चितवनका ३ खोलामा आए कम्बोडिया, चीन, साइबेरिया र रुसबाट चरा
- नेचर खबर
चितवन - जाडो मौसम सुरु भएसँगै विभिन्न देशबाट जाडो छल्नका लागि चरा आउने क्रम सुरु भएको छ । चितवनका तीन खोलामा कम्बोडिया, चीन, साइबेरिया, रुस लगायतका देशबाट चराहरू यहाँ आएका हुन् ।
नेपाल पक्षीविद् संघ बागमती प्रदेशका संयोजक वासु विडारीका अनुसार अहिले राप्ती, नारायणी र रिउ खोलामा ४० भन्दा बढी प्रजातिका चरा आएका छन् । उनले भने,“अहिले नदी किनारमा आगन्तुक चार देख्न थालिएको छ । योसँगै चराहरू हेर्नका लागि आउने पर्यटकसमेत आइरहेका छन् ।”
चखेवा, जलेवा, कालोगरुड, सुरसुरे हाँस, कमन क्रेन, खोया हाँस लगायतका चराहरू आएको उनले बताए । नेपालमा आउने पर्यटकमध्ये चार प्रतिशत पर्यटक चरा हेर्न आउने गरेको उनको भनाइ छ ।
विभिन्न देशमा जाडो बढेसँगै हिउँ पर्ने र नदीहरू हिउँले ढाकिने हुँदा आहाराको खोजीमा चरा आउने गरेको उनले जानकारी दिए। यो समयमा एक सय ५० देखि एक सय ६० प्रजातिका चार यहाँ आउने गरेको उनको भनाइ छ । संयोजक विडारीले भने,“अहिले आएका चराहरूले बच्चा कोरल्ने काम गर्दैनन् । गर्मी मौसम सुरु भएसँगै यी चराहरू फर्कने गर्दछन् ।” तराईको कोशी टापुदेखि कर्णालीसम्म पानीमा आश्रित चरा नेपाल आउने गरेको उनले जानकारी दिए ।
अहिले हाँस प्रजातिका चराहरू आइसकेको जनाउँदै उनले अन्य चराहरू पनि आउने क्रम जारी रहेको बताए ।
प्रतिक्रिया दिनुहोस