आज पनि कुष्माण्डा देवीको पूजाआराधना गरिँदै
दशैंको पाँचौ दिन
- नेचर खबर
काठमाडौं - बडा दशैंको पाँचौ दिन आज पनि कुष्माण्डा भगवतीको पूजा अर्चना गरिएको छ । नवरात्र सुरु भएसँगै हरेक दिन शक्ति पीठ र देवी मन्दिरहरुमा भक्तजनको घुइँचो लागेको छ । शुभकर्म थालनी वा सृष्टिको प्रतीकको रुपमा आज कुष्माण्डा देवीको पूजा गरिन्छ ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज पनि आश्विन शुक्ल चौथी तिथि वृद्धि भएकाले नवरात्रमा गरिने दुर्गा पूजाको विधि अनुसार कुष्माण्डा देवीकै पूजाआराधना गर्नुपर्ने जनाएको हो । हिजो पनि सूर्योदयकालमा चौथी तिथि थियो ।
आइतबार दिनरात अर्थात् ६० घडी नै चौथी तिथि रहेको पञ्चाङ्ग निर्णायक समितिले बताएको छ । घटस्थापनादेखि आज पाँचौँ दिन भए पनि तिथि वृद्धि भएकाले चौथीकै कार्य र पूजाआजा गरिएको हो । नवदुर्गामध्येकी पाँचौँ देवी स्कन्दमाताको पूजा, आराधना भने आश्विन शुक्ल पञ्चमीका दिन भोलि मङ्गलबार हुनेछ ।
यस वर्ष नवरात्रमा चौथी तिथि वृद्धि भएको छ भने नवमी तिथि टुटेको छ । असोज २५ गते महाअष्टमी तिथिको काम सकेपछि त्यसै दिन केही समय विश्राम गरेर महानवमीको कार्य गर्नुपर्ने पनि पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । दुर्गा पक्षसमेत भनिने यस वर्षको नवरात्रमा चौथी तिथि वृद्धि भए पनि नवमी तिथि टुटेकाले नौ रातकै नवरात्र रहेको छ ।
नवरात्रका अवसरमा देशभरका शक्तिपीठहरूमा विशेष पूजाआराधना तथा दर्शन गर्ने भक्तजनको घुइँचो लाग्छ । काठमाडौं उपत्यकाका भद्रकाली, महालक्ष्मी, मैतीदेवी, गुह्यश्वरी लगायतका मन्दिरमा देवीको दर्शन गर्ने भक्तजनको बिहानैदेखि घुँइचो छ ।
त्यस्तै उपत्यका बाहिर नेपालगञ्जको बागेश्वरी, सुर्खेतको देउती बज्यै, अर्घाखाँचीको सुपादेउराली, सल्यानको खैरावाङ भगवाती, दाङको अम्बिकेश्वरी, डडेलधुराको उग्रतारा, बागलुङको कालिका भगवतीलगायतका देवीका पीठहरूमा पनि ठूलो सङ्ख्यामा दर्शनार्थीहरू पुग्ने गर्छन् ।
प्रतिक्रिया दिनुहोस