झापा, इलाम र पाँचथरमा मध्यम वर्षा, बढ्यो बाढी, थपियो पहिरो
- नेचर खबर
काठमाडाैं - कोशी र बाग्मती प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा र गण्डकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भैरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पछिल्लो चार घण्टामा झापाको अनरमनी बिरता, शनिश्चरे,बाहुनडांगी, इलामको कन्याम टी-स्टेट, बरफल्याङ, पाँचथरको फिदिम, मोरङको बाहुने र आसपासमा सामान्यदेखि मध्यम वर्षा मापन भएको छ ।
यी क्षेत्रमा थप वर्षा हुने सम्भावना छ । कन्काइ नदी, हेवा खोला, पूवाखोला, माई खोला,अदुबा खोला, बाहुने खोलालगायत अन्य स-साना खोलामा आकस्मिक बहाब बढ्न सक्ने रहेकाले नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थान र मधेशका थोरै स्थानमा एक-दुई स्थानमा हल्का दखि मध्यम वर्षाको सम्भावना छ । साथै कोशी र बाग्मती प्रदेशका एक- दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।
आज राति पनि कोशी, मधेश, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी प्रदेशका तराई भू-भागका थोरै स्थानमा हावा-हुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । भारतको उत्तर-पूर्व असम र आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । यसपालि मनसुन लम्बिएर दशैंसम्मै वर्षा हुने हाशाखाले जनाएको छ । नेपालमा सामान्यतया जुन १० मा मनसुन भित्रिने र अक्टोबर २ तारिखमा मनसुन बाहिरिने गर्छ । तर, यसपालि बाहिरिएको छैन । महाशाखाका वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले यसपटक मनसुन सरदर मितिभन्दा थप केही दिन पर धकेलिने बताइन् ।
उता पाँचथर फिदिम-२ को रमिते भ्यू टावर नजिकै गएको लेदो सहितको पहिरो झर्दा मेची राजमार्ग खुलाउन गरिएको प्रयास विफल भएको छ । यस्तै असोज १२ गतेको बाढीले मोटेरेबल पुल बगाएको फिदिम-११ र १ जोड्ने फेमे खोलामा आएको बाढीले हिजो मात्रै निर्माण गरिएको बाँसको फड्के समेत बगाएको छ ।
पाँचथरको फिदिम, फालेलुङ, फाल्गुनन्द र मिक्लाजुङ गाउँपालिकाका ठाँउ-ठाँउमा पहिरो गएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक बेनिलाल साहले जानकारी दिए ।
असोज १२ गते गएको बाढी र पहिरोमा परी पाँचथरका ८ जनाले ज्यान गुमाएका छन् भने ३ जना बेपत्ता छन् । पहिरोले सयौं घर परिवार विस्थापित भए पनि स्थानीय प्रशासनले यसको विवरणसम्म संकलन गर्न सकेको छैन ।
प्रतिक्रिया दिनुहोस