पाथीभरा कि मुकुमलुङ ?

समसामहिक बहस

- टंक श्रेष्ठ,
पछिल्लो समय पाथीभरा निकै विवादमा परेको छ । विवाद बढ्दै जाँदा कतिपयले ‘पाथीभरा नै भ्रम हो’ भन्न पनि भ्याए । कतिपयले पाथीभराको नाम पनि सुन्न नचाहेको जस्तो देखिन्छ । विरोध गर्नेहरूको भनाई ‘रैथाने नाम मुकुमलुङमा अतिक्रमण गरी पाथीभरा राखियो’ भन्ने रहेको देखिन्छ । रैथाने नामको बारेमा पनि एकमत देखिदैन । कसैले मुक्कुमलुङ, कसैले सेमुक्तु मुक्तिगोक र कसैले सेमुक्तिबुङ पनि भन्ने गरेको पाइन्छ ।


यहाँ विवादित पाथीभराको दुईवटा रूप वा अस्तित्व देखिन्छ – एउटा पाथीभराडाँडा र अर्को पाथीभरादेवी । मुकुमलुङमा माथि अतिक्रमण स्थान नाम (पाथीभराडाँडा) बाट भएको हो कि देवी (पाथीभरादेवी) बाट हो भन्ने कुरामा पनि त्यति प्रष्ट भएको जस्तो देखिदैन ।


स्थान वा ठाउँ– मुकुमलुङमालाई अतिक्रमण गरी पाथीभरा राखिएको हो भन्ने हो भने त्यो सम्बन्धित सुब्बा वा जिम्मावालको लिखतहरू वा जग्गा जमिन लेनदेनबाट पनि प्रष्ट होला । भेटिएका लिखतहरूमा पाथीभरा उल्लेख भएको पाइन्छ ! तर, त्यो नै सत्य नहुन सक्छ ! खोजियो भने खोज अनुसन्धानले पनि केही बोल्छ होला । म अहिले त्यतातिर जान चाहिनँ । आज पाथीभरादेवीको बारेमा केही कुरा उल्लेख गर्ने अनुमति मागें ।

देवी उत्पत्ति
विश्वभरी नै देवी उत्पत्ति वा स्थापनाका आ–आफ्नै मिथकहरू छन् । पाथीभरादेवीको उत्पत्तिको पनि आफ्नै मिथक छ । गडीडाँडा, सोगिरा निवासी अबिदल गुरुङको ठूलो भेडीगोठ थियो । भेडीगोठ एकै ठाउँ नराखी सार्ने काम भइरहन्थ्यो । पाथीभरा क्षेत्रमा भेडीगोठ पु¥याएको बेला एकदिन अचानक सबै भेडा हरायो । भेडा हराउँदा सोही भेडागोठका सहयोगी जानपा (गान्पा पनि भनिन्छ) गुरुङले सपनामा देवीको दर्शन पाए ।


सपनापछि धुपध्वाँर गर्दा जानपाको आङमा देवी चढ्यो । (रातो कपाले धामी भनेर पनि चिनिने जानपा गुरुङलाई सानैमा वनझाँक्रीले लगेर सातदिन पछि छाडेको र उनी त्यसपछि जान्ने धामी भएकोले उनको नाम जानपा रहन गएको भनिन्छ) । यो कथा लगभग २०० वर्ष अगाडिको भन्ने अनुमान गरिन्छ । देवी उत्पत्तिको कथा लामो छ, अहिले त्यतितिर नजाऔं । त्यसपछि उनीहरूले देवीको रुपमा एउटा ढुंगा (शिला) को थान राखी कालो पाठा बलि दिएर पूजा गरे ।


त्यो स्थान अहिलेको पाथीभरादेवी भएको दाहिनेतिर केही तल थियो । पहिला एउटा ढुंगाबाट सुरु भएको देवीको पूजा पछि पाँचवटा ढुंगाको शिला राखेर पुजाआजा गर्न थालियो । लामो समयसम्म पूजा गर्नेहरू गोठालाहरू नै हुन्थे । र, त्यो पूजा पनि बाक्लो हुँदैन थियो । उधौली र उभौलीमा भेडा-पाठाको बली दिएर पूजा गर्ने गरिन्थ्यो । त्यस्तो पुजामा सामेल हुनेहरूमा गुरुङ, भट्टराई, विष्ट, कटुवाल, पौडेल लगायतका गोठाला वा गोठमा बस्नेहरू मात्रै हुन्थे ।


हरिप्रसाद भट्टराई ( फुरम्बुका पुर्व उपप्रधानपन्च, १९७८–२०७८) को भनाइमा आफु सानै छँदा १९८३ सालतिर तल्लोफेदीभन्दा बायाँ केही पर सातमुले भन्ने ठाउँ (जहाँ पानीको सात मूल थियो) मा चन्द्रवीर भट्टराईको गोठ भएको ठाउँमा साधुको कुटी (गोठ) का साथै कुण्ड रहेको र सो ठाउँमा होम लगाएको देखेको बताउँनु हुथ्यो (भ्वाइस रेकर्ड) । आफूले ५-६ वर्षको उमेरमा साधुबाट क, ख पढ्न सिकेको पनि बताउनु हुन्थ्यो ।


उनको कुराबाट पाथीभरा क्षेत्रमा साधु सन्तहरू पनि धेरै अगाडिदेखि आउन थालेको अनुमान गर्न सकिन्छ । भटराईका अनुसार आफुले जान्दा देवीको नाम पन्चकन्या रक्तकाली भएको र साधुहरूले त्रिशुल र घन्टीहरू देवीलाई चढाउने गर्थे । देवीलाई माथि पाथीभराडाँडामा नसारेसम्म सर्वसाधारण मानिसहरू पञ्चकालिकाको बारेमा त्यति धेरै जानकार थिएनन् ।


देवी कहिले माथि डाँडामा सर्‍याे ?
ताप्लेजुङमा १९८४ सालमा हाङदेवा, सिनाम, पाथीभरा लगायत धेरै क्षेत्रमा ठूलो पहिरो गयो । पाथीभरामा गएको पहिरोले पञ्चकालिकादेवीलाई पनि क्षति पु¥यायो । पहिरोले बगाएको ढुंगाको शिला (मुर्ति) लाई त्यहाँका गोठाला तथा गोठका अगुवाहरू (कान्छा मिश्र, काइँलो कटुवाल, कलु विष्ट, भटराई र पौडेलहरूलगायत) बाट माथि पाथीभराडाँडामा वेदपाठ, चण्डीपाठ गरी देवीको पुनस्थापना गर्ने काम भयो ।


डाँडामा ठूलो होम गरी पञ्चकालीदेवीको स्थापना गरेपछि देवीको प्रचार धेरैतिर फैलियो । प्रचार बढ्दै जाँदा करिब १९९० सालतिर माधव समशेर जबरा एउटा ठूलो घन्ट भरियालाई बोकाएर दलबल सहित पञ्चकालीकाको दर्शन गर्न पाथीभराडाँडा पुगे । माधव शमसेरलाई पाल्कीमा बोकाएर डाँडामा पु¥याइएको थियो । उनले त्यहाँ बाहुन लगाएर पूजापाठ गराए । भक्तजनको लागि कुनै सुविधा नदेखेपछि माधव शमशेरले एउटा पाटी बनाउनु भनेर ६०० भारु दिए ।


त्यतिबेला हर्कजंग मादेन पनि पाथीभराडाँडामा पुगेका थिए । त्यसैमा थपेर हर्कजंग मादेनको अगुवाईमा पाथीभराडाँडामा पाटी बनाइयो । अर्को सानो पाटी चन्द्रवीर भटराईको काइँला भाइ शिवनारायण भटराईले बनाए । शिवनारायणले बनाएको सामान्य खाले पाटी थोत्रो भएपछि विष्णु मादेन जिल्ला पञ्चायतको सभापति भएको बेला २०२५ सालतिर जिल्ला पञ्चायतको खर्चमा बनाउने काम भयो । भनिन्छ, माधव शमशेर पुगेको बेलासम्म देवीको नाम पञ्चकालीका नै थियो ।



अहिले देश विदेशमा पाथीभरादेवीको नामले चिनिन्छ । र, सबै जाति, धर्म र सम्प्रदायका मानिसहरूको आस्थाकी देवी बनेकी छिन् । पूजा विधि पनि एउटै छैन । पूजा सुरु गर्ने गुरुङहरू बौद्धमार्गी हुन् र अहिले पुजारी हिन्दू बसेका छन् ।

यस बारेमा जानकारी राख्ने वृद्धहरूको भनाईमा कसैले पनि पञ्चकालीकाको नाम पाथीभरा राखौं भनेर पाथीभरा भएको होइन । भक्तजनहरूले पाथीभराडाँडामा देवी रहेकोले पाथीभरादेवी भन्न थाले । बिस्तारै देवीको नाम नै पाथीरादेवी रहन गयो । यो १९९० सालभन्दा पछिको कुरा हुनसक्ने देखिन्छ । पन्चकन्या रक्तकाली वा पन्चकालीबाट पाथीभरादेवीसम्मको कथा यस्तै देखिन्छ ।


मैले यहाँ के स्पष्ट पार्न खोजेको भने पाथीभरा देवी भ्रम होइन, शास्वत सत्य हो, छ्यातछ्यात्ती देवीको रुपमा विराजमान छिन् । अहिले देश विदेशमा पाथीभरादेवीको नामले चिनिन्छ । र, सबै जाति, धर्म र सम्प्रदायका मानिसहरूको आस्थाकी देवी बनेकी छिन् । पूजा विधि पनि एउटै छैन । पूजा सुरु गर्ने गुरुङहरू बौद्धमार्गी हुन् र अहिले पुजारी हिन्दू बसेका छन् ।


पुजारी राख्ने चलन पनि लामो छैन । २०४३ सालमा काफ्ले बाजे अध्यक्ष र म सचिव रहेको पाथीभरा क्षेत्र संरक्षण तथा सम्वर्धन समिति गठन भएपछि पाथीभराको भेटीघाटीको संरक्षणको मूूल उद्देश्यले पुजारी राख्न थालिएको हो । यसलाई हिन्दुकृत गर्ने कुनै उद्देश्य थिएन । आवश्यक देखिदैन भने पुजारी नराख्दा पनि हुन्छ ।


अर्थात् पाथीभरा र मुकुमलुङमा एउटै होइन । त्यसो भए मुकुमलुङमा चाहिँ के हो त ? यो कुरा मुकुमलुङमा आन्दोलनमा लागिरहनु भएकाहरूले बुझाउनु हुनेछ– मुकुमलुङमाको पूजा पाथीभराको कुन ठाउँमा र कहिलेदेखि गरिन्थ्यो ? पुजाविधि के हो ? मुकुमलुङमा अतिक्रमण कहिले र कोबाट हुन गयो ? मुकुमलुङमाका जानकारहरूले यसबारेमा पाथीभरा दर्शनार्थीलाई बुझाए ऊनीहरूले पनि जान्ने मौका पाउने थिए !


ताप्लेजुङ लिम्बूवान भूमि हो । लिम्बूहरूको धेरै कुराको उत्पत्ति वा मुन्धुमी स्थल तमोरखोला आसपास भएको मानिन्छ । पाथीभरा क्षेत्र पनि तमोरखोलाको नजिकै पर्दछ । त्यसैले पाथीभरा क्षेत्रको बारेमा खोज अनुसन्धान गरौं । विगतमा केही तल माथि कसैले पारेको भए, के हो सत्य तथ्य सबैको सामु राखौं ।


तर, पाथीभराको आफ्नै इतिहास र अस्तित्व छ । अहिले पाथीभरादेवीको दर्शनमा पुग्ने तिर्थयात्रीहरू पाथीभराकै दर्शनका लागि गएका हुन् । आस्था र विश्वास व्यक्तिगत कुरा हो । आस्था राख्न र आफ्नो आस्थालाई पूजा गर्न मानिस स्वतन्त्र छ, हुनुपर्छ । त्यसमाथि ठेस पुग्ने काम हामी कसैले पनि नगरौं । पाथीभरादेवीले सबैको रक्षा गरुन् ।
(अनुसन्धानात्मक र खोजमुलक लेख लेख्ने श्रेष्ठ ताप्लेजुङ–काठमाडौं सरोकार केन्द्रका निवर्तमान अध्यक्ष हुन्)

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics