बोलिभियादेखि इन्डोनेसियासम्म वन विनाश तीव्र

काठमाडाैं - सन् २०३० सम्ममा वनविनाश अन्त्य गर्ने प्रतिबद्धताहरूभन्दा धेरै बढी दरमा गत वर्ष वन विनाश जारी रहेको मङ्गलबार प्रकाशित एउटा प्रमुख अध्ययनमा उल्लेख छ। दुई दर्जन अनुसन्धान संस्था, गैरसरकारी संस्था र वकालत समूहहरूका अनुसार सन् २०२३ मा करिब आयरल्यान्डको आकारको वन नष्ट भयो र यसमा ६३ लाख ७० हजार हेक्टर रुख काटिए वा जलाइए।

संसारलाई दशकको अन्त्यसम्म वनविनाश अन्त्य गर्ने मार्गमा राख्न सन् २०२१ मा एक सय ४० भन्दा बढी नेताहरूले गरेको प्रतिबद्धतामा यो ‘उल्लेखनीय रूपमा बढी’ थियो। वनहरू विश्वका ८० प्रतिशत स्थलीय वनस्पति र जनावर प्रजातिहरूको घर हुन् र जल चक्रलाई नियमन गर्न तथा विश्व तापक्रमका लागि जिम्मेवार प्रमुख हरितगृह ग्यास कार्बनडाइअक्साइड सोस्नका लागि महत्त्वपूर्ण हुन्।

'विश्वव्यापी रूपमा दशकको प्रारम्भदेखि वनविनाश सुधारिएको छैन, बरु बिग्रिएको छ', क्लाइमेट फोकसका जैविक विविधता र भूमि उपयोग परामर्शदाता तथा ‘वन घोषणा मूल्याङ्कन’ प्रतिवेदनका प्रमुख लेखक इभान पाल्मेगियानीले भने, 'हामी वनविनाश अन्त्य गर्ने महत्त्वपूर्ण विश्वव्यापी सममसीमाबाट मात्र छ वर्ष टाढा छौँ र वनहरू अझै चिन्ताजनक दरमा काटिँदै, क्षीण हुँदै र जलाइँदैछन्।'

सन् २०२३ मा ३७ लाख हेक्टर उष्णकटिबन्धीय प्राथमिक वनविशेषगरी कार्बन समृद्ध र पारिस्थितिकीय रूपमा जैविक विविधायुक्त वातावरणनष्ट भयो। यो सन् २०३० को लक्ष्य पूरा गर्न उल्लेखनीय रूपमा घट्नुपर्ने थियो।

सोया र निकेल
उच्च जोखिमयुक्त क्षेत्रहरूमा अनुसन्धानकर्ताहरूले बोलिभिया र इन्डोनेसियामा पछाडि फर्कन सङ्केत गरेका छन्। प्रतिवेदनले बोलिभियामा वनविनाशमा ‘चिन्ताजनक वृद्धि’ भएको बताएको छ। यहाँ सन् २०१५ र सन् २०२३ को बीचमा वनविनाश तीन सय ५१ प्रतिशतले बढेको छ।

‘वनविनाश प्रवृत्तिले कम हुने कुनै सङ्केत’ नदेखाएको प्रतिवेदनमा उल्लेख छ। त्यहाँ वनहरू कृषि विशेषगरी सोयाका साथै गाईवस्तु र चिनीका लागि पनि फडानी गरिएको छ। इन्डोनेसियामा वनविनाश सन् २०२० देखि सन् २०२२ को बीचमा घटेको भए पनि गत वर्षदेखि तीव्र रूपमा बढ्न थालेको छ।

कपडाका लागि भिस्कोस र विद्युतीय सवारी साधनका बेट्री र नवीकरणीय ऊर्जा प्रविधिका लागि निकेल उत्खननमा वृद्धिजस्ता आंशिकरूपमा प्राय पर्यावरणमैत्री मानिने सामग्रीहरूको मागका कारण यहाँ वनविनाश बढेको हो। ब्राजिलबाट राम्रो समाचार आएको छ। ब्राजिल अझै पनि विश्वमा सबैभन्दा बढी वनविनाश भएको मुलुक हो तर यसले महत्त्वपूर्ण प्रगति गरेको छ। अमेजनमा स्थिति उल्लेखनीय रूपमा सुधारिएको छ।

मुलुकले राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले लागु गर्नुभएको संरक्षणात्मक उपायहरूबाट फाइदा लिएको छ। यद्यपि अमेजनको तल रहेको महत्त्वपूर्ण उष्णकटिबन्धीय घाँसेमैदान सेराडोमा वनविनाश बढेको छ।

वन क्षयीकरण
काठ काट्ने, सडक निर्माण र आगलागीले भूमि पूर्ण रूपमा नष्ट नभई क्षति पुर्याउने भन्दै प्रतिवेदनले वन क्षयीकरणको भूमिकामाथि पनि प्रकाश पारेको छ। सन् २०२२ मा अन्तिम पटक आँकडा उपलब्ध भएको वर्ष जर्मनीको दोब्बर आकारको वन क्षेत्र क्षय भएको थियो।

क्लाइमेट फोकसका वरिष्ठ परामर्शदाता तथा प्रतिवेदनका सह–लेखिका एरिन म्याट्सनले ‘बलियो नीति र बलियो कार्यान्वयन आवश्यक रहेको’ बताए। 'विश्वव्यापी वन संरक्षण लक्ष्य पूरा गर्न हामीले वन संरक्षणलाई राजनीतिक र आर्थिक लहडहरूबाट अछूतो बनाउनुपर्छ', उनले भने। उक्त प्रतिवेदन गैरसरकारी संस्थाहरूको विरोधका बाबजुद आफ्नो वनविनाश विरोधी कानून लागू हुन एक वर्ष (सन् २०२५ को अन्त्यसम्म) स्थगन गर्ने युरोपेली आयोगको गत साता प्रस्तावलाई दृष्टिगत गरी आएको छ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics