नदीलाई किन नागबेली भएर बग्न दिने ?
- नेचर खबर
काठमाडाैं - शताब्दीयौँदेखि बाङ्गाटिङ्गा भएर बहने नदीहरूलाई सीधा पार्न थालिए । तर, विज्ञहरूका अनुसार तिनलाई तिनको प्राकृतिक स्वरूपमै नागबेली बहन छाडिदिने हो भने बाढी रोक्न तथा वन्यजन्तुका निम्ति स्वस्थ्य वासस्थान सिर्जना गर्न सकिन्छ।
यूकेको कम्ब्रियामा लेक डिस्ट्रिक्टको मुटुमा रहेको स्वीन्डेल बेक नदी खेतबारी एवं उपत्यकाहरूमा घुम्दै घुम्दै बहन्छ। तर केही समय अगाडिसम्म पनि उसको मार्ग योभन्दा निकै सीधा पारिएको थियो।
कुनै पनि स्वस्थ नदी नागबेली हुँदै अनि स्वच्छन्द हिसाबले बहन्छ र त्यसमा जलचर रमाउँछन्। तर ब्रिटेनमा करिब ९७% नदीहरूमा कृत्रिम अड्को वा बाँध बाँधिएका छन्। त्यहाँ औसतमा प्रति डेढ किलोमिटर नदीमा कम्तीमा एउटा कृत्रिम छेकबार राखिएका छन्। अनि शताब्दीयौँदेखि नदीहरूलाई बिस्तारै नहरमा रूपान्तरण गरिएका छन् – अर्थात् कृत्रिम ढङ्गले सीधा पारिएका छन्। यी काम बाढी हुन नदिन र नदीको पानीले छेउछाउका घर तथा खेतहरूमा डुबान नल्याओस् भन्नका लागि गरिए।
तर वास्तवमा नदीको प्राकृतिक बहावलाई बदल्दा उल्टो नतिजा आएका छन्। त्यसो गर्दा नदीको बहावमा रोकावट आउनुका साथै जलचरहरूको वासस्थान प्रभावित भएको, पानीको गुणस्तर बिग्रिएको अनि बाढीको जोखिम बढेको छ।
तिनको घट्दो जलचर, ढल प्रदूषण अनि खेतबाट निस्किएका पानीको खोलामा सोझो मिसावटका कारण युरोपका खोलानालाको खराब स्थितिका समाचार आइरहँदा अचेल स्थानीय समुदायहरूले तिनको नदीको पुनर्स्थापना गर्न प्राकृतिक समाधान खोज्न थालेका छन्।
केही नदीहरूलाई एनएफएम भनिने प्राकृतिक बाढी व्यवस्थापन विधिबाट पुनर्स्थापित गरिँदैछ। ती विधिमा स-साना काठे बाँध, वृक्षारोपण तथा बिभर पेन पर्छन्। खोलानालाको बहावलाई बाङ्गोटिङ्गो बनाउनु यसको एउटा उद्देश्य हो। द नेदर्ल्यान्ड्स, अमेरिका र यूकेसहित संसारभरि नदीहरूका बहाव नागबेली बनाउने र प्राकृतिक स्वभावमा फर्काउने अभियान चलेका छन्। यूकेमा उक्त अभियानले नतिजा पनि दिन थालेको छ – कम्ब्रिया र वेस्ट ससिक्सका नदीहरूमा माछा, पन्छी अनि अन्य जन्तुको सङ्ख्या बढ्न थालेको छ।
दुई सय वर्ष पहिले खेती गर्ने जमिनको विस्तारका निम्ति स्वीन्डेल बेक नदीलाई सीधा पार्न थालियो। तर सन् २०१६ यता भने उक्त नदीलाई पुरानै प्राकृतिक अवस्थामा पुनर्स्थापित गर्ने काम सुरु भयो। उक्त कामको अगुवाइ रोयल सोसाइटी फर द प्रोटेक्सन अफ बर्ड्स (आरएसपीबी)ले गर्यो।
एउटा आदर्श नदी भनेको “एकदम गतिशील, उर्लँदो र बेलगाम,” हुनुपर्ने वाइल्ड हजवाटरस्थित आरएसपीबीका साइट म्यानेजर ग्लेन स्वेन्सनले भने। “ढुङ्गा तथा ग्राभेलसँग ठोक्किँदै बहने यस्ता नदीमा धेरै धारहरू हुन्छन् जुन ठाउँ ठाउँमा जोडिन्छन् र छुट्टिन्छन्।”
उक्त परियोजना इन्भाइरोमेन्ट एजेन्सी, नेचुरल इङ्ग्ल्यान्ड तथा युनाइटेड युटिलिटिजको सहकार्यमा गरियो जसमा एक किलोमिटर नदीलाई त्यसरी पुनर्स्थापित गर्न अढाई लाख डलरभन्दा धेरै खर्च भयो।
सुरुमा उनीहरूले नदीको पुरानो मार्गको नक्साङ्कन गरे अनि त्यसपछि तीन महिना लगाएर खन्ने मानिसहरूको एक टोलीले नदीको बाङ्गोटिङ्गो मार्ग बनायो। दुई शताब्दीसम्म सीधा बनाइएको भन्दा अहिलेको स्वीन्डेल बेक नदी करिब १८० मिटर धेरै लामो छ।
वाइल्डफाउल एन्ड वेटल्यान्ड्स ट्रस्ट (डब्ल्यूडब्ल्यूटी)का प्राकृतिक बाढी व्यवस्थापन विज्ञ टम हायेकका अनुसार नदीको बहावलाई बाङ्गोटिङ्गो गराउँदा दुई वटा फाइदा हुन्छ – यसबाट पानीको बहावको गति र पानीको मात्रा दुवैमा बदलाव हुन्छ। “तल्लो तटमा बहने पानीको मात्रा कम हुन्छ। नदीको लम्बाइ बढ्दा पानी थप क्षेत्रमा फैलन पाउँछ।”
दोस्रो प्रभाव पानीको गतिमा पर्छ। साधारण भाषामा भन्दा जति घुम्ती भयो पानीको बहने गति घट्छ जबकि सीधा बाटोमा नदीको बहाव गति निकै तेज हुन्छ।
युरोपमा विनाशकारी बाढी
सेप्टेम्बरमा अस्ट्रिया, पोल्यान्ड, चेक गणतन्त्र र रुमेनियाजस्ता देशमा बाढीले विनाश गरेपछि युरोपका नदीहरूको अवस्थाबारे ध्यान केन्द्रित भयो।
बाढीका कारण २० जना भन्दा धेरैको ज्यान गयो भने हजारौँ विस्थापित भए। पोल्यान्डको नीसा सहरका सबै ४० हजार मानिस विस्थापित भए।
नदीहरूलाई पुरानै स्वरूपमा पुनर्स्थापित गर्दा साना बाढीका प्रभाव न्यूनीकरण हुने भए पनि मध्ये युरोपमा देखिएको जस्तो ठूलो बाढी रोक्न भने त्यो पर्याप्त नहुने विज्ञहरू ठान्छन् किनभने त्यसमा उत्पन्न पानीको मात्रा व्यवस्थापन गर्न नसकिने स्तरमा धेरै हुन्छ।
जलवायु परिवर्तनको भूमिका
न्यानो वायुले धेरै वाष्पकण बोक्न सक्ने हुनाले जलवायु परिवर्तनले युरोपका केही ठाउँमा धेरै वर्षा र बाढी गराउन थालेको वैज्ञानिकहरूले चेतावनी दिएका छन्।
कृत्रिम बाँधहरू हटाएर नदीहरूलाई प्राकृतिक स्वरूपमा पुनर्स्थापित गर्दा त्यसले बाढीको बढ्दो जोखिमसँग जुझ्न सघाउने विज्ञहरूले बताएका छन्। त्यस्ता पुनर्स्थापना परियोजनाहरू युरोपमा कतिपय ठाउँमा कार्यान्वयन गरिँदै छ भने कतिपय ठाउँमा त्यस्ता योजना बनाइँदै छ।
पानीको बहावको गति कम हुँदा त्यसले ठाउँ ठाउँमा पानीको गहिरा खाडल सिर्जना गर्छ जहाँ माछा जम्मा हुन पाउँछन्। मसिना ग्राभेल भएका ठाउँ साल्मनजस्ता माछाका लागि रुचिकर हुन्छन्।
स्वीन्डेल बेक नदीको धार नागबेली बनेपछि आश्चर्यजनक नतिजा देखा परेको वाइल्ड हजवाटरकी एनाबेल रुस्टनले भनिन्। “प्राकृतिक संरक्षण भनेको अलि धेरै समय लिने विषय हो। तपाईँले कुनै रुख रोप्नु भयो भने त्यसको पूर्ण प्रभाव देख्न तपाईँको जीवनकाल अपर्याप्त हुन सक्छ। तर यहाँ नदीलाई नागबेली बनाएको तीन महिनाभित्र हामीले उक्त एक किलोमिटर लामो क्षेत्रमा गत डेढ सय वर्षमै पहिलो पटक साल्मन माछाले त्यहाँ आएर प्रजनन गरेको पायौँ,” उनले भनिन्।
ट्राउट अनि अन्य माछा पनि बढे। साथसाथै पानी रुचाउने वनस्पति पनि झाँगिए अनि त्यसले माछालाई खान तथा लुक्न सघायो।
त्यसरी बाङ्गोटिङ्गो बहाव बनाउँदा नदी सफा पनि हुन थाल्यो किनभने तेज बहने सीधा नदीले धेरै थिग्र्यान बोक्दो रहेछ। यसले पानी आपूर्ति कम्पनीहरूलाई फाइदा भयो। नागबेली पर्दा किनारामा फोहर थिग्रँदो रहेछ।
कम्ब्रियामा यो कार्यक्रमअन्तर्गत १ सयभन्दा धेरै पुनर्स्थापना परियोजना सञ्चालन गरिएका छन् तर स्वेन्सन भन्छन् यो सबै ठाउँमा उपयुक्त नहुन सक्छ। स्वीन्डेल बेकमा जनघनत्व कम थियो र नदी बहने उपत्यकामा थोरै घरहरू थिए। यदि नदी किनारामा धेरै जग्गाधनी भएका भए यो कार्य थप जटिल हुने उनले बताए।
तर जलवायु परिवर्तनले गर्दा नदी पुनर्स्थापना कार्य थप आवश्यक बन्दै गएको छ। “गर्मी या जाडो याममा स्वाभाविक मात्रामा वर्षा हुनुको साटो एकै पटक दश गुना धेरै अति भारी वर्षा हुने गरेको छ,” हायेकले भने।
धेरै विकास अनि कङ्क्रिट सतहहरूले पनि विनाशकारी बाढीको सम्भावना बढाउँछ। यसले गर्दा प्राकृतिक बाढी व्यवस्थापन विधि महत्त्वपूर्ण हुँदै गएको बताइन्छ।
उदाहरणका लागि काठे बाँध भन्नाले रुख वा तिनका हाँगालाई नदीमा राखिदिएर प्राकृतिक अवरोध खडा गरिन्छ। यसले पानीलाई किनारातिर रोक्छ र बिस्तारै अगाडि बहन्छ। अन्य विधिमा वृक्षारोपण तथा पोखरी निर्माण पर्छन्। “यसले दिने दोहोरो फाइदा भनेको बाढीको पानी मानिसहरूको कोठामा पुग्न पाउँदैन,” हायेकले भने।
सन् २०२३ मा जलवायु परिवर्तनका कारण उत्पन्न भएका भनिएका आँधीको शृङ्खलाले यूकेमा प्रभाव पारेपछि डब्ल्यूडब्ल्यूटीले सरकारसँग नदी सङ्कटसँग जुझ्न र तिनको प्राकृतिक बाढी व्यवस्थापनका लागि प्रति वर्ष थप १७ करोड डलर माग गर्यो। “हामीले नदीहरूलाई फेरि नागबेली बहन दिनु पर्छ र प्राकृतिक प्रक्रिया अँगाल्नु पर्छ,” हायेकले भने। “यी नदीहरूलाई तिनको पूर्ण क्षेत्रमा बग्न दिनु पर्छ।” - बीबीसी
प्रतिक्रिया दिनुहोस