मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, के के छन् निर्णय ?

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिकाको न्यूयोर्क जाने भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री ओलीको भ्रमण कार्यक्रम स्वीकृत गरेको हो ।

बिहीबारको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता सञ्चारमन्त्री पृथ्वीसुव्वा गुरुङले प्रधानमन्त्री ओली महाशभामा भाग लिन आगामी असोज ४ गते त्यसतर्फ प्रस्थान गर्नुहुने कार्यक्रम तय भएको दिए ।

संयुक्त राष्ट्रसङ्घको महासभामा प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलले सहभागिता जनाउँदै आएको छ । नेपालले राष्ट्रसङ्घको वडापत्रलाई परराष्ट्र नीतिको अभिन्न अङ्ग मान्दै आएको छ । विश्व शान्तिका लागि नेपालले राष्ट्रसङ्घको छातामुनी रही महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ ।

यस्तै बैठकले विम्स्टेक कृषि मन्त्रिस्तरीय र कृषिसम्बन्धी उच्च पदाधिकारीहरको तेस्रो बैठक आगामी चैत १४ र १५ गते नेपालमा आयोजना गर्ने प्रस्ताव गर्न स्वीकृति प्रदान गरेको छ भने भाद्र ३१ मा काठमाडौंमा हुने नेपाल अमेरिका टिफा काउन्सिलको सातौं बैठकमा नेपालको तर्फबाट प्रस्तुत गरिने विषयसूची स्वीकृत गरी वार्ता टोली गठन गर्ने निर्णय भएको छ ।

त्यसै गरी दूरसञ्चार कम्पनी लिमिटेडको रिक्त प्रवन्ध निर्देशक पदमा संगिता पहाडी अर्याललाई नियुक्त गर्ने, रेडियो नेपालको रिक्त कार्यकारी निर्देशक पदमा अमरध्वज लामालाई नियुक्त गर्ने निर्णय गरेको छ । त्यस्तै बैठकले बैठकले पेरिस पारा ओलम्पिक २०२४ मा कास्य पदक विजेता पलेशा गोवर्धनलाई ६५ लाख नगद पुरस्कार दिने निर्णय पनि गरेको सरकारका प्रवक्‍ता गुरुङले जानकारी गराए ।


नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics