शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज : विस्थापित परिवारसँग छलफल

कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज विस्तारका क्रममा विस्थापनमा परेका परिवारको पुनःस्थापनका लागि गठित जग्गा समस्या समाधान आयोगले आफ्नो काम अगाडि बढाएको छ ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज जग्गा समस्या समाधान आयोगका नवनियुक्त अध्यक्ष पूर्वन्यायाधिश जयानन्द पनेरुले सोमबार विस्थापित परिवार बस्दै आएको ढक्का शिविरमा पुगेर जानकारी लिने काम गरेका छन् ।

निकुञ्ज विस्थापित संघर्ष समितिका पदाधिकारीसँग आयोगका अध्यक्ष पनेरुले छलफल गरी समस्या समाधानका लागि आवश्यक राय लिने काम गरिएको छ ।

आयोगका पूर्वअध्यक्ष पूर्वन्यायाधिश ठाकुरप्रसाद शर्माले प्रमाणित गरेका एक हजार ४८० विस्थापित परिवारसँगै विभिन्न समयमा गठन भएका आयोगका प्रतिवेदन अध्ययन गरी तीन महिनाभित्र सरकारलाई प्रतिवेदन बुझाइने अध्यक्ष पनेरुले जानकारी दिए ।

“विगतका आयोगका प्रतिवेदन अध्ययन गर्छौं”, उनले भने, “वास्तविक निकुञ्ज विस्थापित परिवारको पहिचान गरी पुनःस्थापन र मुआब्जाका लागि सिफारिससहित प्रतिवेदन बुझाउछौँ”, निकुञ्ज विस्थापित परिवारको सहकार्यमा प्रतिवेदन बुझाइने उनले बताए ।

निकुञ्जपीडित संघर्ष समितिका सचिव गोविन्द नेपालीले तत्कालीन आयोगका अध्यक्ष पूर्वन्यायाधिश ठाकुरप्रसाद शर्माले बुझाएको प्रतिवेदन त्रुटिपूर्ण रहेको उल्लेख गर्दै उनले वास्तविक र प्रतिवेदनमा समावेश हुनबाट छुटेका विस्थापित परिवारलाई प्रमाणित गरी पुनःस्थापन गर्नुपर्ने बताए ।

विगतका आयोगले पुनःस्थापनका लागि छनोट गरेका हैसियत बिग्रेका वनको जग्गामा पुनःस्थापन गराउनुपर्ने उनको माग थियो । तत्कालीन शुक्लाफाँटा वन्यजन्तु आरक्षका वार्डेन सूर्य पाण्डेले विसं २०५८ मा विगतमा गर्न बाँकी रहेका परिवारलाई बस्दै आएको क्षेत्रको जग्गा नापजाँचगरी पुनः स्थापन गर्नुपर्ने बताए । उनले पुनःस्थापनका लागि भएका आन्दोलनका क्रममा विस्थापित परिवारले कब्जा गरेको जग्गा पीडित परिवारलाई वितरण गर्नुपर्ने र बाँकी रहेका वास्तविक निकुञ्ज विस्थापितलाई उचित मुआब्जा दिनुपर्ने बताए ।

निकुञ्ज विस्तारका क्रममा विस्थापित भएका परिवार कष्टपूर्ण रुपमा विभिन्न शिविरमा बस्दै आएका छन् । निकुञ्ज विस्थापित परिवारसँगै आयोगका अध्यक्ष पनेरुले सुदूरपश्चिम प्रदेशसभा सदस्य दिवानसिंह विष्ट, बेलडाँडी गाउँपालिका अध्यक्ष हरिशचन्द्र रानालगायतसँग छुट्टै रुपमा भेटघाट गरी निकुञ्ज विस्थापितको समस्याबारे रायसुझाव लिने काम गरेका छन् । -रासस

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics