लुक्लामा टीकाकै दिन पुगे ३२ वटा उडानमा ६५० पर्यटक

काठमाडौं - ३ दिनदेखि उडान हुन नसकेको तेन्जिङ हिलारी विमानस्थल लुक्लामा दसैँको टीकाको दिन शनिबार भने ३२ वटा विमानले उडान भरेका छन् । मौसममा सुधार आएसँगै शनिबार बिहान ६ बजेबाटै विमानहरूले उडान भर्न सुरु गरेका थिए ।

आज तारा एयरको १० वटा, समिट एयरको १३ वटा र सीता एयरको ९ वटा उडान भएको लुक्ला विमानस्थलले जनाएको छ । त्यस्तै अपराह्न साढे ४ सम्म जम्मा ६१ वटा हेलिकप्टरले विदेशी पर्यटक लुक्ला पुर्‍याएका थिए । आज मध्याह्न साढे १२ बजेदेखि भने मौसम प्रतिकूल भएर हेलिकोप्टरबाहेकका अन्य जहाजहरूले भने उडान गर्न सकेनन् । दिउँसोदेखि नै मौसम बिग्रिएकाले उडान अनुमति दिन नसकिएको विमानस्थलले जनाएको छ ।

आज विमान र हेलिकप्टरहरूबाट साढे ६ सय विदेशी पर्यटक खुम्बु क्षेत्र भित्रिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । हिमाल हेर्न र पदयात्राका लागि उपयुक्त मौसम मानिने शरद ऋतुको मध्य समयमा औसत दैनिक १ सय ५० वटा उडान हुने गर्दथे । मौसम प्रतिकूल भएकै कारण ३ दिनदेखि उडान प्रभावित भएका थिए ।

लुक्लामा रामेछापको मन्थलीबाट ९० प्रतिशत र बाँकी १० प्रतिशत त्रिभुवन विमानस्थल काठमाडौँबाट सिधै उडान हुने गरेको छ । शनिबार भने १ सय १० जना नेपाली पनि विमानमार्फत खुम्बु क्षेत्रको भ्रमण गर्न लुक्ला पुगेका छन् । मनसुन बाहिरिएसँगै आइतबारदेखि मौसम खुल्ने आशा खुम्बुका पर्यटन व्यवसायीमा छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics