बाढी-पहिरो : काभ्रेमा मृत्यु हुनेको सङ्ख्या ६७ पुग्यो, ८ बेपत्ता
- नेचर खबर
काभ्रे - काभ्रेमा शुक्रबार र शनिबार अविरल परेको बर्षाको कारण बाढीपहिरोमा परि मृत्यु हुनेको संख्या ६७ पुगेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेमा आजसम्मको तथ्यांकअनुसार ८ जना अझै बेपत्ता रहेका छन् ।
बेपत्ता हुनेमा तेमाल गाउँपालिकामा मात्रै ५ जना रहेका छन् । तेमाल गाउँपालिका-२ मा ३ जना र तेमाल गाउँपालिका-१ मा २ जना बेपत्ता छन् । यस्तै धुलिखेल नगरपालिका-८ मा १ जना, नमोबुद्ध-५ मा १ जना र चौरीदेउराली गाउँपालिकामा १ जना बेपत्ता छन् ।
काभ्रेमा सबैभन्दा बढी पनौती नगरपालिकामा १८ जनाको ज्यान गएको छ भने वेथानचोक गाउँपालिकामा १२ जनाले ज्यान गुमाएका छन् । यस्तै तेमाल गाउँपालिकामा ९, मण्डनदेउपुर नगरपालिकामा ७, रोशी गाउँपालिकामा ७, नमोबुद्ध नगरपालिकामा ५, भुम्लु गाउँपालिकामा ३, बनेपा नगरपालिकामा ३ र धुलिखेलमा २ चौरीदेउरालीमा १ जनाले ज्यान गुमाएका छन् ।
यसैगरी काभ्रेमा ज्यान गुमाउनेमा महिला ३० जना, पुरुष २३ जना, बालक ८ र बालिका ६ जना रहेका छन् । काभ्रेमा घाइते भएकामध्ये ५० जना उपचारपछि घर फर्केका छन् भने २१ जनाको उपचार भइरहेको जिल्ला प्रहरी कार्यलय काभ्रेका एसपी बसुन्धरा खड्काले जानकारी दिए ।
बेपत्ताको खोजीकार्य सँगै स्थानीय तहले सहयओग सङ्कलन अभियान सुरु गरेका छन् । जिल्लाको सबैभन्दा बढी क्षती भएको पनौती, बेथान्चोकले सहयोग सङ्कलनका लागि अपिलसमेत गरिसकेका छन् भने क्षतिको प्रारम्भिक विवरण समेत उपलब्ध गराउदै गएका छन् ।
प्रतिक्रिया दिनुहोस