‘कार्बन उत्सर्जनले अल्पविकसित मुलुकहरू प्रभावित छन्, क्षतिपूर्ति बढाइयोस्’

न्युयोर्क - प्रधानमन्त्री केपी शर्मा ओेलीले संयुक्त राष्ट्रसंघको ७९औँ महासभाको ‘समिट अफ द फ्युचर’ सत्रलाई आइतबार सम्बोधन गरेका छन् ।

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै महासभामा भाग लिन यही असोज ४ गते संयुक्त राज्य अमेरिकाको न्युयोर्क पुगेका प्रधानमन्त्री ओलीले आइतबार राष्ट्रसंघको मुख्यालयमा जारी सत्रलाई सम्बोधन गरेका हुन् ।

यसअघि प्रधानमन्त्री ओलीले महासभाअन्तर्गत ‘समिट अफ द फ्युचर’को अन्तरक्रियात्मक सत्रको अध्यक्षता गरेका थिए । उनले अल्पविकसित मुलुकका समूहहरुको साझा समस्याका रुपमा रहेको गरिबी निवारणका लागि उत्पादन वृद्धि गरी औद्योगिकीकरण गरिनुपर्नेमा जोड दिए ।

प्रधानमन्त्री ओलीले कार्बन उत्सर्जनका कारण अल्पविकासित मुलुकहरु प्रभावित हुँदै आएकाले यसप्रति गम्भीर भइ विकसित मुलुकले क्षतिपूर्ति कोषमा लगानी बढाउनुपर्ने उल्लेख गरे । उनले लाखौँ बालबालिका पढ्ने र खाने अधिकारबाट वञ्चित भएको अवस्थामा साझा प्रयासको खाँचो औल्याउँदै गरिबी निवारणमा जोड दिनुपर्ने बताए ।

महासभामा परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साल, संयुक्त राष्ट्रसङ्घका लागि नेपाली स्थायी नियोगका प्रतिनिधि (राजदूत) लोकबहादुर थापालगायत सहभागी छन् ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics