५० प्रतिशत रोपाइँ मनसुनी वर्षाको भरमा

काठमाडौं– कृषि तथा पशुपक्षी मन्त्रालयका अनुसार झन्डै ५० प्रतिशत रोपाइँ मनसुनी वर्षाको भरमा हुने गरेको छ । सबै क्षेत्रमा सिँचाइको सुविधा नहुँदा किसान रोपाइँ गर्न आकाशे पानीकै भर पर्नुपरेको हो । रोपाइँ गर्न किसान कहिले आकाशे पानी पर्ला भनेर कुर्नुपर्ने अवस्था यथावत छ ।

कृषि मन्त्रालयको तथ्याङ्कअनुसार यस वर्ष अहिलेसम्म देशभर ९ दशमलव ८ प्रतिशत मात्रै धान रोपाइँ भएको छ । गत वर्ष असार १५ गतेसम्म करिब ८ दशमलव ७५ प्रतिशत मात्र धान रोपाइँ भएको थियो । कृषि मन्त्रालयका सूचना अधिकृत महानन्द जोशीले यस वर्ष मनसुन छिटो भित्रिए पनि ढिलो सक्रिय हुँदा धान रोपाइँ सन्तोषजनक नरहेको बताए ।

मन्त्रालयको तथ्याङ्कअनुसार कोशी प्रदेशमा असार १२ गते सम्ममा धान रोपाइँ ५ दशमलव ६ प्रतिशत भएको छ । सो प्रदेशमा गत वर्ष असार १० गतेसम्म ६ दशमलव ५ प्रतिशत धान रोपाइँ भएको थियो । पूर्वी क्षेत्रमा ढिलो गरी धान रोप्ने गरिन्छ । मधेस प्रदेशमा भने गत वर्ष र यस वर्ष बराबर नै रोपाइँ भएको पाइएको छ । सो प्रदेशमा यस वर्ष २ दशमलव ५ प्रतिशत मात्रै धान रोपाइँ भएको तथ्याङ्क छ । गत वर्ष सोही अवधिमा २ दशमलव ५ प्रतिशत नै रोपाइँ भएको थियो ।

यसैगरी बागमती प्रदेशमा यस वर्ष ५ प्रतिशत मात्रै रोपाइँ भएको छ । गत वर्ष सो प्रदेशमा १८ दशमलव ३ प्रतिशत रोपाइँ भएको थियो । गण्डकी प्रदेशमा गत वर्ष यही समयमा ६ दशमलव ९ प्रतिशत रोपाइँ भएकामा यस वर्ष ८ दशमलव ३ प्रतिशत रोपाइँ भएको छ ।

यसैगरी लुम्बिनी प्रदेशमा यस वर्ष अघिल्लो वर्षको तुलनामा कम रोपाइँ भएको छ । गत वर्ष लुम्बिनी प्रदेशमा १० दशमलव ९ प्रतिशत रोपाइँ भएकामा यस वर्ष ८ दशमलव ८ प्रतिशत रोपाइँ भएको छ ।

कर्णाली प्रदेशमा गत वर्ष २२ दशमलव ६ प्रतिशत रोपाइँ भएकामा यस वर्ष २३ दशमलव ९ प्रशित रोपाइँ भएको छ ।

सुदूरपश्चिममा गत वर्ष २२ दशमलव ६ प्रतिशत रोपाइँ भएकामा यस वर्ष हालसम्म २५ प्रतिशत रोपाइँ भएको छ । सुदूरपश्चिममा अन्य प्रदेशभन्दा चाँडो रोपाइँ सुरु हुने भएकाले अन्य प्रदेशको तुलनामा बढी रोपाइँ भएको सूचना अधिकृत जोशीको भनाइ छ ।

सूचना अधिकृत जोशीका अनुसार साउन महिनाको अन्तिमसम्म ९० प्रतिशत रोपाइँ सम्पन्न हुने प्रक्षेपण गरिएको छ । मन्त्रालयका अनुसार आर्थिक वर्ष २०८०–८१ को जेठ मसान्तसम्ममा ८८ करोड ६५ लाख बराबरको धानको बीउ आयात गरिएको छ । सो अवधिमा करिब ११ अर्ब ५५ करोडको धान आयात गरिएको छ । सो अवधिमा आठ अर्ब ६९ करोड बराबरको चामल तथा नौ लाख २० हजार मूल्य बराबरको कनिका आयात भएको छ ।

जलस्रोत तथा सिँचाइ विभागको तथ्याङ्कअनुसार करिब २५ लाख ३० हजार हेक्टर सिँचाइ योग्य जमिनमध्ये हालसम्म करिब १५ लाख हेक्टर जमिनमा सिँचाइ सुविधा उपलब्ध गराउने गरी सिँचाइको संरचना निर्माण गरिएको छ । तर करिब एक तिहाइ भूमिमा मात्र वर्षभरि सिँचाइ सुविधा उपलब्ध हुन सकेको विभागद्वारा २०८० चैतमा प्रकाशित ‘जलस्रोत तथा सिँचाइ वार्षिक पुस्तिका’मा उल्लेख छ ।

धान उत्पादनको अवस्था
कृषि मन्त्रालयको तथ्याङ्क अनुसार चालु आवमा धानको कूल उत्पादन गत आवभन्दा ४ दशमलव ३३ प्रतिशतले वृद्धि भई ५७ लाख २४ हजार दुई सय ३४ मेट्रिक टन पुगेको छ । जुन विगत चार वर्षको औसत उत्पादनको तुलनामा ५ दशमलव ०८ प्रतिशतले बढी हो ।

कूल धानबाली भित्र्याइएको क्षेत्रफल गत आवको तुलनामा शून्य दशमलव ६१ अर्थात् आठ हजार आठ सय हेक्टरले कमी भई १४ लाख ३८ हजार नौ सय ८९ हेक्टर कायम हुन पुगेको छ । यो क्षेत्रफल गत चार आवको औसत क्षेत्रफलको तुलनामा एक दशमलव ७३ प्रतिशतले कम हो । धानबालीको औसत उत्पादकत्व गत आवको तुलनामा ४ दशमलव ९७ प्रतिशतले वृद्धि भई ३ दशमलव ९८ मेट्रिक टन प्रतिहेक्टर पुगेको छ ।

यो गत चार वर्षको औसत उत्पादकत्वभन्दा ६ दशमलव ९२ प्रतिशतले बढी हो ।

चालु आवमा धानको उत्पादन कोशी प्रदेशमा बढी रहेको छ भने कर्णाली प्रदेशमा न्यून छ । चालु आवमा उत्पादकत्वतर्फ कोशी प्रदेश ४ दशमलव ४३ मेट्रिक टन प्रतिहेक्टरसहित अग्र स्थानमा रहन गयो भने मधेस प्रदेश ३ दशमलव ४९ मेट्रिक टन प्रतिहेक्टरमा सीमित भई न्यून स्थानमा रहन पुग्यो ।

गत आवको तुलनामा उत्पादन र उत्पादकत्व वृद्धिका हिसाबले लुम्बिनी प्रदेश अग्रस्थानमा छ । मधेस प्रदेश ऋणात्मक अवस्थामा छ ।

चालु आवमा धान उत्पादन वृद्धि हुनुमा बीउको सहजै उपलब्धता र रोग किराको प्रकोपमा कमी, बाढीपहिरोबाट धान बालीमा पर्न जाने नकारात्मक असरमा कमी, मलखादको उपलब्धतामा आएको सुधार, कृषि औजार र प्रविधिको प्रयोग तथा मौसमी अनुकूलतालाई लिइएको छ ।

मधेस प्रदेशका केही जिल्लामा धान रोप्ने समयमा पर्याप्त वर्षा नभएकाले अरु प्रदेशको तुलनामा उत्पादन र उत्पादकत्वमा ह्रास आएको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics