तापक्रम वृद्धिले सोलुखुम्बुमा हिमताल विस्फोट भएको हुनसक्छ : मौसम विज्ञान विभाग

काठमाडौं - सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामेमा आएको बाढीबारे जल तथा मौसम विज्ञान विभागले प्रारम्भिक धारणा सार्वजनिक गरेको छ ।

विभागको बाढी पूर्वानुमान महाशाखाले शुक्रबार राति एक विज्ञप्ति जारी गर्दै निरन्तर वर्षा र तापक्रम वृद्धिले सो क्षेत्रमा हिमपहिरो गएको कारण वा अन्य कुनै कारणले थामे खोला जलाधारमा रहेका विभिन्न हिमतालहरू मध्य कुनै हिमताल विस्फोट भएको हुन सक्ने जनाएको छ ।

शुक्रबार दिउँसो करिब १ः३० बजे थामेखोलामा एक्कासी बाढी आएको घट्नाको प्रारम्भिक अध्ययन गर्दा थामे खोला जलाधारको माथिल्लो तटीय क्षेत्रमा साना ठुला गरी ६ वटा हिमताल तथा हिमपोखरीहरू रहेको विज्ञप्तिमा उल्लेख छ । यस्तै उक्त क्षेत्रको नजिक रहेको फोर्त्से केन्द्रमा विगत ७ दिनमा कुल ६५ मि.मि. वर्षा मापन भएको र साउन २५ गतेदेखि दैनिक औसत तापक्रममा क्रमिक वृद्धि भएको पाइएको विज्ञप्तिमा उल्लेख छ । तापक्रम बढ्दै जाँदा साउन ३१ गतेको अधिकतम तापक्रम १५.९ डिग्री सेल्सियस पुगेको विभागको भनाइ छ ।

‘अतः माथि उल्लेख भएबमोजिमका विभिन्न प्रारम्भिक जानकारीबाट निरन्तर वर्षा र तापक्रम वृद्धिले सो क्षेत्रमा हिमपहिरो गएको कारण वा अन्य कुनै कारणले थामे खोला जलाधारमा रहेका विभिन्न हिमतालहरू मध्य कुनै हिमताल विस्फोट भएको हुन सक्ने देखिन्छ’, विज्ञप्तिमा भनिएको छ ।

सो बाढीको कारण जल तथा मौसम विज्ञान विभागको दुधकोशी र बुवाबजार बाढी मापन केन्द्र, खोटाङमा जलसतह आज साँझ ५ः१० बजे ४.२९ मिटरबाट ३० मिनेटमा एक्कासी करिब १.२० मिटर बढी साँझ ५ः४० बजे ५.५३ मिटर पुगेको थियो । तर, सो समय पश्चात बिस्तारै बाढीको सतह घट्न थालेकोले रबुवाबजार भन्दा तल्लो तटीय क्षेत्रमा तत्काल ठुलो जोखिम नहुने देखिएपनि दुधकोशीको नदीतटीय क्षेत्रमा भोलि बिहानसम्म सतर्कता अपनाउन विभागले आग्रह गरेको छ । यस घटनाको सम्बन्धमा विभागले थप अध्ययन गर्ने पनि जनाएको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics