केरला पहिरो : मृतकको संख्या १२३ पुग्यो

काठमाडाैं - भारतको केरला प्रदेशस्थित वायनाड जिल्लामा भारी वर्षापछि आएको पहिरोमा परी मृत्यु हुनेको संख्या १२३ पुगेको छ । ९० जना हराइरहेका छन् । १३१ जना घाइतेको उपचार जारी छ । यसअघि त्यहाँका मुख्यमन्त्री पिनरई विजयनले ९३ जनाको मृत्यु भएको जानकारी दिएका थिए । तर बीबीसी हिन्दीले मुख्यमन्त्री कार्यालयकै एक कर्मचारीलाई उद्धृत गर्दै मृतकको संख्या १२३ पुगेको लेखेको छ ।

केरलाकी स्वास्थ्यमन्त्री विना जोर्जका अनुसार मंगलबार बिहान २-३ बजेतिर यो घटना भएको हो । पहिरोमा परी कयौं घर, पसल र गाडीहरु पुरिएका थिए । कतिपय मानिसहरु वायनाड क्षेत्र भएर बग्ने चलियार नदीमा बगेका थिए । अधिकारीहरुका अनुसार वायनाडका गाउँ बाढीपहिरोबाट तहसनहस भएका छन् । मुण्डाक्कई क्षेत्रलाई आसपासका अरु क्षेत्रसँग जोड्ने एकमात्र पुल भत्किएपछि उद्धार कार्यमा समस्या परेको छ । सो क्षेत्रमा अस्थायी पुल निर्माणका लागि सहयोग गर्न मुख्यमन्त्रीले पिनरई विजयनले आह्वान गरेका छन् ।

यद्यपि आपदा मोचन बलको टोली डोरीको सहायताले मुण्डाक्कईमा पुगेर एकै स्थानबाट ३० भन्दा बढी शवहरु संकलन गरेको थियो । खोज तथा उद्धार कार्य जारी रहेकाले मृतकको संख्या अझै बढ्नसक्ने अधिकारीहरुले बताएका छन् ।

केरलाका कृषि फर्महरुमा नेपालीहरुले पनि काम गर्दछन् । तर यो बाढीपहिरोमा नेपालीहरु परे/नपरेको अझै स्पष्ट हुन सकेको छैन । खोज तथा उद्धारमा सेना, नौसेना, वायु सेना, आपदा मोचन बल सहितका उद्धारकर्मीहरु परिचालन गरिएको छ । उद्धार टोलीले २५० भन्दा बढीलाई जोगाएको बताइएको छ ।

राष्ट्रपति द्रौपदी मुर्मू, प्रधानमन्त्री नरेन्द्र मोदी, कांग्रेस आई अध्यक्ष एवम् वायनाडका सांसद राहुल गान्धी लगायतले घटनाप्रति दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्री कार्यालयले मृतकका परिवारलाई २ लाख रुपैयाँ र घाइतेहरुलाई ५० हजार रुपैयाँको दरले राहत दिने जनाएको छ ।

केही दिनदेखि नै केरलाका विभिन्न स्थानमा भारी वर्षा हुँदै आएको थियो । आपदा प्रबन्धन विभागले ३० जुलाईको दिन वायनाड, कोझीकोड, मल्लापुरम, कन्नुर लगायतका क्षेत्रमा खतराको संकेत स्वरुप रेड अलर्ट जारी गरेको थियो । मौसम विभागका अनुसार ती क्षेत्रमा २४ घण्टाको अवधिमा २०४ मिलिमिटर वर्षा रेकर्ड भएको छ । भारतको केरला पहाडी इलाका हो । यहाँ ठूलो संख्यामा पर्यटकहरु पुग्ने गर्दछन् । सन् २०१८ मा केरलामा आएको बाढीपहिरोमा ५०० जनाको मृत्यु भएको थियो ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics