तराईमा पनि कोदोको उत्पादन गर्न परीक्षण

नेपालगञ्ज - बाँकेको चिसापानीस्थित गाभर उपत्यकामा नौ प्रकारका कोदोको उत्पादन गर्न परीक्षण सुरु गरिएको छ । राष्ट्रिय जिन बैङ्कको सहकार्यमा तराईमा हुने कोदोको परीक्षण सुरु भएको सामुदायिक जिन बैङ्क कोहलपुरका संयोजक परमुल बस्नेतले जानकारी दिए । “करिब दुई कट्ठा क्षेत्रफलमा अलग–अलग प्लट बनाएर नौ जातका कोदोको परीक्षण गर्न कोदो रोपिएको छ”, संयोजक बस्नेतले भने ।

गएको साउन १६ गते कोदोको बीउ राखेर केही दिनअघि मात्रै कोदो रोपिएको हो । नौ जातका कोदो रोपिएको र सोमध्ये सबैभन्दा राम्रो कोदो किसानलाई रोप्न प्रेरित गरिने उल्लेख गर्दै उनले पूर्वी तराईका जिल्लामा सफल भएका स्थानीय जातको परीक्षण सुरु भएको बताए ।

राष्ट्रिय जिन बैङ्का प्राविधिक अधिकृत प्रदीप थापाले रैथाने बालीको संरक्षणका लागि सुक्खा ठाउँमा समेत कोदो जस्तो रैथाने बाली लगाउन मिल्ने गरी यसको परीक्षण भएको उल्लेख गरे । परीक्षण गरिएका नौमध्ये पाँच जिन बैङ्कले परीक्षणमार्फत उत्कृष्ट देखिएका, दुई वटा नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले विकास गरेका र अन्य दुई किसानका जात रहेका छन् ।

अहिले लगाएको कोदोको प्रतिफल मङ्सिरसम्म आउने बताइएको छ । विसं २०७८ मा चिसापानीको गाभरमा सरकारले पहिलो सामुदायिक जिन बैङ्क स्थापना गरेको थियो । गाभरमा कोदो उत्पादनको प्रशस्त सम्भावना रहेको घरबास सञ्चालक सङ्घका महासचिव कृष्ण चौधरीले बताए । उनले हालसम्म नार्कले तराईमा समेत लगाउन सक्ने कोदोको जातको विकास गरेको बताए ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics