एनसेलले पायो फोरजी अनुमति, १ महिनाभित्र सञ्चालन



लामो समयको प्रयासपछि एनसेलले फोरजी सञ्चालनमा ल्याउने भएको छ । एनसेललाई आगामी जुन १ देखि फोरजी सञ्चालनमा ल्याउन नेपाल दुरसञ्चार प्राधिकरणले अनुमति दिएको छ ।

एनसेलले फोरजी सेवा पाएको १ महिनाभित्रै फोरजी सेवा सुरु गर्ने तयारी गरेको एनसेलका प्रवक्ता मीनप्रसाद अर्यालले जानकारी दिए । उनले भने ‘एनसेलले प्राधिकरण समक्ष अनुमति पाएको १ महिनाभित्रै काम सुरु गर्ने योजना प्रस्तुत गरेको थियो । फोर जी सञ्चालनका लागी एनसेलले आन्तरीक तयारी गरिरहेको छ ।’

नेपालमा फोरजी सेवा विस्तारको सबैभन्दा पहिला अनुमति मागेको एनसेलले यसअघिसम्म सञ्चालनमा ल्याउन पाएको थिएन । एनसेलले पाँच वर्षअघि नै फोरजीको अनुमति मागेको थियो । तर त्यतिबेला फ्रिक्वेन्सी नीति नबनेकाले अनुमति दिइएको थिएन । पछिल्लोपटक फोरजी अनुमति दिने नीति बनेको भए पनि करको विषयलाई लिएर अनुमति दिएको थिएन ।

यसअघि एनसेल खरिदबिक्रीमा पुँजीगत लाभकर नतिरेको भन्दै व्यवस्थापिका–संसद्को सार्वजनिक लेखा समितिले बिक्रेता टेलियासोनेरासँग लाभकर नअसुली एनसेललाई फोरजी विस्तारको अनुमति नदिन सरकारलाई निर्देशनसमेत दिएको थियो । यसैका कारण एनसेलका ग्राहक फोरजी सेवा प्रयोग गर्नबाट वञ्चित भएका थिए ।

नेपाल दुरसञ्चार प्राधिकरणका अनुसार अहिले एनसेलले टुजी सञ्चालनका लागि पाएको फ्रिक्वेन्सीबाट वार्षिक ४२ करोड रुपैयाँ तिर्दै आइरहेको छ । त्यही फ्रिक्वेन्सीमा प्रविधि अन्तर्गत फोरजी सेवा सञ्चालन गर्दा वार्षिक ९८ करोड रुपैयाँ तिर्नुपर्ने हुन्छ ।

एनसेलले पहिलो चरणमा काठमाडौ, पोखरा र दमौलीबाट फोरजी सेवा आरम्भ गर्ने योजनामा प्रस्तुत गरेको थियो। गएको कात्तिक २७ गते प्राधिकरणमा बुझाएको एनसेलको कार्ययोजनामा दोस्रो चरणमा बिराटनगर, बुटवल भैरवहामा फोर जी सेवा विस्तार गर्ने उल्लेख गरेको थियो ।

नेपाल टेलिकमले यसअघि नै फोरजी सेवा सञ्चालनमा ल्याइसकेको छ । फोरजीका लागि निवेदन दिएको स्मार्ट टेलिकमले भने अझै अनुमति पाएको छैन । हालै संशोधन गरिएको दूरसञ्चार सेवाको रेडियो फ्रिक्वेन्सी नीतिले पुरानै ब्यान्डको फ्रिक्वेन्सीमा नयाँ सेवा सुरु गर्न पाइने व्यवस्था गरेको छ ।

फोरजी के हो ?


फोरजी ‘फोर्थ जेनेरेसन वायरलेस’ अर्थात चौथो पुस्ताको ताररहितको इन्टरनेट डाटा प्रविधि हो । जुन मोबाइल इन्टरनेट प्रबिधिको सवैभन्दा पछिल्लो प्रबिधि भएकाले अन्य प्रविधिभन्दा तिब्र गतिको हुन्छ । आइटियूको मापदण्ड अनुसार १ सय मेगाबाइट्स प्रति सेकेन्ड (एमबीपीएस) गतिको इन्टरनेट सहितको सेवालाई फोरजी भनिन्छ । फोरजी सेवामा मोबाइल वेब एक्सेस, आइपि टेलिफोनी, गेमिङ सर्भिस, हाइ डेफिनेसन मोबाइल टिभी, भिडियो कन्फेरेन्सिङ, थ्रीडी टेलिभिजन र क्लाउड कम्प्युटिङ पनि पर्दछन् ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics