सरकारले बोलायो सर्वदलीय बैठक, बाढीपहिरो, उद्धार र राहतका विषयमा छलफल हुने
- नेचर खबर
काठमाडौं - सरकारले सर्वदलीय बैठक आह्वान गरेको छ । आज दिउँसो १ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बस्ने गरी सर्वदलीय बैठक डाकिएको कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहको निजी सचिवालयले जानकारी दिएको छ । अविरल वर्षापछिको बाढीपहिरो एवं विपद्, उद्धार, धनजनको क्षति र राहतका विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गरिएको हो ।
कार्यवाहक प्रधानमन्त्री सिंहले शनिबार गृहमन्त्री रमेश लेखक, सुरक्षा अङ्गका प्रमुखहरु, मुख्यसचिव, सचिवलगायतबाट देशभरको विपद्को अवस्थाबारे जानकारी लिनुभएको छ ।
राष्ट्रिय आपतकालिन कार्य सञ्चालन केन्द्र, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलगायत सबैको समन्वयमार्फत विपद्बाट प्रभावित व्यक्ति एवं परिवारको सेवामा सरकारका सबै अङ्ग पूर्ण रुपमा परिचालन गरिएको उहाँको सचिवालयले जनाएको छ ।
मौसमविद्हरुका अनुसार वर्षा अझै पनि जारी रहने भन्ने जानकारी प्राप्त भएकाले थप क्षति हुनबाट जोगिन अत्यावश्यक काम बाहेक हिँडडुल नगर्न सरकारले सबैमा अनुरोध गरेको छ ।
प्रतिक्रिया दिनुहोस