नेपाल भित्रिएपछि यहाँका रैथाने माछाहरूलाई हेप्ने, खानेकुरा खाइदिने, फुल र भुरा खाइदिने गरेकाले स्थानीय माछाहरू नासिने सम्भावना भएको उनको तर्क छ । भन्छन्, ‘यसले धेरै देशहरूमा यस्तो विध्वंस मच्चाउँदै प्राकृतिक पारिस्थितिक प्रणालीलाई असन्तुलित पार्दै आएको छ ।’

लिम्बूका अनुसार सन् २०१९ देखि झापा र मोरङको क्षेत्रमा गरिएको यसको अनुसन्धानले यो लोहन्द्रा नदीमा स्थापित भइसकेको देखाएको छ । यहाँ यसको जनसंख्या निरन्तर बढिरहेको छ । यो फैलँदै अन्य नदी र माछा पालन गरेको पोखरी सम्म पुग्ने सम्भावना रहेको उनको भनाई छ । यो व्यवसायिक पोखरीमा पुगे धेरै क्षति गर्न सक्छ ।

यो प्रजातीको माछा हेर्दा सुन्दर देखिने भएकाले विभिन्न देशमा धेरैले एक्वारियममा राखेका हुन्छन् । यसलाई खानको लागि लाभदायक मानिँदैन । अनुसन्धानकर्ता लिम्बु भन्छन्, ‘यसको स्वाद नहुने भएकाले मानिसले खाँदैनन् ।’

नियन्त्रण नगरे के हुन्छ ?
यो मिचाहा स्वभाव भएको माछालाई तत्कालै नियन्त्रण नगरे अनियन्त्रित भएर प्राकृतिक पारिस्थितिक प्रणालीलाई असर गर्ने विज्ञ बताउँछन् । अनुसन्धानकर्ताले आफ्नो लेखमा नै लेखेका छन्, ‘यसबारे थप अनुसन्धान गरी नियन्त्रण गर्न नीति निर्माण तह नै लाग्नुपर्ने हुन्छ ।’

यदी अनियन्त्रित भए माछा मारी जीवन चलाउनेहरूको जीवन यापन नै संकटमा पर्ने उनीहरू बताउँछन् । जसकारण देशले ठूलो आर्थिक क्षति बेहोर्नु पर्ने हुन्छ र प्राकृतिक प्रणालीलाई नै चुनौती दिन्छ ।

यसको प्रजनन् बारेमा अनुसन्धान गरेर फुलहरु नाश गरिदिएमा नियन्त्रित हुने अनुसन्धानकर्ता लिम्बू बताउँछन् । एक तथ्याङ्कअनुसार नेपालमा यो नयाँ प्रजातिसहित दुई सय ६० भन्दा बढी प्रजातिका माछा पाइन्छन् जसमध्ये १८ प्रजाति विदेशबाट भित्रिएका गैरदेशीय छन् भने १७ प्रजाति नेपालबाहेक अन्य मुलुकमा नपाइने रैथाने छन् ।
यस्तो छ अनुसन्धान रिपोर्ट

रविन भट्टराई

प्रतिक्रिया दिनुहोस

web
analytics