राष्ट्रपति अजरबैजान प्रस्थान
- नेचर खबर
काठमाडौं । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९ औँ सम्मेलन (कोप–२९) मा भाग लिन राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजान प्रस्थान गरेका छन्।
उनी अजरबैजानको बाकु सहरमा हुने सम्मेलनमा सहभागी हुने छन् । आइतबार बिदाईका क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति पौडेललाई सेनाको टुकुडीले सलामी अर्पण गरेको थियो।
उनलाई बिदाई गर्न उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, उपप्रधानमन्त्री र मन्त्रीलगायतका उच्च अधिकारीहरू विमानस्थल पुगेका थिए। अजरबैजानका राष्ट्रपति इलहम अलियभको निमन्त्रणामा सम्मेलनमा सहभागी हुन राष्ट्रपति पौडेल उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बाकु प्रस्थान गरेका हुन्।
सम्मेलनमा सहभागी भएर राष्ट्रपति पौडेल यही कात्तिक ३० गते शुक्रबार स्वदेश फर्कने छन् । उनले यही कात्तिक २७ र २८ गते हुने उच्चस्तरीय सत्रको ‘विश्व नेताहरू जलवायु कार्य शिखर सम्मेलन’लाई कात्तिक २७ गते सम्बोधन गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।
सम्मेलनका क्रममा नेपालले आफ्ना एजेण्डामाथि विश्वको ध्यानाकर्षण गराउन कात्तिक २८ गते राष्ट्रपति पौडेलको नेतृत्वमा बेग्लै उच्चस्तरीय सत्र सञ्चालन हुनेछ । सम्मेलनमा ‘पर्वतीय क्षेत्रमा जलवायुजन्य हानि तथा नोक्सानीको सम्बोधन’ विषयक उच्चस्तरीय बैठकसमेत हुने बताइएको छ।
बैठकमा नेपालले मेलम्ची, मुस्ताङ, कञ्चनपुर, थामे, काठमाडौं उपत्यकालगायत क्षेत्रमा असामान्य मौसमीजन्य घटनाका कारण आएको बाढीपहिरोबाट भएको क्षतिबारे जानकारी गराउने छ । विश्वमै नेपाल जलवायुको असरबाट सबैभन्दा बढी प्रभावित मुलुकमध्ये पर्छ।
नेपालले जलवायु परिवर्तनसम्बन्धी विभिन्न महासन्धिको पक्ष राष्ट्रका हैसियतले सन् २०५० सम्म कार्यान्वयन गर्ने राष्ट्रिय अनुकूलन कार्यक्रम तयार गरी कार्यान्वयन गरिरहेको छ। यही कात्तिक २६ गते सुरु हुने सम्मेलन मंसिर ७ गतेसम्म चल्ने छ ।
प्रतिक्रिया दिनुहोस