हिमबाढी : विज्ञसहितको टोलीले आज अध्ययन गर्दै
- नेचर खबर
काठमाडौं – शुक्रबार दिउँसो अचानक थामे खोलामा आएको बाढीका कारण सोलुखुम्बुको थामेमा भएको क्षतिका विषयमा विज्ञसहितको टोलीले आज घटनास्थल पुगेर अध्ययन गर्दैछ ।
राष्ट्रिय विपद् व्यवस्थापन तथा न्यूनिकरण व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिल पोखरेलसहित विज्ञहरूको टोली अध्ययनमा सहभागी रहने बताइएको छ ।
टोलीले शुक्रबारै त्यसतर्फ जाने प्रयास गरेको थियो । तर, मौसमका कारण नेपाली सेनाको हेलिकोप्टर त्यसतर्फ जान नसकेको सैनिक प्रवक्ता गौरवकुमार केसीले जानकारी दिए ।
उनका अनुसार, शनिबार बिहान टोली लिएर सैनिक हेलिकोप्टर त्यसतर्फ जानेछ । रक्षा मन्त्रालय स्रोतका अनुसार, सम्भवतः रक्षामन्त्री मानवीर राई समेत त्यसतर्फ जानेछन् ।
बाढी आएको स्थानतर्फ जाने विज्ञसहितको टोलीले भने बाढीको स्रोत पत्ता लगाउने प्रयास गर्ने प्राधिकरण स्रोतले जनाएको छ । ‘हिमपहिरो हो वा अन्य कुनै कारणले आएको हो भन्ने कुरा निर्क्यौल गर्न टोली जान लागेको हो’, प्राधिकरणका एक अधिकारीले भने ।
एक अध्ययनले नेपालका हिमताल उच्च खोजिममा रहेको यस अघिनै बताईसकेको छ । जलवायु परिवर्तनका कारण हिमालमा हिउँ पग्लने क्रम तिब्र भएको र त्यसै क्षेत्रमा बढी पानी पर्न थालेपछि हिमताल भरिएर फुट्ने जोखिममा रहेको बताइन्छ । त्यसैले अब हिमाली क्षेत्रका नागरिक र नदी किनारका नागरिकले सुरक्षित भएर बस्नुपर्ने अवस्था आएको छ ।
शुत्रबार दोलखा र सोलुखुम्बुको सिमाना भई बग्ने थामे खोलाको सिरदेखि नै एक्कासी पानीको बहाव बढ्दा थामेका १२ घरसहितका होटल, विद्यालय र क्लिनिक बगाएको छ, पुरेको थियो । जोखिममा रहेका ६ जनाको उद्धार गरिएको छ । स्थानीय समिर खालिङ राईले फेसबुकमा हालेको भिडियोमा हिमालको ताल वा पोखरी फुटेर खोलामा लेदोसहीत मिसिएको देखिन्छ । उनले भिडियोमा धन्न बाँचियो भनेका छन् ।
प्रतिक्रिया दिनुहोस