ताप्लेजुङको फक्ताङलुङ-२ मा पहिरो, ४ जनाको मृत्यु

सांकेतिक तस्बिर ।

ताप्लेजुङ - बिहीबार रातिको आएको पहिरोले ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका- २ खेजेनिम टिन्जामा एकै घरका चार जनाको ज्यान लिएको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायव उपरीक्षक रवि रावलका अनुसार फक्ताङलुङ गाउँपालिकाका उपाध्यक्ष रविन साम्राका बुबा, कान्छी आमा र उनीहरूका दुई सन्तानको मृत्यु भएको हो ।

मृत्यु हुनेमा वर्ष ७० का रामबहादुर साम्रा, उनका श्रीमती वर्ष ४८ का जसमाया लिम्बु, उनीहरूका दुई जुम्ल्याहा छोरीहरू वर्ष १० का गंगा र जमुनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । रातको समयमा घरमाथिबाट आएको पहिरोले घरसहित बगाएको र निद्रामा भएकाले उनीहरूले भाग्न नपाएको प्रहरीको भनाइ छ ।

सिंवा प्रहरी चौकीबाट प्रहरी टोली, फुङलिङ नगरपालिका १० मित्लुङ हाइड्रोपावरमा रहेको खटिएको नेपाली सेनाको टोलीसहित स्थानीयले पहिरोबाट शव निकालेको रावलले जानकारी दिए । घटनास्थल सदरमुकाम फुङलिङबाट पाँच घण्टाको दुरीमा रहेको छ ।

यही वडाको साबिक खेजेनिम ६ खेजेनिम मावि छेउमा गएको अर्को पहिरोले वर्ष ४० का युगेन साम्रा र उनका तीन वर्षीय छोरीलाई घाइते बनाएको नेपाल रेडक्रस सोसाइटी ताप्लेजुङले जनाएको छ । रेडक्रस सभापति इन्द्र गुरुङका अनुसार पहिरोले युगेनको घरमा क्षति पुर्‍याएको छ । यो समाचार तयार पार्दासम्म घटनास्थलमा वर्षा भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक कमल लुंगेलीको थप टोली परिचालन गरिएको रावलले जानकारी दिए । यही गाउँपालिकाको सिसेवा र सिस्ने खोलामा आएको बाढीले बिहीबार चारवटा अस्थायी पुल तथा उक्तर तर्फ जोड्ने सडक अवरुद्ध बनाएको छ । पहिरोले गत वर्ष असार २ गते सिदिङवा गाउँपालिका मेहेलेमा छ जनाको ज्यान गएको थियो ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics