धुलिखेल नेपालको पहिलो ‘स्वस्थ सहर’

काभ्रेपलाञ्चोक - विश्व स्वास्थ्य सङ्गठनले काभ्रेपलाञ्चोकको पर्यटकीय नगर धुलिखेललाई ‘नेपालको पहिलो स्वस्थ सहर’ घोषणा गरेको छ । सङ्गठनले तोकेका मापदण्ड पूरा गरेको धुलिखेल एसियाको दोस्रो स्वस्थ सहर भएसँगै पाँच हजार डलर पुरस्कार प्राप्त गर्न पनि सफल भएको छ ।

सङ्गठनका प्रमुख डा सुभाजी गुडले मङ्गलबार नेपालको पहिलो स्वस्थ सहर र एसियाको दोस्रो स्वस्थ सहर भएको घोषणा गरेका हुन् । गुडद्वारा घोषणासँगै धुलिखेललाई नेपालको पहिलो स्वस्थ सहर भएकामा पाँच हजार डलर पुरस्कार घोषणा भएको थियो । एसियामा पहिलो स्वस्थ सहर भारतको पुणे नगर बन्दा र ६५ दशमलव ४८ अङ्क प्राप्त गरी धुलिखेल दोस्रो स्थानमा रहेको घोषणा भएको हो ।

एसियाको दोस्रो र नेपालको पहिलो स्वस्थ सहर घोषणा भएको तथा पाँच हजार डलर पुरस्कार प्राप्त भएको धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जूले बताए । सङ्गठनको मापदण्ड पूरा गरेर स्वास्थ्य क्षेत्रको नीतिगत सुधार, स्वास्थ्य क्षेत्रको दिगो विकास लक्ष्य, वातावरणीय सुधार, गरिब नागरिकको स्वास्थ्यमा पहुँच, दीर्घरोग र सरुवा रोग अनि सामुदायिक स्वास्थ्यमा सुधार ल्याउनुका साथै स्थानीय सरकारको प्राथमिक स्वास्थ्योपचारमा गरेको प्रगतिलाई आधार मानेर सो घोषणा गरिएको जनाइएको छ । धुलिखेल नगरले आगामी दिनमा पनि सङ्गठनमार्फत सर्ने र नसर्ने रोग, ज्येष्ठ नागरिक स्वास्थ्य, दलित र गरिब जनसमुदायको स्वास्थ्यमा दिगो विकासको स्वास्थ्य अनि सहरी स्वास्थ्य सुशासनमा काम गर्ने ब्याञ्जूले बताए ।

“यो घोषणाले सिङ्गो नेपाल र काभ्रेपलाञ्चोक जिल्लावासीका साथै धुलिखेल नगरवासी खुसी भएका छौँ, खुसीसँगै अवसर र चुनौती पनि महसुस गरेका छौँ”, ब्याञ्जूले भने । नगरले अपाङ्गता क्षेत्र, स्वच्छ खानेपानी, वातावरणीय प्रभाव न्यूनीकरण खोप, सामुदायिक स्वास्थ्य तथा डिजिटल स्वास्थ्य अभिलेख तयार गरी काम गर्दै आएको थियो ।

पर्यटकीय धुलिखेल नगर हाल ‘आरोग्य सहर’ अभियानमै छ । धुलिखेलले सहस्राब्दी दिगो विकास लक्ष्य (एसडिजी)अन्तर्गतका १७ मध्ये शिक्षा, स्वास्थ्य, गरिबी निवारण र सुरक्षित खानेपानी चार लक्ष्य पूरा गरेपछि स्वास्थ्यमा क्षेत्रमा फड्को मारेको हो । नगरले ती चार लक्ष्यको प्रतिवेदन गत अक्टोबर पहिलो साता थाइल्याण्डस्थित संयुक्त राष्ट्रसङ्घमा पेश गरेको थियो । त्यतिबेला उक्त ‘स्वेच्छिक समीक्षा प्रतिवेदन’ सार्वजनिक गर्नेमा दक्षिण एसियामै धुलिखेल पहिलो नगर भएको दाबी गरिएको थियो । नगरले हाल १२ वडामा १५ स्वास्थ्य केन्द्र स्थापना गरिसकेको छभने सबै नागरिकलाई स्वस्थ बनाई आरोग्यता प्रदान गर्न स्वास्थ्यकर्मीलाई घरदैलो पुर्याउने कामसमेत सकेको जनाएको छ ।

नागरिकको अवस्था के छ, के–कस्तो उपचार आवश्यक छ पत्ता लगाउन नगरले सर्वेक्षण गरेको हो । केन्द्रमा निःशुल्क उपलब्ध गराइने ६५ थरिका औषधि पर्याप्त बनाइएको छ । नगरले हाल ‘हाइपरटेन्सन, मधुमेह र मानसिक स्वास्थ्य’ कार्यक्रमलाई केन्द्र तथा निरन्तरका शिविरमार्फत प्राथमिकताका साथ अघि सारिएको छ ।

धुलिखेल विश्व स्मार्ट दिगो सहर सङ्गठनको सन् २०२१ देखि २०२३ सम्मको कार्यसमिति सदस्यमा निर्वाचित नगर हो । विश्वका एक सय ३६ देशका सहर सदस्य रहेको सङ्गठनको विश्व स्मार्ट दिगो सहर सङ्गठनको पाँचौँ महासभाबाट १७ सदस्यीय कार्यसमितिमा पनि धुलिखेल निर्वाचित भएको थियो ।

यस्तै धुलिखेल नगरले नगरक्षेत्रभित्र कोइला प्रयोग गर्न प्रतिबन्ध लगाएको खबर गत सन् २०२२ नोभेम्बर पहिलोसाता स्कटल्याण्डको ग्लास्गो सहरमा आयोजित जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–२६)मा चर्चाको विषय बनेको थियो । नगरले कोइलामुक्त बनाउने अभियानलाई अन्य निकाय तथा मुलुकले पनि अनुमोदन गर्न आग्रह गरिरहेको अवस्थामा उक्त सम्मेलनमा विश्वका अधिकांश राष्ट्रले कोइला प्रयोग रोक्ने घोषणा गरेका थिए ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics