सोलुखुम्बुको थामेमा भीषण बाढी, दूधकोशीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन अनुरोध

सोलुखुम्बु - सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ स्थित थामे गाउँभन्दा माथिबाट आज दिउँसो भीषण बाढी आएको छ । भीषण बाढीले थामे गाउँका एक होटल र दुई घर बगाएको बताइएको छ । खुम्बु पासाङल्हामु गाउँपालिकाका अध्यक्ष मिङ्मा शेर्पाले सो जानकारी दिँदै थामे क्षेत्रमा पर्ने हिमपोखरी फुटेको अनुमान गरे। थामे गाउँमा बाढीले क्षति पु-याएको र दुधकोशी नदीमा पानीको प्रवाह वृद्धि भएको प्रमुख जिल्ला अधिकारी देवी पाण्डेले जानकारी दिए । उनले दूधकोशी नदीमा बाढी आइरहेकाले सचेत रहन तटीयक्षेत्रका स्थानीय बासिन्दालाई सचेत गराइएको बताए ।

प्रजिअ पाण्डेका अनुसार नाम्चेबाट सुरक्षाकर्मी थामेतर्फ पठाइसकिएको छ । नाम्चेदेखि थामे पैदल हिँडेर पुग्न पाँच घण्टा लाग्ने नाम्चेका स्थानीय लामाकाजी शेर्पाले बताए । स्थानीयले टासीलाप्चा आधारशिविरमा रहेका हिमपोखरी फुटेको अनुमान गरेका छन् । क्षतिको यकीन विवरण आउन भने समय लाग्ने स्थानीय प्रशासन र प्रहरीले जनाएको छ ।

जल तथा मौसम विज्ञान विभागले एक सूचना प्रकाशित गरी सोलुखुम्बु जिल्ला खुम्बु पासाङ्ल्हामु गाउँपालिका वडा नं. ५ थामे आसपास ठुलो बाढी आएको जानकारी स्थानीयबाट प्राप्त भएकाले सोलुखुम्बुको जोरसल्लेदेखि तल दूधकोशीको तटीय क्षेत्रमा हुनेहरुले अर्को सूचना नभएसम्म उच्च सतर्कता साथ सुरक्षित रहन अनुरोध गरेको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics