पर्सामा वन्यजन्तु र मानव द्वन्द्वमा कमी आएन

वीरगञ्ज (पर्सा) - पर्साका जिराभवानी गाउँपालिका–५ का ६० वर्षीय तुलसी राउत थारूको गत भदौ ७ गते घर नजिकै जङ्गलमा घाँस काट्न जाँदा बाघको आक्रमणबाट ज्यान गयो । सो घटनाको भोलिपल्ट मात्र उनको बाघले आक्रमण गरेर क्षतविक्षत अवस्थामा रहेको शव भेटिएको थियो । थारूलाई आक्रमण गर्ने बाघ पर्सा राष्ट्रिय निकुञ्जबाट एक किलोमिटर टाढा रहेको बस्तीमा आइपुगेको थियो ।

वन्यजन्तु र मानवबीच द्वन्द्वको यो पहिलो घटना होइन । यसअघि पनि २०८१ वैशाख २९ गते पर्साको सखुवा प्रसौनी गाउँपालिका–१ औराहाका भीमबली महतो थारू आफ्नो मकैबारीमा पुगेका बेला बाघले आक्रमण गरेर गम्भीर घाइते भएका थिए ।

आक्रमण गर्नेबित्तिकै तत्कालै स्थानीयवासीको होहल्लाका कारण बाघले छाडेको थियो । सो बाघलाई स्थानीयवासीले घेराबन्दी गरेर बञ्चरो, भाला र लठ्ठीले हानेर मारेका थिए । पर्सामा पछिल्लो समय वन्यजन्तु र मानवबीच भएका द्वन्द्वका केही प्रतिनिधिमूलक घटना हुन् यी । पछिल्लो समय जिल्लामा वन्यजन्तु र मानवबीचका द्वन्द्वका घटना बढोत्तरी हुँदै आइरहेका छन् ।

डिभिजन वन कार्यालयका प्रमुख सुनिलकुमार कर्णले जिल्लामा वन्यजन्तु र मानवबीच द्वन्द्वका घटनामा वृद्धि भइरहेको बताउछन्। “पानीका स्रोत सुकेसँगै तिर्खाएका वन्यजन्तु आफ्नो प्यास मेट्नका लागि बस्तीमा आउने गर्छन् । सो क्रममा वन्यजन्तु र मानवबीच द्वन्द्व सृजना हुँदै आइरहेको छ”, उनले भने, “उमेर ढल्केका बाघहरू सिकारको खोजीमा गाउँबस्तीमा आउँदा पनि वन्यजन्तु र मानवबीचको द्वन्द्व भइरहेको छ ।” कार्यालयका अनुसार पछिल्ला वर्ष वन्यजन्तु मकै र उखुलगायत बाली खान बस्तीमा प्रवेश गर्ने गरेको भेटिएको जनाएको छ ।

प्रमुख कर्णले निकुञ्ज क्षेत्रमा रहेका वन्यजन्तुका लागि पानीका पोखरी निर्माण गर्न आवश्यक रहेको बताए । डिभिजन वन कार्यालयका अनुसार गत आर्थिक वर्षमा पर्सामा वन्यजन्तु र मानवबीच द्वन्द्व हुँदा तीनवटा बाघ मारिएको थियो । एउटा घाइते बाघको रेक्स्यू गरेर उपचार गरिएको थियो ।

विसं २०८० फागुन १६ गतेमा मनवा सबडिभिजनको जङ्गल क्षेत्रमा स्थानीयवासीलाई बाघले आक्रमण गरेपछि प्रतिकारमा सर्वसाधारणले बाघ मारिदिएका थिए । त्यस्तै २०८० को फागुन १९ गते रङ्गपुर सबडिभिजन वन कार्यालय मातहत क्षेत्रमा पर्ने जङ्गलमा पनि मानव र वन्यजन्तुबीच द्वन्द्व भएपछि सो घटनामा पनि एउटा बाघ मारिएको थियो । त्यस्तै २०८० चैत १ गते पर्साको रङ्गपुर क्षेत्रमा घाइते अवस्थामा भेटिएको बाघलाई चितवन राष्ट्रिय निकुञ्जमा पठाइएको थियो ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics