कोशी नदीमा भेटियो लोपोन्मुख माछा, तत्काल संरक्षण नगरे लोप हुने

एमब्लिसेम्पस् अरुणाचलेन्स् वैज्ञानिक नाम

बेलबारी– कोशीमा संकटापन्न सूचीमा रहेको माछाको एक प्रजाति भेटिएको छ । कोशी नदीमा भेटिएको र आसपासका नदीमा पाइन सक्ने यो माछा नेपालका लागि नयाँ प्रजाति भएको पनि जनाइएको छ । क्याटफिस समूहमा पर्ने एमब्लिसेम्पस् अरुणाचलेन्स् वैज्ञानिक नाम रहेको सो माछालाई विश्व संरक्षण सङ्घ (आयुसिएन) ले पृथ्वीबाटै संकटापन्नको सूचीमा राखेको छ । जसको तत्काल संरक्षण नगरे लोप हुने उल्लेख गरिएको छ ।


अनुसन्धानकर्ताका अनुसार भारतमा मात्र पाइने विश्वास गरिएको अरुणाचलेन्स् माछा नेपालमा भेटिएको हो । अनुसन्धानकर्ता जसहाङ लिम्बू, दीपक राजवंशी, लक्ष्मण खनाल, रामचन्द्र अधिकारी, सुनिता थापालगायतले उक्त माछा नेपालमा भेटिएको पुष्टि गरे । पाँच जनानेपाली र तीन चिनियाँ अनुसन्धानकर्ताहरु वाङ हुई, जिनक्वान याङ र चेनहोङ् लीको नामबाट ‘जर्नल अफ एप्लाइड इक्थियोलोजी’ नामक विज्ञान पत्रिकाको सन् २०२४, अगष्टमा सोसम्बन्धी लेख प्रकाशित छ ।


अनुसन्धानकर्ता जसहाङ लिम्बू भने, ‘माछाको सर्वेक्षण गर्ने क्रममा सन् २०१९ देखि २०२३ सम्म पूर्वी नेपालका मुख्य नदीबाट नमूना संकलन गरेका थियौँ । सोही क्रममा उक्त माछा कोशी ब्यारेज क्षेत्रमा विस्तारै बगिरहेको पानीमा भेटिएको थियो । यसको बाहिरी तथा आणविक बनावटका साथै वंशवृक्षको अध्ययनबाट यो नेपालको लागि नयाँ र विश्वबाटै लोप हुन लागेको प्रजाति रहेछ पाइएको छ ।’

उनीहरुले अध्ययनका लागि तमोर र कोशीदेखि पूर्वका स्थायी प्रकृतिका सबैजसो नदीमा कम्तीमा ४५ स्थानबाट सात सय वटा नमूना संकलन गरिएको जानकारी दिए। उक्त नमूनामध्ये एउटा संकटापन्न प्रजातिको माछा भेटिएको हो । अनुसन्धानकर्ता रामचन्द्र अधिकारीले २९ वटा प्रजातिको पञ्जीकरण गरिएको र एउटा प्रजाति नेपालका लागि नयाँ भएको पाइएको बताए ।


नेपालका लागि नयाँ भनिएको अर्को प्रजातिको वैज्ञानिक नाम इरेथिस्टेस सिकुलाहो । यो पनि कोशी नदी र मोरङको लोहन्द्रा नदीमा पाइएको थियो । यो माछा नदीको तीव्र गतिमा बग्ने भागमा पाइएको उनले बताए । उक्त सिकुला माछालाई पनि आइयुसिएनले ‘तथ्यांक अभाव’ भएको सूचीमा राखेको छ । यी दुवै माछा कोशी नदीमा प्रशस्त पाइने र स्थानीय व्यवसायीले दोहन गरिरहेको अवस्था रहेको उनले बताए।


अनुसन्धानकर्ता अधिकारीका अनुसार लोपोन्मुख प्रजाति नेपालमा प्रशस्त सङ्ख्यामा पाइनु खुसीको कुरा भएको बताए। उनका अनुसार एमब्लिसेप्स जातिका तीन प्रजाति मङ्गोइज, अरुणाचलेन्स् र वाइखोमी नेपालमा पाइने पुष्टि भएको छ । अरुणाचलेन्सलाई पहिला मङगोइज हो भनेर विश्वास गरिएको थियो ।


एक दशक अघि नेपालमा पाइने भनेर लेखिएका प्र्रजातिको पहिचानमा त्रुटि भेटिएकाले अहिले डिएनए बारकोडिङबाट यथार्थता पहिचान गर्ने प्रयास गरिएको लिम्बूको भनाइ छ । खोजकर्ताको उक्त टोलीले दुई वर्षमा माछाका यी दुईसहित छ वटा प्रजाति नयाँ प्रजाति पत्ता लगाइसकेको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics