कञ्चनजङ्घा क्षेत्रमा हिउँचितुवाको आक्रमण बढ्दो, याक र चौंरी निसाना
- रासस
फुङ्लिङ(ताप्लेजुङ) - जिल्लामा हिउँचितुवाले चौँरी तथा याकलाई आक्रमण गर्नेक्रम बढ्दै गएको छ । गत वर्ष आर्थिक वर्ष २०८०र ८१ मा कञ्चनजङ्घा संरक्षण क्षेत्रबाट निस्केका चितुवाले किसानले गोठमा पालेका १६ याक मारिदिएको थियो ।
कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को कार्यालयका अनुसार फक्ताङलुङ गाउँपालिका–७ याङ्माका आङ्मु शेर्पा, गोम्बो शेर्पा, नाम्ग्या शेर्पा, छिरिङ शेर्पा, झम्जुक शेर्पा, छिमिदोर्जे शेर्पा, छेतेन टासी शेर्पा, भोमो शेर्पा र तेन्जिङ शेर्पाले पालेको याक हिउँचितुवाले आक्रमण गरी क्षति पुर्याएको हो । उच्च हिमाली क्षेत्रका किसानको मुख्य आम्दानीको स्रोतका रूपमा रहेका याक पालन नै रहेको छ ।
कार्यालयका सचिव मनकुमार लिम्बूले हिउँचितुवाबाट आक्रमण भई क्षति भएका याकको प्राविधिक अध्ययनपछि किसानलाई रु ४० हजारदेखि रु एक लाख २० हजार क्षतिपूर्ति तथा राहत उपलब्ध गराएको बताए ।
उनका अनुसार आव २०८०/८१ मा कञ्चनजङ्घा संरक्षण क्षेत्रका किसानले गोठमा पालेको १६ याक हिउँचितुवाले मारेको छ । परिषद्ले ती याकको क्षतिपूर्ति तथा राहतका लागि रु पाँच लाख पाँच हजार किसानलाई उपलब्ध गराएको थियो ।
त्यस्तै कञ्चजङ्घा संरक्षण क्षेत्रअन्तर्गत सिरिजङ्गा गाउँपालिका–८ याम्फुदिन क्षेत्रमा चितुवाको आक्रमणबाट दुई–दुई गोरु र फक्ताङलुङ–५ को हिमाली क्षेत्रमा चार वटा बाख्रा आक्रमणबाट क्षति भएको परिषद्ले जनाएको छ । परिषद्का अनुसार दुई वटा गोरु चितुवाले क्षति गरेबापत रु ५० हजार र चार वटा बाख्रा क्षति गरेबापत रु ३० हजार राहत उपलब्ध गराएको छ ।
त्यस्तै सिरिजङ्घा–८ का मोहन राईको याक भालुले आक्रमण गरी खाइदिएको छ । याकपालक राईलाई परिषद् कार्यालयले रु ४५ हजार राहत उपलब्ध गराएको छ । विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) नेपालले गरेको अध्ययनअनुसार सन् २०१५ मा कञ्चनजङ्घा क्षेत्रमा २४ हिउँचितुवा पाइएको छ । यसपछि हिउँचितुवाको गणना भएको छैन ।
प्रतिक्रिया दिनुहोस