नागढुंगा पहिरो : सडक एकतर्फी खुल्यो

काठमाडौं - काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुंगामा खसेको पहिरो हटाएपछि अहिले एकतर्फी सवारी आवागमन खुलाइएको छ । प्रहरी वृत्त थानकोटका अनुसार साँझ ५ बजेदेखि सडक एकतर्फी खुलाइएको र अहिले काठमाडौँ आउनका लागि नागढुंगा तल्लो क्षेत्रमा जाममा रहेका सवारी साधनलाई भित्र्याउन शुरु भएको छ । सवारी साधनको लामो लाइन रहेकाले सहज हुन केही समय लाग्ने जनाइएको छ ।

वर्षा जारी रहँदा पहिरो पन्छाउने र खस्ने क्रम जारी भएकाले आज बिहान १०ः३० बजेदेखि पहिरो खसेर रोकिएको सडक खुलाउन दिनभर समय लागेको हो । जसका कारण काठमाडौँ नौबिसे खण्ड प्रभावित भएको थियो ।

प्रहरी वृत्त थानकोटका प्रमुख प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीले पानी थप परेको खण्डमा पुनः पहिरो खसेर अवरोध हुनसक्ने सम्भावना रहेको बताए। तीन वटा एक्स्काभेटरको सहयोगमा पहिरो पन्छाउने कार्य भइरहेको छ ।

“कतिबेला बन्द हुने हो भन्ने थाहा छैन, त्यसैले अहिले काठमाडौँ उपत्यकामा ‘माइकिङ’ गरेरै जानकारी दिएकाले आज सो क्षेत्रमा सकेसम्म यात्रा नगर्न भनिएको छ,” उनले भने। नागढुंगा चोकबाट केही सय मिटर पर नागमन्दिर नजिकै पहिरो खसेको हो । जसका कारण काठमाडौँ भित्रिने र बाहिरिने सबै सवारीसाधन दिनभर ठप्प रहेको छ । अहिले पानी पर्न कम भएको छ ।

नागढुंगा प्रहरीले काठमाडौँबाट जाने सवारी साधन नागढुंगामै रोकेर फर्काइरहेको छ भने आउने सवारी साधान ‘पिप्लामोड’ भन्दा तल नै रोकिएका छन् । काठमाडौँ छिर्ने मुख्य नाका नै बन्द हुँदा यात्रुहरू प्रभावित भएका छन् ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics