तुलसी एक, महत्त्व अनेक

काठमाडौं – तुलसी संसारका प्राय सबै ठाउँमा पाइने वनस्पति हो । यो हिन्दुहरूको अत्यन्त पुजनीय एवम् उपयोगी वनस्पति मानिन्छ । तुलसीलाई आदिमकालदेखि हिन्दु धर्म र संस्कृतिमा महत्त्वपूर्ण वनस्पतिको रूपमा मानिएको छ ।

नेपाल, भारत, भुटान, बंगलादेश, म्यान्मार, थाइल्यान्ड लगायतका देशका हिन्दुका हरेक घरघरमा तुलसीको मठ ९ तुलसी रोप्न बनाइएको विशेष ठाउँ बनाएर तुलसी लगाउने गरिन्छ । हिन्दु धर्ममा तुलसीको विषेश धार्मिक महत्त्व छ । धार्मिक पुस्तक कै अभिन्न अङ्ग आयुर्वेद शास्त्रमा पनि तुलसीलाई महत्त्वपूर्ण आयुर्वेदिक वनस्पतिको रूपमा वर्णन गरिएको छ ।

धर्मशास्त्रमा तुलसीलाई ज्ञान, वैराग्य र भक्तिको प्रतीकको रूपमा अथ्र्याइएको छ । तुलसीलाई ज्ञानको प्रतीक राम, बैराग्यको प्रतीक लक्ष्मण र भक्तिको प्रतीक सीता भनेर अथ्र्याइएको छ । यसरी तुलसी शब्दको हरेक अक्षरको अर्थलाई विश्लेषण गर्दा तुलसी शब्दको अर्थ ज्ञान, वैराग्य र भक्ति एवम् भक्तिको प्रतीक मानव जीवन रहेको प्रतीत हुन्छ ।

पुराणहरूमा तुलसीको विभिन्न नाम उल्लेख भएको पाइन्छ । ब्रह्‍मावर्त पुराणमा तुलसीको आठ नाम उल्लेख छ । ती नामहरू हुन् वृन्दा, वृन्दावन, विश्वपुजिता, विश्वपावनी, पुष्पसरा, नन्दिनी, तुलसी र कृष्णजीवनी । पुराणमा प्रत्येक नामको फरकफरक अर्थ पनि उल्लेख गरिएको छ । विश्वमा तुलसीको ५ प्रजाती रहेको उल्लेख पाइन्छ (श्याम (कृष्ण) तुलसी, राम तुलसी, बिष्णु (श्वेत) तुलसी, वन तुलसी र निबु तुलसी ।

धार्मिक शास्त्रमा तुलसीका ५ प्र्कार उल्लेख गरिएको भए पनि भारतीय विद्वानहरूले बिमला तुलसीको पनि उल्लेख गरेका छन् । हिन्दुहरूको घरघरमा लगाइने तुलसी श्याम (कृष्ण) तुलसी र राम तुलसी हुन् । श्याम (कृष्ण) तुलसीको पात र डाँठ कालोकालो रंगको हुन्छ भने राम तुलसीको पात र डाँठ हरियो हुन्छ ।

धार्मिक महत्त्व
हिन्दु धर्मशास्त्र अनुसार तुलसीलाई जीवन रक्षक वनस्पति मानिन्छ । हिन्दु धर्मशास्त्रमा तुलसीलाई जगत सृष्टिकर्ता भगवान बिष्णुको अवतार वा प्रतिरूप मानिन्छ । तुलसीलाई भगवान बिष्णुकी प्रीया एवम साक्षात भगवती लक्ष्मीको रूप र लक्ष्मी कै अवतार बृन्दाको रूपमा समेत वर्णन गरेको पाइन्छ । हिन्दु समाजमा युगौयुगदेखि तुलसीको महत्व रहेको पाइन्छ । सत्य युगदेखि नै मानव जीवनको अभिन्न धार्मिक अंगका रूपमा तुलसीको महत्व कायम रहेको पाइन्छ ।

हिन्दु धर्मशास्त्रमा भगवान बिष्णु तुलसीको रूपमा हरेक घरघरमा स्थापित भएर बिराजमान हुने बिश्वास गरिन्छ । सत्य युगदेखि नै मानव जीवनको अभिन्न अंगका रूपमा तुलसीलाई मान्दै आइएको छ । त्रेता युगमा तुलसीलाई रामका नामले ज्ञानको प्रतिक मानिने र भक्तिको रूपमा रामले सीताको अभाबमा आफ्नो आँसुले तुलसीलाई सेचन गर्नुभयो भन्ने भनाई पाइन्छ ।

द्वापर युगमा तुलसी सत्यभामाको जीवन संगिनी बनेकी र कृष्णप्रीया समेत भइ गोलोक धाममा राधिकाका नामले प्रख्यात भएकी भन्ने उल्लेख पाइन्छ । महाभारतमा उल्लेखित भगवान कृष्णको क्रिडास्थल बृन्दावन पुरै तुलसीले ढाकिएको पाइन्छ । हिन्दु धर्माबलम्बीहरू घरमा तुलसीको मठ बनाएर तुलसी रोप्दछन् ।

तुलसी रोप्ने पनि बिधान र समय हुन्छ । जेष्ठ कृष्णपक्षको एकादशीमा तुलसीको बीउ रोप्ने, जेष्ठ शुक्लपक्षको एकादशीमा तुलसी सार्ने र असार शुक्लपक्षको एकादशी अर्थात हरिशयनी एकादशीका दिन तुलसीको मठमा तुलसी सारेर पुजाअर्चना गर्ने गरिन्छ।  यही मठमा सारेको तुलसीलाई हरेक दिन बिहान बेलुका पुजा गर्ने र मठमा दियो बल्ने गरिन्छ । दैनिक पुजा गर्न नसक्ने, नभियाउने र नगर्ने हरूले पनि एकादशी, कृष्णाष्टमी जस्ता पर्बमा पुजा गर्ने गर्दछन् ।

हिन्दुहरूले घरघरमा धार्मिक महत्त्वका साथ रोप्ने तुलसी चाहिँ राम तुलसी र कृष्ण तुलसी हुन् । समाजमा यी दुबैको समान महत्त्व छ । समाजमा राम भक्तहरूले राम तुलसी र कृष्ण भक्तहरूले कृष्ण तुलसीलाई थप महत्त्व दिएको पनि पाइन्छ ।

आयुर्वेदिक महत्त्व
तुलसीको प्रयोगले ८९ प्रकारका रोग सन्चो हुने कुरा आयुर्वेदमा उल्लेख छ । रुघाखोकी लागेमा तुलसीको पात पानीमा उमालेर पिउने चलन धेरै नेपालीको घरमा छ । झाडापखाला लागेमा, आउँ परेमा, रगतमासी परेमा, अल्काइ भएमा, बालतोड घाउ भएमा, घाँटी बसेमा, अजिर्ण अथवा खाना अपच भएमा, अरुचि भएमा पनि तुलसीको प्रयोग उपयोगी मानिन्छ ।

छाला रोगमा तुलसीको प्रयोग अचुक औषधि मानिन्छ । हालै गरिएको एक अध्ययनले मुटु रोग र मृगौला रोगलाई पनि तुलसीको प्रयोग उपयोगी भएको पाइएको छ । भारतीय वैज्ञानिकहरूले हालै गरेको अनुसन्धानले तुलसीको प्रयोगले क्यान्सरसंग लाड्ने क्षमता वृद्धि भएको प्रमाणित गरेका छन् ।

हिजोआज तुलसीको चिया पिउने र विभिन्न साबुन, स्याम्पुहरू तुलसीबाट बनाउने र प्रयोग गर्ने चलन बढेको छ । तुलसीको व्यावसायिक खेती गर्ने चलन पनि बढ्दै छ ।

बैज्ञानिक र वातावरणीय महत्त्व
संसारका धेरै अनुसन्धानले धेरै अक्सिजन उत्सर्जन गर्ने बिरुवाहरू मध्ये तुलसी पनि एक भएको प्रमाणित गरेका छन् । तुलसीको वरपर यसको परिधिभित्र कुनै किटाणु टिक्न सक्दैनन् । तुलसीको पात खानामा मिसाउँदा खाना बिष मुक्त हुने र खाना चाँडै नसड्ने बिश्वास गरिन्छ । विभिन्न खोजहरूले तुलसीको वरपर सकारात्मक उर्जा प्रबाह हुने प्रमाणित गरेका छन् । तुलसीमा एण्टिवायोटिक, एण्टिफङगल र एण्टिब्याक्टेरियल गुण पाइन्छ । यसले मानव शरीरमा संक्रमणसंग लड्न मद्दत गर्छ ।

तुलसीको पात नियमित सेवन गर्नाले शरीरमा उर्जा प्रबाह नियन्त्रण हुनुका साथै आयु बढ्ने विश्वास गरिन्छ । तुलसीले वरपरको वातावरण शुद्धीकरणमा समेत सहयोग गर्दछ ।

यसरी हेर्दा तुलसी मानव जातिका लागी एक उपयोगी बनस्पति प्रमाणित हुन्छ । तुलसीको उपयोगिताका बारेमा धेरै अध्ययन अनुसन्धान भएका छन र अझै धेरै हुन बाँकी छन् । अनुसन्धानबाट प्रमाणित भएका कुराहरूको मानव जीवनमा प्रयोग हुनु पनि आवश्यक छ ।

तुलसीको बीजारोपणदेखि विवाह संस्कारसम्म उत्सवका रूपमा धुमधामले मनाउने हामीले अब तुलसी र यसको उपयोगितालाई वैज्ञानिक दृष्टिले हेर्ने दिन पनि आएकोछ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics