अलैंची र सुन्तला उत्पादन बढाउन सुपरजोन कार्यक्रम
- नेचर खबर
सङ्खुवासभा – कृषिमा आधुनिक प्रविधि भित्राएर आत्मनिर्भरता बनाउने उद्देश्यले छ वर्षयता कृषि परियोजना सञ्चालनमा ल्याइएको छ । सङ्खुवासभा र भोजपुर दुई जिल्ला समेटेर अलैँची र सुन्तलालाई सुपर जोन क्षेत्र बनाइ कार्यान्वयन गरिएको हो ।
उक्त परियोजनाअन्तर्गत सङ्खुवासभाका १० र भोजपुरका छ स्थानीय तहमा कार्यक्रम लागु गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकारण परियोजना कार्यान्वयन एकाइ सङ्खुवासभाका प्रमुख नवराज गुरुङले जानकारी दिए । अलैँची सुपर जोनतर्फ २३ सय १३ हेक्टरमा र सुन्तला सुपर जोनतर्फ छ सय ८७ हेक्टरमा कार्यक्रम लागू गरिएको उनले बताए।
सुपर जोन क्षेत्रमा अलैँची र सुन्तला उत्पादन बढाउन यो वर्ष सिँचाइ पूर्वाधार र सुधारिएको आधुनिक अलैँची भट्टी निर्माण कार्यक्रम राखिएको परियोजना एकाइ प्रमुख गुरुङले उल्लेख गरे । परियोजनाका लागि चालु आर्थिक वर्षमा पूँजीगततर्फ २० लाख र चालुतर्फ चार करोड ४७ हजार बजेट विनियोजन गरिएको उनले जानकारी दिए ।
परियोजना कार्यान्वयन एकाइ सङ्खुवासभाले चालु आवमा सिँचाइ पूर्वाधार, सुधारिएको आधुनिक भट्टी निर्माण र जडान कार्यक्रमलाई मुख्य प्राथमिकतामा राखेको एकाइ प्रमुख गुरुङले बताए । सिँचाइ पूर्वाधार निर्माण गर्न ७० लाख, सुधारिएको आधुनिक भट्टी निर्माण र जडानमा ४६ लाख, अलैँची बाली प्राथमिक प्रशोधन उद्योग स्थापना गर्न २५ लाख, सुन्तलाको भण्डारण गर्न मिनी चिस्यान केन्द्र स्थापना कार्यक्रमका लागि रु २१ लाख र सुन्तला बालीको क्षेत्र विस्तारमा रु २१ लाख विनियोजन गरिएको उनले जानकारी दिए। चालु आवमा अन्य २४ कार्यक्रमसमेत पारित भएका छन् ।
अलैँची सुपर जोन कार्यक्रम सङ्खुवासभाका १० स्थानीय तहअन्तर्गत ३२ वडा र भोजपुरका छ स्थानीय तहअन्तर्गत ३० वडामा सञ्चालन गरिएको मा छ । प्रधानमन्त्री कृषि आधुनिकीकारण परियोजना, परियोजना कार्यान्वयन एकाइले अलैँची, सुन्तला, धान, मकै, गँहु, आलु, सागसब्जी र माछालगायत कृषि क्षेत्रमा किसानलाई सहयोग पुर्याउँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस