झापाका विद्यार्थीले सिक्दैछन् माटोको उपचार र विषादीको प्रयोग

काठमाडौं – कृषिका लागि उर्वर मानिने झापा जिल्लाका विद्यार्थीले विद्यालयमा हुने नियमित पढाई बाहेक कृषिको विषयमा पनि अध्ययन गर्न पाएका छन् । यो अवसर जुराइदिएको छ – कृषि ज्ञान केन्द्र झापाले ।


विद्यार्थीले कृषिका विषयमा ज्ञान लिए अभिभावक र छरछिमेक सम्म पनि आफूले जानेको कुरा सिकाउने र सचेत गराउने भएकाले कृषि ज्ञान केन्द्रले उनीहरूलाई माटो र विषादीको विषयमा जानकारी दिन सुरु गरेको हो ।


केन्द्रकी अधिकृत छैटौं (बाली संरक्षण) अन्जु आचार्यले ‘विद्यालयका विद्यार्थीसँग कृषि शिक्षा कार्यक्रम’ अन्तर्गत उक्त शिक्षा दिइरहेको बताइन् । ‘यो कार्यक्रम अन्तर्गत झापाका १५ वटा विद्यालयको छनोट गरिएको छ । प्रत्येक स्थानीय तहबाट एक विद्यालयको छनोट गरि उक्त विद्यालयमा २ घण्टी अर्थात् ९० मिनेटको समयमा माटो र विषादीको विषयमा ज्ञान दिइन्छ,’ आचार्यले भनिन् ।


छानिएका प्रत्येक विद्यालयका कक्षा ९ मा पढ्ने विद्यार्थीलाई यो शिक्षा दिइन्छ । ‘अहिले हामीले पहिलो त्रैमासिकमा ५ वटा विद्यालयमा यो कार्यक्रम सम्पन्न गरेका छौं,’ आचार्य भन्छिन्, ‘माटोलाई कसरी उर्वर बनाउने ? माटो के हो ? र, किन परीक्षण गर्ने ? जस्ता विषयको जानकारीका साथै विषादी कुन समय कस्तो र किन प्रयोग गर्ने भन्ने शिक्षा विद्यार्थीले पाएका छन् ।’

१५ स्थानीय तहका ग्रामिण र कृषिमा बढी निर्भर नागरिक रहेका क्षेत्रको विद्यालयलाई यो कार्यक्रममा समेटिएको छ । यस्ता विद्यालयमा माटो र विषादीको विषयमा विद्यार्थीलाई शिक्षा दिए प्रभावकारी हुने ज्ञान केन्द्रले अपेक्षा राखेको छ । ‘हामिले छनोट गरेका विद्यालयमा अधिकांश किसानका छोराछोरी अध्ययन गर्छन् । उनीहरूले यो विषयलाई चासो दिएर सुन्ने र बुझ्ने गरेको मैले ती विद्यायमा पुगेर पढाउँदा महसुस गरेको छु । विद्यार्थीले आफ्नो घरमा गएर सिकेको कुरा अभिभावकलाई बुझाउन सके र आफैले लागु गरे पनि माटोको गुणस्तर जोगाइ राख्न सकिन्छ र विषादी के हो भन्ने पनि ज्ञान हुन्छ,’ उनले भनिन् ।


झापा धान र चियासहित विभिन्न नगदे तथा खाद्यान्न बाली उत्पादन हुने जिल्ला हो । यहाँ माटो र विषादीका विषयमा मात्रै किसानले राम्रो जानकारी पाए वातावरण र मानव दुबै सुरक्षित रहने आचार्यको तर्क छ । ‘झापाका किसानमा माटोमा कहिले र कति चुन प्रयोग गर्ने ? माटो किन परीक्षण गर्ने भन्ने ज्ञान अझै पनि कम छ । माटोको अवस्थाका विषयमा जानकारी पाएर समयमै यसको उपचार गरे सँधै सबै बालीबाट राम्रो उत्पादन र आम्दानी गर्न सकिन्छ । यो शिक्षा हामी अहिले विद्यालयमार्फत् किसान सम्म पुर्याईरहेका छौं,’ उनले भनिन् ।


विद्यार्थीले माटोसँगै कृषिमा प्रयोग हुने विषादीका विषयमा पनि सिक्ने मौका पाएका छन् । विषादीको प्रयोग धेरै भइरहेको चर्चा चलिरहँदा कस्तो विषादी कृषि बाली र उत्पादनमा प्रयोग गर्ने ? कसरी, किन र कुन समयमा गर्ने भन्ने विषयको जानकारी विद्यार्थीलाई दिइएको छ । विषादीका प्रकार र यसले वातावरणमा पर्ने असरका साथै सुरक्षित तरिका थाहा भए यसबाट हुने जोखिम कम गर्न सकिने आचार्य बताउँछिन् ।

‘धेरै किसानले बालिको रोग र किरा छुट्याउन समेत सक्दैनन् । रोगी बालीमा पनि किरा मार्ने विषादीको प्रयोग गरेको हामिले पाएका छौं । आफै विषादी किनेर ल्याउने र अनुमानका भरमा प्रयोग गर्दा यसले बालीलाई मात्रै नभई मानव स्वास्थ्यलाई पनि असर गर्छ भन्ने शिक्षा हामिले विद्यार्थीलाई दिएका छौं,’ उनले भनिन् ।


यो कार्यक्रम लिएर विद्यालयमा पुग्दा विद्यार्थीका साथै शिक्षकहरू पनि खुसी भएको उनले बताइन् । ‘धेरै राम्रो कार्यक्रम रहेछ । यो त विद्यार्थीले मात्रै होइन, हामिले पनि जान्नुपर्ने रहेछ भन्दै शिक्षकहरू पनि कक्षामा बसेर सुन्नुहुन्छ, सिक्नुहुन्छ,’ उनले थपिन् ।


पहिलो चरणमा भद्रपुर, बिर्तामोड, मेचीनगर, बुद्धशान्ति र अर्जुनधाराका पाँच वटा विद्यालयमा यो कार्यक्रम भएको र अब केही समय पछि अन्य तहका विद्यालयमा पनि हुने ज्ञान केन्द्र झापाले जनाएको छ ।


विद्यालयमा विद्यार्थीलाई उक्त विषयमा कक्षा लिएपछि परीक्षा समेत गराउने र उत्कृष्ट अंक ल्याउनेलाई तत्काल पुरस्कृत गरिने भएकाले विद्यार्थीले पनि यो विषयलाई चासो दिएर सुन्ने र बुझ्ने गरेको विद्यालयका शिक्षक बताउँछन् ।


झापाको सुरुङ्गामा माटो परीक्षण केन्द्र सञ्चालनमा रहेको छ भने विषादीको परीक्षण गर्ने प्रयोगशाला पनि बिर्तामोडमा छ । यी केन्द्रबाट किसानले परीक्षण सेवा लिन सक्ने ज्ञान केन्द्रले जनाएको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics