अल्लोको कपडा बुनेरै घरखर्च धानेका कुलुङ दम्पती
- नेचर खबर
चितवन - संखुवासभाका कुलुङ दम्पती यतिबेला चितवन उद्योग सङ्घको अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा सञ्चालित तिज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलामा अल्लोको कपडा बेच्नमा व्यस्त छन् । आफ्नै उद्योगमा अल्लोको धागोबाट आफैले बनाएको कोट, टोपी र झोला बेच्न उनीहरू संखुवासभाबाट चितवन आएका हुन् ।
चितवन उद्योग सङ्घ महिला उद्यमी मञ्चको निमन्त्रणा पाएपछि आफ्नो व्यवसाय प्रवर्द्धन गर्नुका साथै चितवन पनि घुम्न पाइन्छ भनेर मनकला कुलुङ र उनका श्रीमान देवेन्द्र कुलुङले यहाँ आउने निधो गरेका हुन् । मनकलाले भनिन्, ‘हाम्रो खाँदबारीमा अल्लो व्यवसायी सङ्घ छ । यहाँबाट निमन्त्रण गएको रहेछ । यसपालि हामी आउने निर्णय भयो, त्यहीअनुरुप आएका हौँ । पहिलो पटक चितवन आएर आफ्नो उत्पादन प्रदर्शन गरी बेच्न पाउँदा निकै खुसी लागेको छ ।’
सिलिचोङ गाउँपालिका पाङसिम्मा स्थायी घर भएका कुलुङ परिवारको अहिले सङ्खुवासभास्थित खाँदबारी नगरपालिका–७ नयाँबजारमा अल्लोको कपडा बनाउने उद्योग छ । मनकलाले सानै उमेरदेखि अल्लोको कपडा बुन्ने काम गर्थिन् । त्यसैको जगमा उनी आज एक व्यवसायी बन्न सफल भएकी हुन् । उनले सुनाइन्, ‘म सानो छँदा मेरो दिदीले गाउँमै अल्लोको कपडा बनाउने गर्नुहुन्थ्यो, त्यहीँ बेला दिदीसँग मैले पनि यो बुन्न सिकेकी थिएँ । पछि विवाह भयो । अनि यसैमा काम गर्न थाले ।’
पहिले मनकलाले गाउँमै रहेका साना उद्योगमा काम गर्दै आइन् । श्रीमान देवेन्द्र पनि गाउँमै जडीबुटीलगायत काम गर्थे । जब उनीहरूको सन्तानको जन्म भयो तब गाउँको कमाइले घर चल्न र बच्चा पढाउन पुग्ला जस्तो लागेन । गाउँमा बच्चा पढाउने विद्यालयको असुविधाका कारण उनीहरु सदरमुकाम खाँदबारीतर्फ लागे । सदरमुकाम आएर जेनतेन यही काम अरूको उद्योगमा गर्दै आएकी मनकलालाई आफै व्यवसायी बनेर उद्योग खोल्ने मन भयो । त्यसो त उक्त निर्णयमा उनका श्रीमानको साथ र आफन्तको सहयोग पनि रह्यो । अनि सुरु भयो, ‘हिमाली अल्लो तथा सुती कपडा उद्योग’ ।
कुलुङ दम्पतीसँग उद्योगमा सुरुमा धेरै लगानी गर्ने पैसा थिएन । सरसापट र आफूहरूसँग भएको अलिअलि गरी एक लाख जति लगानी गरेर सानो उद्योग दर्ता गरेर काम सुरु गरेको मनकला बताउँछिन् । उनी भन्छिन्, ‘कच्चा पदार्थ गाउँमै पाइन्छ । नपुग भएमा छिमेकी जिल्ला सोलुखुम्बुबाट पनि ल्याउँछौँ, अहिले व्यापार राम्रै चलेको छ ।’
अल्लो एक प्रकारको सिस्नोको प्रजाति हो । यो विशेष गरेर मंसिर र पुसमा टिप्ने गरिन्छ । सुरुमा जङ्गलमा गएर अल्लो काटिन्छ । त्यसपछि बोक्रा निकालेर सुकाउने काम हुन्छ । सुकेका बोक्रा फेरि पानीमा भिजाएर खरानीसँग पकाउने काम हुन्छ । खरानीमा पकाएको अल्लोलाई बोक्राको कालो जानेगरी धोएर कमेरो माटोमा घोलेर सुकाउने गरिन्छ । कमेरो पखालेपछि अल्लोको धागो तयार हुन्छ । धागोबाट उद्योगमा विभिन्न प्रकारका चाहेअनुसारका कपडा तयार गरिन्छ ।
कुलुङ दम्पतीलाई उत्पादन गरेका कपडाको बजार खोज्दै हिँड्न पर्देन । उद्योगबाट महिनाको २०० मिटर कपडा तयार गर्ने गरेको उनीहरुको भनाइ छ । उत्पादित अल्लोको कपडाको बजार इलाम, ताप्लेजुङ, बिराटनगर, धरान र काठमाडौँ हो । मनकलाले भनिन्, ‘फोन गरेर अर्डर गर्नुहुन्छ त्यही अनुसार हामिले कपडा पठाउँछौं बिक्री गर्नका लागि कुनै समस्या छैन ।’
कुनै बेला आफै कामदार रहेकी मनकलाको उद्योगमा अहिले चार कर्मचारी छन् । सिजनको बेलामा अन्य कामदार थप्ने गरेको उनी बताउँछिन् । अल्लोको कपडाको खास सिजन असोजदेखि वैशाखसम्म हो । आफू कामदार हुँदा र व्यवसायी हुँदा आकाश–जमिन फरक पाएको मनकलाले सुनाइन्, ‘आफ्नो काम गरेको हिसाब हुँदैन जतिबेरसम्म गरे पनि आफ्नै हो, फाइदा आफैलाई हो’, उनले भनिन् । श्रीमानकोे निरन्तर साथ र सहयोग तथा आफ्नो खटाइले आज यो स्थानसम्म आइपुगेको मनकलाले बताइन् ।
देवेन्द्रले मनकलाको सीप र जाँगरलाई आफूले हौसला थप्ने काम मात्र गरेको भन्दै सुनाए, ‘सबै योजना उनकै (मनकला) हो ।’ उद्योगबाट ठूलो सपना नबोकेका कुलुङ दम्पतीलाई यतिबेला छोराछोरीको भविष्य राम्रो बनाउने ध्याउन्न छ । उनीहरूका एक छोरी खाँदबारीमै प्राविधिक विषयमा अध्ययनरत छिन् भने छोरा विद्यालयस्तरमा अध्ययनरत छन् ।
चितवनमा लागेको मेलाको कक्षमा बस्दै गर्दा धेरै अनुभव प्राप्त गरेको कुलुङ दम्पती सुनाउँछन् । देवेन्द्रले भने, ‘धेरैलाई अल्लोको कपडा भनेको थाहा रहेनछ । आउनु हुन्छ हेर्नुहुन्छ अनि जानुहुन्छ ।’ ग्राहक आएर किने पनि नकिने पनि अल्लोको कपडाका बारेमा बुझाउन पाउँदा उनलाई खुसी लागेको उनले बताए । स्वास्थ्यका लागि लाभदायी हुने अल्लोको कपडा उद्योगलाई आगामी दिनमा थप व्यवस्थित बनाएर लैजाने कुलुङ दम्पतीको योजना छ । -रासस
प्रतिक्रिया दिनुहोस